मादक पदार्थ किनबेच गर्ने समय निर्धारण
स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ ।
नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताए ।
“भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा कार्य भइरहेको छ” नगरप्रमुख खनालले भने, “बालमैत्री स्थानीय शासन तथा सामाजिक सुधारलाई मध्यनजर गर्दै हामीले अभियानका रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेका हौँ ।”
विशेषगरी बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रहेको नगरपालिकाले बालबालिकालाई कुलतमा फस्न नदिने उद्देश्यले १८ वर्षमुनिका बालबालिकालाई मादक पदार्थ तथा अन्य सुर्तीजन्य पदार्थ किनबेच गर्ने कार्यमा प्रतिबन्ध लगाइएको नगरप्रमुख खनालले बताए ।
वडा नं ३ बाट शुरु भएको यो अभियान अहिले नगरपालिकाका सात वटा वडामा पुगेको छ भने बाँकी रहेका दुई वटा वडामा पनि स्थानीय वडावासी, होटल व्यवसायीसँग टोलटोलमा पुगेर भेलामा छलफल भइरहेको र बाँकी रहेका वडामा पनि अभियान सञ्चालन हुने नगरप्रमुख खनालले बताए ।