सीको सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी परिचालन
चिनियाँ राष्ट्रपति सी जिङफिङको सुरक्षार्थ राजधानी उपत्यकामा १५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रपति सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग अनौपचारिक भेटवार्ता गरी केही बेरमा काठमाडौं आइपुग्दैछन् । सी काठमाडौं उत्रने समय ४ः३० बजे निर्धारण गरिएको छ ।
राष्ट्रपति सीलाई सरकारले चार घेराको सुरक्षा दिदैछ । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोंमा अनुसन्धान प्रहरी खटिनेछन् ।
२३ वर्ष पछि भएको चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारी कर्मचारीहरुलाई सरकार उर्दी नै जारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी दुई दिने राजकीय भ्रमणमा नेपाल आएका हुन् । राष्ट्रपति सी आइतबार दिउँसो १ बजे स्वदेश फर्कदैछन् । त्यसअघि राष्ट्रपति, प्रधानमन्त्री, सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरुसँग सीले भेटवार्ता गर्नेछन् ।
आइतबार प्रधानमन्त्री ओलीसँग दुई पक्षीय समझदारी पछि सी स्वदेश फर्कनेछन् ।