राष्ट्रपति सी काठमाडौं आइपुगे, विमानस्थलमै 'गार्ड अफ अनर'
छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङफिङ काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रीहरुले राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई विमानस्थलमै गार्ड अफ अनरको सम्मान दिइएकाे छ । राष्ट्रपति सीसँग विमानस्थलमै प्रधानमन्त्री, मन्त्रीहरु र उच्च पदस्थहरुको परिचयात्मक कार्यक्रम राखिएको थियाे ।
यस पछि राष्ट्रपति सी होटल सोल्टीमा पुग्ने छन् । आज साँझै राष्ट्रपति भण्डारी र सी बीच भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग राष्ट्रपति सीको भेटवार्ता हुनेछ ।
७ः३० बजे राष्ट्रपति सीलाई रात्रिभोज दिइनेछ । आइतबार बिहान १०ः३० बजे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ । ११ः३० बजे प्रधानमन्त्री ओली सँग भेटवार्ता तथा द्विपक्षीय समझदारी हुनेछ ।
राष्ट्रपति सी दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
२३ वर्ष पछि भएको चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारी कर्मचारीहरुलाई सरकार उर्दी नै जारी गरेको छ । सर्वसाधरण र खेलाडीहरुलाई समेत स्वागतमा निस्कन आग्रह गरेको छ ।