करण केसीको सनसनीपूर्ण प्रदर्शन, नेपालको दोस्रो जित
ओमानमा जारी टी–२० क्रिकेटमा करण केसीले सनसनीपूर्ण अलराउण्डर प्रदर्शनी देखाउँदा नेपालले दोस्रो जित निकालेको छ ।
टस जितेर नेदरल्याण्डसलाई ब्याटिङको निम्तो दिएको नेपालले १३४ रनको लक्ष्य पछ्याएको थियो । तर, अघिल्ला क्रमका ब्याटिङ लाइनबाट राम्रो प्रदर्शन हुन सकेन ।
तुलनात्मक रुपमा राम्रो फर्ममा रहँदै २१ बलबाट २६ रन जोडेका विनोद भण्डारी १८औं ओभरको अन्तिम बलमा क्याच आउट हुन पुगे । अब नेपाललाई जितका लागि १२ बलमा २८ रन आवश्यक थियो । ६ विकेट गुमाइसकेको नेपाल पूरा दबावमा परेको थियो ।
करणसँग साझेदारी गर्न सोमपाल कामी आएका थिए । १९औं ओभरका तीन बल सकिदा नेपालले थप दुई रन मात्रै जोड्यो । अब जितका लागि ९ बलमा २६ रन आवश्यक थियो । चौथौं बलमा करणले छक्का प्रहार गरे । पाँचौं बलमा एक रन जोड्दै सोमपाललाई स्ट्राइक दिए । सोमपालले दुई रन जोडेपछि अन्तिम ओभरका लागि करण फेरि स्ट्राइकमा आए ।
जितका लागि अब ६ बलमा १७ रन आवश्यक थियो । करणले पहिलो बलमै छक्का प्रहार गरे । अब पाँच बलमा एघार रन ल्याउन थियो । तर, दोस्रो बल डट खेले । तेस्रो बलमा चौका र चौंथो बलमा फेरि करणले छक्का प्रहार गर्दै जित सुनिश्चित गरे । १४ बलमै ३१ जोडेका करणले अविजित रहँदै नेपाललाई एक बल बाँकी रहँदै चार विकेटले जित दिलाए ।
यस क्रममा करणले तीन छक्का र एक चौका प्रहार गरेका थिए । ब्याटिङमा सनसनीपूर्ण प्रदर्शनी गरेका करणले बलिङमा सन्दीप लामिछानेसँग समान चार विकेट लिएका थिए ।
नेदरल्याण्डस् बिरुद्धको करणको प्रदर्शनी क्यानडा बिरुद्ध १४ फेब्रुअरी २०१८ मा भएको खेलको झल्को दिने गरिकाे थियाे । त्यसबेला क्यानडा बिरुद्ध सनसनीपूर्ण ब्याटिङ गर्दै करणले नेपाललाई एक दिवसीय क्रिकेटको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
नेपालले नेदरल्याण्डस् माथि जित निकाल्दा कप्तान पारस खड्काले सर्वाधिक ३३ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । पवन सर्राफले ९, आरिफ शेखले २, दीपेन्द्रसिं ऐरीले ८, रोहितकुमार पौडेल ५ रन जोडे । दुई बल खेलेका सोमपाल तीन रन जोड्दै अविजित रहे ।
नेदरल्याण्डस्लाई १३४ रनमा समेट्न करण केसीले चार, सन्दीप लामिछानेले चार र ललितनारायण राजवंशीले एक रन जोडेका थिए । लगातार दोस्रो जित निकालेको नेपाल रनरेटका आधारमा दोस्रो स्थानमा रहे । समान चार अंक जोडेको ओमान रनरेटका आधारमा शीर्ष स्थानमा छ ।
दुई खेल खेलेको आयरल्याण्ड तेस्रो, नेदरल्याण्डस् चौंथो र हङकङ पाँचौं स्थानमा छन् । नेदरल्याण्डस् र हङकङ अहिलेसम्म अंक जोड्न सकेको छैन ।