दशैंका दश लोकपरिकार
हरेक चाडबाड सम्झना बल्झाउने नयाँ अवसर हुन् । चाडबाडहरूका कथा हुन्छन्– धार्मिक ग्रन्थमा, सामाजिक विश्वास एवं प्रचलनमा र सांस्कृतिक गतिविधिहरूमा । हाम्रा मनमा पनि चाडबाडसित सम्बन्धित कथा हुन्छन् । प्रत्येक वर्ष जागा हुने ती कथाले मनमा अनेकन् स्मृति–संवेग (नोस्टाल्जिया) को वर्षा गराइदिन्छन् ।
सामाजिक सञ्जालले छर्लङ्ग पार्छ, हाम्रा दशैंका स्मृति–संवेगमध्ये ज्यादातर खानपिनसित सम्बन्धित हुन्छन् । दशैंको खानपिनले नेपालको बहुआयामिक विविधता र बहुलताको पनि प्रतिबिम्बन गर्छ ।
के मीठो लाग्छ ?
केही दशकयता नेपालीको खानपिनमा ठूलो परिवर्तन आएको छ । खानपिनको सूचीमा धर्म र परम्पराले लगाएका बारहरू भत्किइरहेका छन् । मासु र दुग्ध पदार्थको खपत बढेको छ । स–साना बजारमा समेत देश–विदेशका परिकार पाइने रेस्टुरेन्टहरू खुल्न थालेका छन् ।
इन्टरनेट र केबल टेलिभिजन पाककला सिक्ने माध्यम बनेका छन् । तर सामाजिक सञ्जालमा हुने कुराकानी र विमर्शबाट बुझिन्छ– अरू बेला जहाँजहाँ गएर जेजे खाए पनि चाडबाडका बेला अधिकांश नेपालीलाई साधारण, सानामा खाएको वा सानैदेखि खाइआएका खानेकुरा नै मनपर्दो रहेछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष जीवा लामिछानेका मनमा आउने दशैंको मूल परिकार हो, खसीको मासुको पक्कु । “सानैदेखि बसेको स्वादले होला अहिले पनि ८५ वर्षमा हिंडिरहनुभएकी आमाले पकाएको पक्कु नै मनपर्छ” उनी भन्छन्, “अरू बेला उतिसारो नखाइने भित्र्याँस पनि दशैंमा खूब स्वाद मानेर खाइन्छ ।”
यस पटक हामीले ‘दशैंका दश’ भनेर सामान्य नेपाली लोकपरिकारको पाकविधि प्रस्तुत गर्नुको कारण पनि लोकपरिकारप्रतिको प्रेमको सम्मान नै हो । प्रस्तुत परिकारहरू छनोटमा मुख्यतः तीन वटा कुरामा ध्यान दिइएको छ ।
पहिलो, मूलतः जो कोहीले सजिलोसित बनाउन सक्ने परिकार छानिएको छ । यहाँ पाकविधि बताइएको दशमध्ये आठ खानेकुरा हामीले घरमै बनाएर खाए–खुवाएका छौं । यी कुनै पनि खानेकुरा बनाउन ठूलो सीप र लामो समय चाहिंदैन, चाख मात्र भए पुग्छ ।
दोस्रो, कम प्रख्यात परिकार । उदाहरण, पाउँक्वाँ । नेवारी परिकारमाला भन्ने वित्तिकै सबभन्दा पहिले राँगाको मासु, चटामरी, योमरी आदिको सम्झाना वा छवि मनमा आउँछ । तर, यहाँ ‘नेवाः भोंय्’ मा अनिवार्य रूपमा पस्किइने, गरिष्ठ खानेकुरा पचाउन मद्दत गर्ने, अमिलो ‘पाउँक्वाँ’ बनाउने विधि पेश गरिएको छ ।
तेस्रो, यी सम्पूर्ण पाकविधि हामीले अनुरोध गरेका व्यक्तिहरूबाट पाइएको हो । दशमध्ये सात परिकारको पाकविधि तयार गर्न गएको वैशाख–जेठको भोजन भ्रमणमा भेटिएका व्यक्तिहरूबाट मद्दत पाइयो । एउटा परिकारका बारेमा त, ८ हजार किलोमिटरभन्दा टाढा, नाइजेरियाको लेगोसबाट समेत जानकारी पाइयो ।
प्रस्तुत ‘लोकपरिकार’ को आधार लोकको अनुभव मात्र हो । त्यसैले यिनको पाकविधि (रेसिपी) मा आवश्यक सामग्रीको ठीक परिमाण र तयार हुन लाग्ने समय फरक पनि हुनसक्छ । कतिपय लोकपरिकारको विधि, सामग्री र नाममा ठाउँ अनुसार केही फरक पनि पर्नसक्छ ।