नेपाललाई हङकङले दियो १२६ रनको चुनौती
ओमानमा जारी टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई १२६ रनको चुनौती प्रस्तुत गरेको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले ब्याटिङको निम्तो पाएको थियो । खेलको शुरुमा आक्रामक देखिएको हङकङलाई १२५ रनमा समेट्न करण केसीले चार विकेट लिए ।
पाँचौं ओभरमा करणले तीन विकेट लिए । यसपछि १५औं ओभरसम्म नेपालले कुनै विकेट लिन सकेन । १६औं ओभरमा ललितनारायण रावंशीको बलमा अविनास बोहोराले हङकङका कप्तान केडी शाह रन आउट गरे ।
१७औं ओभरमा अविनास बोहोराले नेपालका लागि थप एक विकेट लिए । हङकङले ६ विकेटको क्षतिमा १२५ रन बनाएको छ ।
हङकङ बिरुद्धको खेलमा कप्तान पारस खड्का, उपकप्तान दिपेन्द्रसिं ऐरी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, सन्दीप लामिछाने, आरिफ शेख, अविनास बोहोरा, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी फिल्डिङमा उत्रिएका छन् ।