टेष्ट राष्ट्रको सामना गर्दै नेपाल
ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा नेपाल अपराजित यात्रामा छ ।
नेपालले हङकङ र नेदरल्याण्डसलाई चार÷चार विकेटले पराजित गरिसकेको छ । हङकङ बिरुद्धको प्रदर्शनमा विकेट किपर विनोद भण्डारीले निर्णायक ब्याटिङ गरे । भण्डारीको बिस्फोटक ब्याटिङकै कारण नेपालले एक ओभर बाँकी रहँदै लक्ष्य भेटाएको थियो ।
दुवै खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेदरल्याण्डस् बिरुद्ध करण केसीको सनसनीपूर्ण अलराण्डर प्रदर्शनी रह्यो । चार विकेट लिएका करणले आफ्नो खेल जीवनमै बढी रन बनाएको कीर्तिमान राख्न बिस्फोटक ब्याटिङ गर्दै टीमलाई जिताएका थिए ।
दुई वटै खेल जित्दै चार अंक जोडेको नेपालले बुधबार बलियो टीम आयरल्याण्ड बिरुद्ध खेल्दैछ । बिहान ११ः१५ बजे शुरु हुने खेलमा नेपालले आयरल्याण्डलाई पराजित गरे उपाधिको नजिक पुग्नेछ ।
तर, आयरल्याण्डलाई पराजित गर्न सजिलो भने छैन । सन् २०१५ मा आयरल्याण्डसँग नेपाल ८ विकेटले पराजित भएको थियो । त्यस बेला नेपाल ५३ रनमै अलआउट हुन पुगेको थियो ।
अहिले पनि आयरल्याण्ड बलियो टीम हो । टेष्ट मान्यता प्राप्त आयरल्याण्ड टेष्ट बरियतामा १२औं स्थान र एक दिवसीयतर्फ ११औं स्थानमा छ । तर, टी–२० तर्फ भने नेपाल भन्दा आयरल्याण्ड तीन स्थान तल छ । नेपाल विश्व बरियतामा १२औं स्थानमा छ ।