समाचारसोमबार, २० आश्विन , २०७६

वाह, कटियाको स्वाद !

हिमालखबर

 

- सञ्जय मित्र, रौतहट

कामेश्वर साह । तस्वीरहरूः सञ्जय मित्र

कटिया कथा
२०३५ सालतिरको कुरो हो । रौतहटको कटहरिया बजारका ३/४ जनाले नौलो तरिकाले सितन बनाउन थाले । स्थानीय रक्सीसँग खान पोलेको, भुटेको वा तारेको मासुभन्दा पकाएको मासु राम्रो भन्ठानेर मासु पकाउने नयाँ उपाय झिके ।

घरबाट मासु पकाएर भट्टीमा ल्याउन सम्भव नभएकोले स्थानीय बज्जिका भाषामा फुलहा भनिने काँसको लोहोटा÷लोटामा नै मासु पकाउने प्रयास गरे ।

माछा वा मासु पोल्न बालिएको आगोको कोइलामा काँसको लोटामा अलिकति तेल, नून र मसलासँगै मासु हालेपछि एकैछिनमा मासु तयार । स्वाद पनि भिन्न।

कटहरियाका जगा साह सोनार, अच्छेलाल साह तेली, मौजेलाल साह तेली र लछुमन साह–यो परिकारका भान्से थिए ।

भइदियो के भने, कटहरिया हाटबजार लाग्ने आइतवार र बुधवार लोटावाला नआइदिने । कसो होला भनेर एकदिन उनीहरूले माटोको हाँडीमा मासु पकाउँछन् ।

वाह, स्वाद । त्यस दिनदेखि लोटा गायब । माटोको भाँडामै पाक्न थाल्यो, मासुको सितन ।

अहिले व्यवसाय 
कटहरिया बजारको सानो छाप्रोमा होटल गर्थे अमिरी साह कलवार ।

हाँडी मासुको स्वादको चर्चा बढेपछि कलवारको होटलमा त्यस्तै मासुको माग बढ्न थाल्यो । एक कान दुई कान मैदान भने झैं अब रक्सी खान आउने मात्र होइन, घर लैजान पनि हाँडीको मासु अर्डर हुन थाल्यो ।

सानो हाँडीमा मासु पकाउन गाह्रो हुने भएकोले कलवार कुमालेलाई भाँडा नै बनाउन लगाउँछन् । त्यहीँ भाँडोलाई कटिया नाम दिन्छन् । बिस्तारै यो नौलो परिकारको नाम नै कटिया बन्नपुग्छ ।

सोखले लोटामा मासु पकाउने जगा साह सोनार, अच्छेलाल साह तेली, मौजेलाल साह तेली तथा लछुमन साह आज यस दुनियाँमा छैनन् । कटियाको व्यावसायिक उत्पादन आरम्भ गर्ने कलवार, गोपाल साह र हीरालाल साहको पनि मृत्यु भइसकेको छ ।

अहिले कटहरियामै करिब एक दर्जन कटिया पसल खुलिसकेका छन् । पुरानो पुस्तामा भने कलवारका छोरा कामेश्वर मात्र कटिया व्यवसायमा छन्। उनी कटहरिया बजारमा कामेश्वर जयसवाल मिट हाउस चलाउँछन् । बोर्डमा लेखिएको छ – पुरानो प्रसिद्ध कटिया पसल ।

एउटा कटियामा ४०० ग्राम मासु हुन्छ, मूल्य भने रु. ५०० रुपैयाँसम्म पर्छ । “एक महीनामा एक हजार जति कटिया बेचिरहे छु”, कामेश्वर भन्छन्।

आवश्यक सामग्री
माटोको भाँडो/कटिया – १ थान
खसीको मासु – ४०० ग्राम
प्याज – २०० ग्राम
तेल – ५० ग्राम
गरम मसाला – आधा चम्चा
नून – स्वाद अनुसार
आवश्यकता अनुसार लसुन, खुर्सानी, धुलो जीरा, बेसार आदि ।

पकाउने तरिका
माटोको भाँडो/कटियामा तेल र प्याज हाल्ने अनि कोइलाको मन्द आगोमा बसाउने । त्यसपछि मासु हालेर माटोकै बिर्कोले छोप्ने । बिस्तारै मासुलाई चलाउने । समय समयमा मसाला पनि हाल्ने । करिब आधा घन्टापछि कटिया तयार हुन्छ । हल्का तातो कटिया साह्रै मिठो हुन्छ ।

तपाई पनि चाख्ने कि ?

 

प्रतिकृया दिनुहोस