खेवाङ गोल्डकपको उपाधि लालिगुराँसलाई
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आयोजित खेवाङ गोल्डकपको उपाधि लालिगुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले हात पारेको छ ।
दशैं तथा तिहारको अवसरमा आयोजित प्रतियोगितामा नालिफुङ्वा स्पोर्टिङ क्लब पेदाङलाई १–० गोल अन्तरले पराजित गर्दै लालिगुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले उपाधि हात पारेको हो । लालिगुराँसको जीतका लागि अर्जुन लिम्बूले गरेको गोल नै पर्याप्त बन्यो ।
जितसँगै लालिगुराँसले नगद रु एक लाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता पेदाङले रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता टिमलाई १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङलगायतले पुरस्कार प्रदान गर्नुभएको प्रतियोगिताको आयोजक खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष विनम माबोले बताए ।
ग्रामीण क्षेत्रलाई खेलकूदका गतिविधिमा अघि बढाउँदै खेलकूदकै माध्यमबाट आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यसहित गत १५ असोजदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।
खेवाङस्थित गणेश माविको खेल मैदानमा सञ्चालित प्रतियोगितामा झापा लगायतका गरी १६ टिम सहभागी थिए ।