आईसीसी टी २० वरियतामा पारसको फड्को
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आईसीसीले सार्वजनिक गरेको टी२० वरियता क्रममा ब्याटिङतर्फ फड्को मार्दै ४५औँ स्थानमा पुगेका छन्।
अघिल्लो वरियतामा ६६औँ स्थानमा रहेका पारस खड्का १० अक्टोबरमा सार्वजनिक पछिल्लो वरियतामा २१ स्थान माथि उक्लिएका हुन् । उनले ४४६ रेटिङ नम्बर पाएका छन् ।
ब्याटिङतर्फ वरियतामा समावेश उनी एक्ला नेपाली खेलाडी हुन् । उनले महेन्द्र सिंह धोनी, क्रिस गेल, थिसरा परेर, तमिम इक्बाल, रोज टेलर, जोनी बइस्र्टोलगायत खेलाडीलाई पछि पारेका छन् । ब्याटिङ बरियताको पहिलो नम्बरमा पाकिस्तानका बाबर अजाम छन् ।
बलिङतर्फ भने नेपालका पाँच खेलाडी वरियतामा समावेश छन् । तीन बलर सन्दीप लामिछाने, करण केसी र अविनाश बोहोरा पहिलोपटक समावेश भएका हुन् । सन्दीप नेपालतर्फ सबैभन्दा माथि छन् । एकैपटक ६४औँ नम्बरमा प्रवेश पाएका उनको रेटिङ नम्बर ४२२ छ ।
६८औँ नम्बरमा रहेका सोमपाल कामीको रेटिङ नम्बर ४०९ छ । करण केसी ८३औँ, वसन्त रेग्मी ८९औँ र अविनाश बोहोरा १००औँ नम्बरमा छन् । बलिङतर्फ पहिलो नम्बरमा अफगानिस्तानका रसिद खान छन् ।
अलराउण्डरतर्फ पनि पारस खड्काले आफ्नो वरियता सुधार गरेका छन् । अघिल्लो वरियतामा २७औँ स्थानमा रहेका उनी यसपटक २४औँ स्थानमा छन् ।
अलराउण्डतर्फ नेपालका पारससहित तीन खेलाडी समावेश छन् । सोमपाल कामी ६०औँ र करण केसी ७७औँ नम्बरमा छन् । अलराउण्डरको पहिलो नम्बरमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् ।
टी२० र ओडिआईतर्फ नेपालको वरियता भने यथावत छ । टी२० तर्फ १३औँ स्थानमा भएको नेपालभन्दा तल टेस्ट मान्यता प्राप्त आयरल्याण्ड र जिम्बाब्वे छन् । आयरल्याण्ड १४औँ र जिम्बाब्वे १५औँ स्थानमा छन् ।
आईसीसीले टि२० को वरियतामा ८५ वटा देशलाई समेटेको छ । पहिलो नम्बरमा पाकिस्तान छ ।
यता ओडिआई मान्यता पाएका २० मुलुकमध्ये नेपाल १७औँ स्थानमा छ । नेपालभन्दा तल अमेरिका, युएई र पपुवा न्यू गिनी छन् । ओमान नेपालभन्दा ठीक माथि छ । घरेलु मैदानमा हुने त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा नेपाल आगामी माघमा अमेरिका र ओमानसँग प्रतिश्पर्धा गर्दैछ ।