समाचारआइतबार, १९ आश्विन , २०७६

महराको सांसद पद रिक्त नहुने

हिमालखबर

बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि  सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

तस्वीरः रासस

 

बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीको टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको हो । प्रहरी भ्यानमा बस्न नमानेपछि नीजि गाडीमा राखेर महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका महरालाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ । अन्य हिरासत भन्दा सुविधा सम्पन्न भएकाले उनलाई सिंहदरबार वृत्तमा राखिएको हो ।

यसअगाडि पनि भीभीआईपी पक्राउ पर्दा सिंहदरबार वृत्तमै राखिदै आएको थियो ।

गत १२ असोज आइतबार राति आफूमाथि बलात्कारको प्रयास गरेको संसद सचिवालयकै एक महिला कर्मचारीले महरालाई आरोप लगाएपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

ती महिला कर्मचारीले शुरुमा आफूमाथि बलात्कार र कुटपिट नै भएको आरोप लगाए पनि बीचमा भाषा फेरेकी थिइन् । ती महिलाले भाषा बदलेपछि प्रहरीले समेत जाहेरी नपरी केही गर्न नसकिने बताउँदै आएको थियो ।

प्रहरीको यस्तो प्रष्टोक्तिप्रति अन्तर्राष्ट्रिय निकाय मानव अधिकार आयोगले समेत चासो देखाएका थिए । तर, तिनै महिलाले शुक्रबार बानेश्वर प्रहरी वृत्तमा जाहेरी दिइन्

जाहेरीपछि प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी  लिएर महरालाई पक्राउ गरेको छ । अब प्रहरीले महरालाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ ।

दशैंपछि निलम्बन
प्रतिनिधिसभा नियमावली–२०७४, अनुसार महराको संसद पद अब स्वतः निलम्बनमा पर्नेछ । फौजदारी अभियोग लागेका महराले सांसद पदको हैसियतमा कुनै अधिकार, सेवा, सुविधा र पारिश्रमिक पाउने छैनन् ।

संसद नचलेकाले सांसदहरुलाई महरा फौजदारी अभियोगमा पक्राउ सूचना संसद सचिवालयको सूचना पाटीमा टाँसेर जानकारी गराइनेछ ।

तर, अहिले दशैंका कारण संसद सचिवालय पनि बन्द छ । २२ असोजसम्म दशैंको सार्वजनिक विदा भएकाले २३ असोज पछि मात्रै महरा निलम्बनमा परेको सूचना टाँसिने उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सचिवालयले जनाएको छ ।

सांसद पद रिक्त नहुने

महराको राजीनामा सँगै सभामुख पद रिक्त भइसकेको छ । तर, सांसद पद भने रिक्त हुने व्यवस्था संविधान र संसद नियमावलीमा छैन ।

प्रतिनिधिसभा नियमावली–२०७४, को नियम २४४ (३) र (४) अनुसार, महरामाथि लागेको आरोप प्रमाणित भएमा पनि उनको सांसद पद रिक्त हुने छैन ।

 

संविधान विद् बिपिन अधिकारी महरामाथि लागेको आरोप प्रमाणित हुँदा समेत सांसद पद भने रिक्त नहुने बताउँछन् । “निलम्बनको प्राबधान छ । रिक्त हुने व्यवस्था उल्लेख गरिएको छैन”, अधिकारी भन्छन् ।

तर, महराले राजीनामा दिए भने उनको पद रिक्त हुन्छ । १४ असोजमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापा महराले अब राजीनामा दिनुको बिकल्प नभएको बताउँछन् । थापा भन्छन्, “पार्टीले राजीनामा मागिसकेको छ । अब, उहाँले राजीनामा दिनुु होला ।”

दशैंको सार्वजनिक विदाका बेला पक्राउ परेकाले महरा दशैंभर हिरासतमै रहनेछन् । किनभने, कोजाग्रत पूर्णिमा अगाडि अदालत खुल्दैन । अदालत खुलेपछि मात्रै महरामाथि लागेको आरोपमाथि न्यायिक प्रक्रिया अगाडि बढ्नेछ ।

 

याे पनिः 

महरा पक्राउ, सिंहदरबार वृत्तमा राखियाे

महरालाई पक्राउ गर्न अदालतको आदेश

जुनसुकै बेला पक्राउ पर्न सक्छन् महरा

महरा विरुद्ध बलात्कार प्रयास गरेको उजुरी दर्ता

बलात्कार आरोपी महराको प्रसंग उल्लेख नगरी नेपालस्थित यूएन र यूरोपेली राष्ट्रहरूले भने–पीडितलाई न्याय र सुरक्षा देऊ

 महरा प्रकरणमा मानव अधिकार आयोगद्वारा प्रहरीलाई पत्राचार

डेरा खोज्दै महरा, सुरक्षाकर्मी र गाडी फिर्ता

औपचारिक रुपमै सभामुख पद रिक्त, राजीनामाबारे सूचना टाँसेर जानकारी

महरालाई गिरफ्तारीको माग गर्दै राजधानीमा प्रदर्शन

सभामुख पदबाट राजीनामा दिए महराले

महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको सुझाव

सभामुख महरा विरुद्ध गम्भीर आरोप, सचिवालयले भन्यो– कठपुतली तयार पारियो

 

प्रतिकृया दिनुहोस