सीको स्वागत गर्न सजाइदै राजधानी शहर (तस्बीरहरू)
दशैंका कारण राजधानी उपत्यका सुनसान प्रायः बनिरहेका बेला शहर सजाउने जिम्मेवारी पाएकाहरू भने रातदिन नभनी काम खटिएका छन् ।
राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडक किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिङफिङको आसन्न नेपाल भ्रमणको तयारीका लागि काठमाडौं महानगरपालिका, सडक विभाग र सुरक्षा निकायहरूले शहर सजाउन कामदार खटाएका हुन् ।
तीनकुनेलाई नयाँ आकार दिन कल्की, पाम, धुपी लगायत बिरुवा रोपिएका छन् । शहर सजाउन महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार, नेपाली सेना र नेपाल प्रहरीका जवान खटिएका छन् ।
सडक कालोपत्रे गर्ने, ट्राफिक संकेत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम धमाधम भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सहित मुख्यमुख्य सडक सजाइदैछ ।
न्यूरोडमा फूलका बिरुवा रोपेर पानीका फोहरा निर्माणको काम समेत चलिरहेको छ । धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । शहर सजाउने कार्य टीकाको भोलिपल्ट सम्म रहने महानगरले जनाएको छ ।
सडक पुल निर्माणाधीन क्षेत्रमा नेपालका प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, से फोक्सुन्डो ताल, विपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथका ठूला ठूला तस्विर राखिएका छन् ।
चिनियाँ राष्ट्रपति सी भ्रमणका बेला सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिइएको छ ।