सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् ।
माओवादी हिंसाको समयमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगरेकाले विमानस्थल प्रयोग विहीहन अवस्थामा रहेका हुन् ।
सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका महासचिव खेमराज अवस्थी बताउँछन् । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् ।
दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछमको कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको विमानस्थलमा हवाई सेवा नियमित हुने सकेकोे छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायु सेवा नीगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ ।
सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरेपनि हालसम्म उडान हुन सकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल पुनः सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरेपनि हालसम्म कार्यान्वयन भएको छैन ।