समाचारआइतबार, १९ आश्विन , २०७६

महँगो भयो प्याज, विकल्प हाजिर छन्

हिमालखबर

 प्रायः हरेक दशैंमा प्याज महँगो हुन्छ– कारण सरल छ, बर्खा लाग्नुअघि बारीबाट निकालेको प्याज यतिखेर सकिने वेला भएको र चाडबाडले गर्दा प्याजको माग पनि बढेको हुन्छ ।

तस्वीरः इभान्सभिल्ले कुरियर्स एण्ड प्रेस

 प्रायः हरेक दशैंमा प्याज महँगो हुन्छ– कारण सरल छ, बर्खा लाग्नुअघि बारीबाट निकालेको प्याज यतिखेर सकिने वेला भएको र चाडबाडले गर्दा प्याजको माग पनि बढेको हुन्छ ।

अरू बेला प्याजको मूल्यका बारेमा कसैको उति साह्रो ध्यान नजानुको कारण हो, यसको सस्तोपन । मंसीरदेखि जेठसम्म भारतीय कृषि भूमिबाट बजारमा निरन्तर प्याज आउँछ र यो निकै सस्तो हुन्छ ।

भान्सामा प्याज यति लोकप्रिय हुनुको पहिलो कारण यो मांसाहारी परिकारहरूको मात्रा बढाउने (मिट एक्सटेन्डर) हरूमध्ये सबभन्दा उपयुक्त, सजिलो र सस्तो कृषि उत्पादन हुनु हो ।

प्याजमा रहेको गन्धकको यौगिकका कारण काँचोमा यो रागिलो हुन्छ र पाक्ने (खासमा तेलमा भुटिने) क्रममा यसका कोषिकाहरू फुट्दा त्यही गन्धकको यौगिकको अंश एकदमै फरक किसिमको सुगन्धका रूपमा परिवेशमा फैलिन्छ ।

पर्परी भुटेर रातो पारेको प्याज र त्यसको लदबदे झोल हामीलाई स्वादिलो लाग्नुको कारण पनि यही हो । पकाइएको प्याजमा हुने ‘उमामी’ स्वादले मासुमा भएको त्यही स्वादलाई बढाउँछ, तिक्खर बनाउँछ ।

तर त्यही प्याज महँगो छ । के गर्ने ?
१. प्याजका सजातीय विकल्प प्रयोग गर्ने
छ्यापी, लसुन, दुन्दु आदि नेपालीका घर–घरमा पाइने मसला–सब्जी हुन् । (जिम्मु पनि यही जातको वनस्पति हो, तर त्यसको प्रयोग लसुन प्याजको भन्दा धेरै कम र फरक किसिमले हुन्छ ।) तिनले प्याजले जसरी परिकारको मात्रा नबढाए पनि स्वादमा तिक्खरपना थप्छन् । तर दुन्दुको पात तेलमा फुराउँदा वा भुट्दा पड्किएर दुःख दिन्छ । या त त्यसलाई एकदमै मसिनोगरी काट्नुपर्छ या पिस्नुपर्छ ।

२. परम्परागत पाकविधि पछ्याउने
पहिले पहिलेका बाहुन/क्षत्री लसुन–प्याज खाँदैनथे, तर तीमध्ये केही मासु (खसीको) भने खान्थे । त्यस्तो लसुन–प्याज नहालेको मासुको स्वाद अहिले, लसुनप्याज खान थालेपछि पनि धेरैका लागि प्रिय छ । पाटनढोका, ललितपुरकी बुलु ज्ञवाली (७८) भन्छिन्, “हाम्रो भान्सामा लसुन–प्याजको प्रयोग निकै कम हुन्छ । खासगरी मासुमा त म लसुन–प्याज हाल्नै रुचाउन्न ।”

