कला/साहित्यशनिबार, २ कार्तिक , २०७६

अनिंदो हिमाल (कथा : प्रमोद प्याकुरेल)

हिमालखबर

–प्रमोद प्याकुरेल

शरीर थकान र निद्राले चूर थियो । झिनाे चेतनाको भरमा डोरी समातेर उकालो चढिरहेको थिएँ ।

प्रमाेद प्याकुरेल

हामी सबैको अवस्था लगभग उस्तै थियो । साउथ कोल भनिने चौथो शिविरबाट अघि बढ्दा बिहानको तीन बजेको थियो । यहींबाट शुरू भयो ‘डेथ–जोन’, अर्थात् मृत्युपथ । केही लाशलाई कुल्चँदै र धेरै लाशलाई दायाँ–बायाँ पारेर हामी अघि बढ्दै थियौं । ‘ग्रीन बुट्स’ पार गर्दासम्म म एक चौथाइ जागै थिएँ ।

म जन्मनुभन्दा धेरै वर्षअघि, सन् १९९६ को कुरा । हरियो बुट लगाएको एक भारतीय आरोही सगरमाथाको सफल आरोहण गरेर ओर्लंदै थियो । ओर्लने क्रममा हिम आँधीबाट बच्न एउटा ठूलो ढुङ्गाको ओत लाग्यो । आँधी रोकियो, तर आरोही उठेन । यत्तिका वर्षमा त्यस्ता कति आँधी आए, रोकिए । ढुङ्गाको ओतमुनि बाटोतर्फ खुट्टा फर्काएर ऊ चिर निद्रामा लडेको छ । त्यस ठाउँलाई नै पछि ‘ग्रीन बुट्स’ भन्न थालियो । हो, त्यहींबाट अघि बढ्दासम्म म जागा थिएँ ।

हिंड्डाहिंड्दै कतिखेर झकाएछु । घुँडा टेकिएर हिउँमा धसिएपछि पो थाहा पाएँ । मलाई उठाएर पापाले थर्मस दिनुभयो । तेस्रो शिविरमा हिउँ उमालेर पानी भरिएको थियो । पानी पिएर थर्मस बन्द गरें । निद्रा अलि हरायो ।

नजिकै बसिरहेको लाशलाई देखाउँदै पापाले भन्नुभयो, “उसको नाम डेभिड सार्प । २००६ मा बेलायतबाट आएको । आरोहण गर्दा निकै थाकेछ । बिचरा, एकछिन सुस्ताउन बसेछ । तुरुन्तै निदायो र चिसोका कारण त्यहीं जमेर बसेको बस्यै भयो । करीब ३० जना आरोही उसको छेवैबाट पार भएर जाँदासम्म उसको सास चल्दैथियो रे !” 

मैले पापाको अनुहार हेरें । आँखा र छेउछाउका भागबाहेक सबै ढाकिएका थिए । परेलामा जमेका पातला बरफका दुई ढिक्का झपक्क पार्दै पापाले अझै थप्नुभयो, “यहाँ मर्न कुनै बेर लाग्दैन । शरीर अत्यन्त थकित र अनिंदो हुन्छ । केवल आराम गरे पुग्छ । आराम हराम हुन्छ । हिंड्दा तातेको शरीर बसेपछि सेलाउन थाल्छ । केही घण्टाभित्रै ऊ आफैं बरफको ढिक्का झैं जम्न थाल्छ ।”

हामी फेरि हिंड्न थालिसकेका थियौं । पापा मलाई निदाउन नदिने प्रयासमा हुनुहुन्थ्यो । मलाई चनाखो राख्नकै लागि कुरामा अल्मल्याइरहनुभएको थियो ।

पापा, क्लाइम्बिङ सरदार अर्थात् टोली नेता । म क्लाइम्बिङ शेर्पा । क्लाइम्बिङ शेर्पाको मुख्य जिम्मेवारी हुन्छ, आफ्ना आरोहण दलका सदस्यहरूको ख्याल राख्नु र उनीहरूलाई मद्दत गर्नु । तर म जो दुई आरोहीहरूको सहयोगी थिएँ, उनीहरू मभन्दा अनुभवी र पाका थिए । उनीहरू मलाई ‘फुच्चे शेर्पा’ भन्थे र उल्टै मेरो ख्याल राख्थे ।

आरोहण मेरो परिवारको पुर्ख्र्याैली व्यवसाय । हिमाल हाम्रो

रोजीरोटी । मेरो गागा (हजुरबा) सबैको रोजाइमा पर्ने क्लाइम्बिङ सरदार । सोलुखुम्बुको फाक्दिमबाट काठमाडौंको बौद्धमा बसाइँ सर्नुभएको थियो । उहाँको नेतृत्वमा सगरमाथा चढ्न पाउनु मात्र पनि आधा सफलता ठान्थे, आरोहीहरू । 

सन् १९८६ मा पापा सात वर्षको हुनुहुन्थ्यो । गागाको आरोहणको सम्पूर्ण तयारी पूरा भइसकेको थियो । जाने दुई दिनअघिको साँझ जर्मन आरोहीहरू खाना खाने गरी आएका थिए । नुन चियाबाट शुरू भएको अतिथि सत्कार कोदोको तोङ्बासम्म पुगेको थियो । एउटा कोठामा सबै जना रमाइलो गर्दै थिए ।

त्यसैबेला अर्को कोठामा राखिएको गागाका आरोहण सामग्रीहरूलाई खेलौना बनाएर पापा खेल्दै हुनुहुन्थ्यो । सुन्तला रङको अक्सिजन सिलिन्डर पापालाई खूबै मन परेको थियो । पापा निकै बेर खेल्नुभयो । खेलौनामा एउटा फलामको काँटी पनि मिसिएको थियो । खेलिसकेर सबै सामग्री साबिक ठाउँमा जस्ताको त्यस्तै राखिदिनुभयो ।

त्यो नै गागाको अन्तिम आरोहण बन्यो । टोली गागा विना नै फर्कियो । जर्मन आरोहीहरू सगरमाथाको कुनै खण्डमा गागाको उन्मुक्त हाँसो कैद भएको रङ्गीन तस्वीर लिएर आए । उनीहरूले साह्रै चित्त दुखाएर भने, “हामीले शेर्पालाई बचाउन सकेनौं । उसको अक्सिजन मास्कले काम नै गरेन ।

चढ्दा त अक्सिजन विना जसोतसो चढ्यो । फर्कने बेलासम्म उसको हालत खराब भइसकेको थियो । हिमालमा एकले अर्कोलाई बचाउन केही गर्न सक्दैन । भगवान सम्झिएर केही शब्द उच्चारण गर्ने मात्र हो । मर्न लागेको कसैलाई मद्दत गर्नु आफैंलाई मृत्युको मुखतर्फ लैजानु हो । उसको सास रहुन्जेल कुर्न पनि सकेनौं ।” त्यस घटनापछि चकचके पापा एकाएक शान्त हुनुभयो ।

जर्मनहरू मेरो परिवारसँगै शोकमा डुबे । मेरो पापालाई उनीहरूसँगै लैजाने प्रस्ताव पनि राखे । मेरी मागा (हजुरआमा) ले कठोर हुँदै भन्नुभयो, “हिमालको छोरा हो । हिमालकै देशमा बस्छ ।” 

जलवायु परिवर्तनका कारण हिउँ पग्लिंदै जाँदा हिमालमा पुरिएका फोहोरहरू धमाधम सतहमा निस्कँदै छन् । यस पाला टिप्यो, अर्को साल फेरि उति नै निस्किन्छ । फोहोर निस्किएकामा भन्दा हिउँ पग्लिएकोमा धेरै चिन्ता गर्नुहुन्छ, पापा । भन्नुहुन्छ, “हिउँ छ, पानी छ । पानी छ, जीवन छ । हिमाल जति कठिन छ, त्योभन्दा कठिन छ हिमाल विनाको जीवन । जसरी पनि जोगाउनुपर्छ हिउँ ।”

पापा त्यो अनुहार हेर्दै निकै बेर घोत्लिनुभयो । पापाको शरीर धर्मरायो । अरूले भरोसा दिए । अनि भक्कानिंदै लाशको टाउकोमा आफ्नो टाउको टेकाएर रुनुभयो । त्यो मेरो गागाको मृत शरीर थियो ।

तीन वर्षअघिको आरोहणमा हिमाली फोहोर सङ्कलन गर्दै जाँदा पापाले गागाको अक्सिजन सिलिन्डर र मास्क भेट्नुभएछ । लिएर आउनुभयो । मृत्युको ३० वर्षपछि मेरो परिवार फेरि गागाको शोकमा डुब्यो । सबैभन्दा बढी त काँटीले प्वालैप्वाल खोपिएको अक्सिजन मास्कले रुवायो । सिलिन्डरमा गहिरो गरी काँटी गाडेर पापाको नाम पनि लेखिएको थियो, ‘साङ्गे शेर्पा’ । ती सबै मेरो पापाका बालसुलभ बदमासी थिए ।

त्यो मास्क देखेपछि पापालाई पूर्ण महसूस भयो, काँटीले खोपिएका प्वालहरूबाट अक्सिजन उड्यो र सास फेर्न नसकेर गागा बित्नुभयो । अनि पापा मैले देख्ने गरी पहिलो पटक रुनुभयो । धेरै रुनुभयो । अलि कम मागा पनि रुनुभयो । तर मागाले पापालाई सम्झाउनुभयो, “तिम्रो पापा हिमाललाई माया गर्ने मान्छे । हिमाल हाम्रो भगवान । हिमालले पनि तिम्रो पापालाई मन परायो । आफूसँगै राख्यो । यसमा तिम्रो केही दोष छैन । ... फरक यत्ति हो, हिमालले तिमीलाई माध्यम बनायो ।” 

पापा सम्हालिनु त भयो । तर अझै समय–समयमा थकथकी मान्नुहुन्छ, “म आफ्नै बाउको हत्यारा हुँ ।”

त्यस घटनाले मसँग मेरो पुर्खाको परिचय गरायो । हिमाल जोगाउने र संसारलाई लोभ्याउने प्रत्येक नेपालीको दायित्व हो भन्ने पनि बोध भयो । अझ, आफूलाई हिमालसँग नजिक रहेको शेर्पा समुदायका सदस्यका रूपमा पाउँदा गौरव लाग्यो । हो त, म त हिमालको छोरो । मैले पनि जीवनको लक्ष्य निर्धारण गरें, सगरमाथा आरोही बन्ने ।

दुई वर्षसम्म पोर्टर र गाइडको काम गर्दा पटकपटक उच्च हिमाली क्षेत्रमा पुगें । शारीरिक क्षमता विकसित हुँदै गयो । विभिन्न तालिममा सहभागी पनि भएँ । यो मेरो सगरमाथाको पहिलो आरोहण थियो ।

आधारशिविरमा सात दिन बस्दा हाम्रो शरीर वातावरणसँग मज्जाले घुलमिल भयो । मौसमको अनुकूलता हेरेर सातौं साँझ हामीले खुम्बु आइसफलभन्दा माथिबाट आरोहण शुरू गर्‍यौं । थकान भगाउन, शक्ति सञ्चय गर्न तथा वातावरणसँग घुलमिल हुन पटकपटक तलमाथि घुम्दै हामी साउथ कोलसम्म आइपुगेका थियौं । अब भने चुचुरो नै ताकेर अघि बढ्दै थियौं ।

दशकौंदेखि हिमालमा सुस्ताएको डेभिड सार्पको लासले हामी सबैलाई ननिदाउन कडा चेतावनी दियो । हामी कसैलाई पनि सदाका लागि निदाउने रहर थिएन । मेरा रहरहरू त भर्खरै अङ्कुरित हुँदै थिए ।

दोस्रो शिविरबाट ताजा सेल्फी सहित पठाइएको मेरो प्रेम प्रस्ताव मिनीको इजलासमा अझै विचाराधीन थियो । एकै छिनको अनलाइन बहसमा भनेकी थिई, “यसपालिको भ्यालेन्टाइनमा मात्रै आठ जनाले प्रपोज हान्यो, बुझ्यो ? दुइटालाई त ठाउँको ठाउँ रिजेक्ट हान्दें । एउटालाई दुई हप्तापछि । बाँकी पाँच वटामा दुई जनासँग त अझै डेट जानै पाको छैन ।” 

म फर्किएर गएपछिका लागि अनलाइन पेसी तोकिएको छ । शायद मृत्युपथका यात्रीहरूप्रति खासै भरोसा छैन, मिनीलाई । त्यसमाथि मिनीसँग प्रेमका थुप्रै विकल्प छन् ।

“यस पाला अझै धेरै हिउँ पग्लेको छ । देखेको फोहोर टिपिहाल्नुपर्छ । नत्र अर्को साल फेरि हिउँले पुर्छ”, सतहमा देखिएका फोहोर जम्मा पार्दै पापाले भन्नुभयो । फर्कंदा ती फोहोर बोकेर ओर्लने तयारी थियो । 

बरफका ढिक्कामा पेचकिला ठोकेर अल्झाइएका डोरीको सहायताले हामी माथिमाथि उक्लँदै थियौं । पापाले उत्साहित हुँदै भन्नुभयो, “लु है, त्याँ एउटा नयाँ लाश रैछ । पहिले थिएन त्यो । हिउँले छोपेको पुरानो लाश निस्के जस्तो छ ।” 

गागाको आशीर्वाद लिएर हामी मृत्युपथको यात्रामा फेरि अघि बढ्यौं । अलि माथि पुगेपछि मैले फर्किएर हेरें । गागा लगायत मृत्युपथका सबै स्थायी बासिन्दाहरू विभिन्न आसनका बुद्ध मूर्ति झैं देखिएका थिए ।

हामी सबैले माथि हेर्‍यौं । हिउँको भित्तामा अडेस लागेको लाशको टाउको, घुँडा र घुँडामा बाँधिएको हातको केही भाग बाहिर देखिएको थियो । अरू भाग हिउँभित्र नै गाडिएको थियो । हेर्दा नजिकै देखिए पनि लाशसम्म पुग्न निकै समय लाग्यो । हामी पुगेपछि पापाले लाशको पहिचान गर्ने प्रयास गर्नुभयो । कतै पनि आरोहण दलको वा आरोहीको नाम वा केही लेखिएको थिएन । लाशको अनुहार भने प्रष्ट देखिएको थियो । 

पापा त्यो अनुहार हेर्दै निकै बेर घोत्लिनुभयो । पापाको शरीर धर्मरायो । अरूले भरोसा दिए । अनि भक्कानिंदै लाशको टाउकोमा आफ्नो टाउको टेकाएर रुनुभयो । त्यो मेरो गागाको मृत शरीर थियो । 

अन्य शेर्पाहरूले विदेशीहरूलाई घटनाबारे बताए । उनीहरू पनि भावुक बने । पापाले टोलीलाई अघि बढ्ने निर्देशन दिनुभयो । सफलता चुमेपछि एकले अर्कालाई लगाइदिन ल्याइएका खादाहरू गागाको शिरमा चढाउँदै टोली अगाडि बढ्यो । 

मलाई पनि अगाडि बढ्न पापाले भन्नुभयो, “चुचुरामा पुग्न जति साहस र शक्ति चाहिन्छ, त्यति नै फर्कन पनि चाहिन्छ । यहाँ बसेर आफ्नो शक्ति खर्च नगर । तिमी जाऊ, म यहीं बस्छु । तिम्रो गागालाई लिएर हामी सँगै फर्कौंला ।” 

तर मैले पापाको साथ छोड्न सकिनँ । हामीले सञ्चार यन्त्रबाट आधार शिविरमा सम्पर्क गर्‍यौं । त्यहाँबाट घरमा रहेकी मागासँग सम्पर्क भयो । 

हामी साउथ कोलबाट अघि बढेपछि सधैं जस्तो मागाले घरमा लामा धर्मगुरुहरूबाट पूजापाठ शुरू गर्नुभएको थियो । गागा फेला परेको खबरले उहाँ पनि निकै विह्वल हुनुभयो ।

पछि सम्हालिएर धर्मगुरुहरूको सल्लाह बमोजिम हामीलाई निर्देशन दिनुभयो, “वर्षौंदेखि भगवानको ठाउँमा आराम गरिरहेको मान्छेलाई दुःख नदेऊ । यहाँ ल्याएर खरानी बनाउनुभन्दा त्यहीं रहनदेऊ । बरु छिटै ठूलो हिमपातको कामना गर ताकि तिम्रो पापाको शरीर हिउँको ढिक्काभित्र फेरि सुरक्षित रहोस् ।

तिम्रो पापाको शरीर घाममा सेकिएर सड्न नदेऊ । तिम्रा सन्तान दरसन्तानले आफ्नो पुर्खालाई सम्झिरहने आधार बनाऊ ।” मागाले जलवायु परिवर्तनको असर कम गर्ने प्रयासमा जोड दिनुभएको थियो ।

गागाको आशीर्वाद लिएर हामी मृत्युपथको यात्रामा फेरि अघि बढ्यौं । अलि माथि पुगेपछि मैले फर्किएर हेरें । गागा लगायत मृत्युपथका सबै स्थायी बासिन्दाहरू विभिन्न आसनका बुद्ध मूर्ति झैं देखिएका थिए ।

प्रतिकृया दिनुहोस