नेकपा र सरकार अग्निपरीक्षामाः नेपाल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा र सरकार यतिखेर अग्निपरीक्षामा रहेको बताएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यबिनायकमा गरेको कार्यक्रममा नेता नेपालले भने, “अहिले सरकार र नेकपाको अग्नि परीक्षा शुरु भएको छ । वडा, नगर, प्रदेशदेखि केन्द्रसम्ममा भएको कामको जनताले मूल्याङ्कन गरिरहेका छन् ।”
नेता नेपालले दुई तिहाइको यो सरकारले गरिरहेको कामको परिणाम आगामी १४ मंसिरमा हुने उपनिर्वाचनले देखाउने बताए । अधिकांश नेकपाका नेताले जितेको स्थानमा उपनिर्वाचन हुने भएकाले ती स्थानमा आफ्नो शान जोगाउनुपर्ने बताए ।
हिजो के भएको थियो भन्नुभन्दा पनि अहिले के गर्ने हो त्यसको योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । काम गर्दा कमीकमजोरी भए स्वीकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।
नेता नेपालले भने, “अरूलाई हिलो छ्याप्नुभन्दा पहिला आफूलाई हेर्नुस्, आफूले के गरे, भन्ने आफँै समीक्षा गर्नुस् ।”