मोदीले सीलाई भने, “मतभेदलाई विवाद बन्न दिदैनौं ।”
भारत भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपसी मतभेदलाई विवाद नबनाउने बताएका छन्।
दुवै नेताले दोस्रो दिन पनि अनौपचारिक वार्ता तामिलनाडुको महाबलीपुरममा शुरु गरे । करीब ४० मिनेट अनौपचारिक वार्ता गरेपछि दुवै देशका प्रतिनिधिमण्डल स्तरीय वार्ता पनि शुरु भएको थियो ।
चिनियाँ राष्ट्रपति सँगै विदेशमन्त्री वाङ यी तथा करीब १०० जना प्रतिनिधिमण्डल आएका छन् । भारतीय पक्षबाट भने प्रतिनिधिमण्डलमा विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रहेका छन् ।
प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मोदीले भने,“२१ औं शताब्दीमा भारत र चीन एकसाथ नयाँ उचाइ प्राप्त गर्दैछन् । हामीले मतभेदलाई हटाएर कुनै विवाद उत्पन्न हुन नदिने निर्णय गरेका छौं । चेन्नई समिटमा हामीले द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा वार्ता गरेका छौं । यसबाट दुई देशबीच सहयोगको एक नयाँ चरण शुरु हुनेछ ।”
राष्ट्रपति सीले तामिलनाडुमा भएको स्वागतप्रति खुशी जनाउँदै भारतको यात्रा सदैव यादगार रहने बताएका छन् । उनले आफ्नो यात्रापछि भारत र चीनबीच भावनात्मक एकता बढेको बताएका छन् । सीले हिजो र आज धेरै राम्रा कुराकानी भएको बताएका छन् । उनले एकअर्कासँग मित्रझैं वार्ता गरेको बताएका छन् ।
चीनका राष्ट्रपति सी शुक्रबार अपरान्ह भारतको दक्षिणी राज्य तामिलनाडु पुगेका थिए । सी शनिबार अपरान्ह नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउने भएका छन् ।–एजेन्सी