विनोद भण्डारीको अर्धशतकीय प्रहार, नेपालको विजयी शुरुवात
ओमानमा जारी टी–२० क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । १२६ रनको लक्ष्य पछ्याएको नेपालले हङकङलाई एक ओभर बाँकी रहँदै चार विकेटले पराजित गरेको छ ।
जितको लागि विनोद भण्डारीले अर्धशतकीय प्रहार गरे । ४८ बल सामना गरेका भण्डारीले तीन छक्का र चार चौकाको मद्दतमा ५८ रनमा अविजित रहे । भण्डारीले टी–२० क्रिकेटमा व्यक्तिगत रेकर्ड समेत बनाएका छन् ।
उनले यसै वर्ष मलेसिया विरुद्धको टी–२० मा ५१ रन बनाएका थिए ।
कप्तान पारस खड्का पहिलो बलमै आउट भएपछि धर्मराउन पुगेको खेल भण्डारी र आरिफ सेखले उकासेका थिए । भण्डारीसँग ६१ रनको साझेदारी गरेका सेख २१ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामीले १३ रन जोडे । ओपनर पवन सर्राफ १० रनमा आउट भए भने उपकप्तान दीपेन्द्रसिं ऐरी ६ रनमै आउट भए । रोहितकुमार पौडेलले ५ रन जोडे । उत्कृष्ठ बलिङ गरेका करण केसी एक रनमा अविजित रहे ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले ब्याटिङको निम्तो पाएको थियो । खेलको शुरुमा आक्रामक देखिएको हङकङलाई १२५ रनमा समेट्न करण केसीले चार विकेट लिए ।
पाँचौं ओभरमा करणले तीन विकेट लिए । यसपछि १५औं ओभरसम्म नेपालले कुनै विकेट लिन सकेन । १६औं ओभरमा ललितनारायण राजवंशीको बलमा अविनास बोहोराले हङकङका कप्तान केडी शाहलाई रन आउट गरे ।
१७औं ओभरमा अविनास बोहोराले नेपालका लागि थप एक विकेट लिए । हङकङकाे छैटाै विकेट करण केसीले अन्तिम ओभरमा लिएका थिए ।
जितसँगै नेपाल पाँच राष्ट्र सम्मिलित सिरिजमा दुई अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।