मगन्ते जस्तो देखियौं भने चीनको नजरबाट गिर्छौः डा.कोइराला
नेपाली कांग्रेस चीनले अगाडि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को विरोधी नभएको कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बताएका छन् ।
चीन सँगको कनेक्टिभिटीको पक्षमै कांग्रेस रहेको नेता डा. कोइरालाले बताए । उत्तरी छिमेकी चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणलाई उत्सकुताका साथ हेरिनु स्वभाविक भएको उनले बताए ।
नेता डा.कोइरालाले हिमाल खबरसँग भने, “चीन नेपालको असल मित्र भएकाले सहयोगको आश अनौठो नभए पनि सरकारले के लिने भन्ने मात्रै सोंच्न हुन्न ।”
सरकार मगन्तेजस्तो भएर प्रस्तुत हुँदा चीनकै नजरमा पनि गिर्ने डर हुने उनले बताए । चीनको साझेदारीमा चल्ने परियोजनाहरु बारे सरकारले प्रष्ट भएर सहमति गर्नुपर्ने नेता डा.कोइरालाको भनाइ छ । “अनुदानमा परियोजनाहरु बनाइदिए राम्रै भयो । तर, ऋण लिने सन्दर्भमा सोंचबिचार नगरी हतारमा सहमति गर्नु हुन्न”, उनले भने ।
ढिलोमा पाँच वर्षभित्र सक्ने सर्तमा परियोजनाहरु चीनलाई दिनुपर्ने उनले बताए । नेता डा.कोइरालाले भने, “राष्ट्रिय महत्वका परियोजना निर्माणमा सधैं विलम्ब हुने गरेको छ । चीनसँग कुरा गर्दा यसतर्फ पनि ध्यान दिनुपर्छ ।”
नेपालले हाइड्रो पावरतर्फ बढी सहमति गर्दा राम्रो हुने उनले बताए । नेपालमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता र बातावरण बनाए मात्रै पनि चीन सँगको सम्बन्ध बलियो हुने डा.कोइरालाको बुझाइ छ ।