आफूले दिएको पाकविधि (संलग्न) मा बाहुने पक्कुका लागि चाहिने सामग्रीको परिमाणका बारेमा थप प्रश्न गर्दा उनी भन्छिन्, “म प्रोफेशनल कुक होइन । खानेकुरा पकाइरहने मान्छेलाई के कति चाहिन्छ भन्ने आफैं अनुमान हुन्छ ।”

हेर्नुहाेस्ः 

बाहुने पक्कुको पाकविधि

तस्वीरः द हिन्दू बिजनेस लाइन

३. सृजनशील बन्ने
प्रायः सबैलाई भान्सामा केही न केही नयाँ प्रयोग गर्न मन लाग्छ । हामी पनि निकै प्रयोग गर्छौं । हाम्रो करेसाबारीमा दुन्दु निकै सप्रिएर आउँछ ।
प्याज वर्गका वनस्पतिहरू काट्दा वा पिस्दा तिनको स्वाद÷सुगन्ध बढ्छ । त्यसैले हामीले दुन्दु पिसेर चलायौं । पिसेको दुन्दुले साँधेको ब्रोइलर कुखुराको मासुको स्वादै फरक हुन्छ ।

हामीले गरेको अर्को प्रयोग हो, मासुलाई पकाउनु अघि गुन्द्रुकले साँध्ने । हामीले यो विधि खसी र कुखुराको मासुमा प्रयोग गरेका छौं । राँगा र बंगुरको मासुमा पनि यो पक्कै सफल हुन्छ भन्ने हाम्रो अनुमान छ ।

अमिलिने क्रममा (फर्मेन्टेशन) गुन्द्रुकमा विकास हुने वा उत्पन्न हुने उमामी स्वादले मासुको उमामीपनलाई बढाइदिएको हाम्रो अनुभव हो । ‘ब्रोइलरको मासु गन्हाउँछ’ भन्नेहरूका लागि पनि यो उपाय उपयोगी हुनसक्छ ।

हेर्नुहाेस्ः

गुन्द्रुक साँधेको मासुको पाकविधि

४. प्याज नै खाने
अरू के नै पो सस्तो छ र ? बजारको प्रकृति बुझ्ने र प्याज पनि महँगो नठानी खाने । ८९ प्रतिशत पानीको मात्रा भएको प्याज १४०–१५० रूपैयाँमा पाइन्छ र त्यसले ७५ प्रतिशत पानी भएको कुखुराको मासु वा ६०–७० प्रतिशत पानी भएको ठूला जनावरको मासु (मूल्यः ३५० देखि १२०० रुपैयाँसम्म) को स्वाद र मात्रा बढाउँछ भने पाएसम्म मजाले प्याज खाने । राजीखुशीले किनेर खाएको कुरामा गुनासो गर्नु भनेको एउटा हिन्दी उखानले भनेझैं, ‘पैसा पनि खर्च गर्नु, बेवकुफ पनि हुनु’ हो ।


उमामी
उमामीलाई पश्चिमाहरू गुलियो, अमिलो, नूनिलो र तितो पछिको पाँचौं स्वाद मान्छन् । हामी पिरो र टर्रोलाई पनि स्वाद नै मान्ने भएकाले यसलाई ‘सातौं’ स्वाद भन्न सक्छौं ।

‘उमामी’ जापानी भाषाको शब्द हो । समुद्री झार, माछा, भटमास आदिका अनेक परिकारमा पाइने यो स्वादको नामकरण तिनै खानेकुरा धेरै खाने जापानी भाषामा हुनु स्वाभाविक पनि हो । सजिलोका लागि यसलाई अजिनोमोटो (मोनो सोडियम ग्लुटामेट) को स्वाद भनेर बुझे पनि हुन्छ । शुरू शुरूमा अजिनोमोटो पनि समुद्री झारहरूबाट नै उत्पादन गरिन्थ्यो ।

हिजोआज भने चुकन्दर, सिमलतरुल आदिलाई जीवाणुहरूबाट फर्मेन्टेशन गराई यसको उत्पादन गरिन्छ ।

 

प्रतिकृया दिनुहोस