गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो
गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु-याइएपछि आज साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैं घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।
गोरखा दरबारको दशैं घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।
गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो ।