कला/साहित्य मंगलबार, असोज २१, २०७६

रिक्सावालको आशीर्वाद (सीमा आभास)

हिमालखबर

–सीमा आभास

असोज महीनाको एक मध्याह्न । शिरमाथि चरक्क घाम थियो । बच्चा चेपेर सडक किनारमा उभिइरहेकी म ।

सीमा आभास

सडकभरि सिटी सफारी थिए । अरू यात्रु नहुँदा सिटी सफारीले मलाई मात्र लैजान मानिरहेका थिएनन् । त्यही बीचमा एउटा रिक्सावालले ‘जाने हो ?’ को सङ्केतमा टाउको हल्लाउँदै टाढैबाट सोध्यो । मैले सकारात्मक सङ्केत गरें । उसले वेगमा रिक्सा घुमाएर ल्यायो, “कहाँ जाने हजुर ?”

“तीन टोलिया शान्तिचोक ।”

“चोकैमा कि यताउता ?”

“निर्मलजलको गेटमा ।”

सिटमा बस्न इशारा गर्‍यो । रिक्सा चढ्नुअघि सोधें, “कतिमा लैजाने ?”

“पचासमा हजुर,” आत्मविश्वास साथ भन्यो ।

“त्यहाँ पुगेको त चालीस होइन र ?”

“होइन हजुर, पचास दिनुस् ।”

रिक्सा चढें ।

उसको पातलो जीउ । हातका नसा डोरीको पोयो झैं बटारिएका । जुँगा सफाचट । पालेका दाह्री सेतै फुलेका । लुँगीमाथि मैलोमैलो सेतो कुर्ता । चर्को घाममा सडकको भीडबाट रिक्सा चुइँचुइँ गर्दै अगाडि बढ्यो । उसको निधार र चिन्डे टाउकोमा पसिनाका थोपा टल्किए । असिनपसिन भए पनि उसले रिक्सा चलाउने गति जोशिलो थियो ।

बोल्ने निहुँ सोधें, “कति वर्षको हुनुभो ?”

“७२ सालको ।” उसको आत्मविश्वास र रिक्सा कुदाउने तागत हेर्दा भने त्यति पाको लाग्दैनथ्यो ।

“घर नेपाल कि इण्डिया ?”

“यहीं विराटनगरको सरोचिया हो ।”

“कति भो रिक्सा चलाउन थालेको ?”

“३५ साल । त्योभन्दा पहिला दिदीको घर फारविसगञ्जमा रहन्थें । उतैबाट दिल्ली ग’को ।”

“अनि किन फर्किनुभएको नि ?”

“यहीं ठीक छ हजुर । जाँ गए पनि कमाएरै खाने त हो ।”

“दिनमा कति कमाइ हुन्छ ?”

“अचेल धेर हुँदैन, त्यै दुई–तीन सौ । बाटो खराब छ के ।”

“खान पुग्छ यतिले ?”

“मजाले पुग्छ हजुर ।”

ठाउँठाउँमा बाटो खनिंदा र बिग्रिंदा रिक्साचालकहरूलाई कष्ट मात्र होइन, कमाइमै असर परेको रहेछ । नभन्दै हामी बाटो बिग्रिएको ठाउँमा आइपुग्यौं । उसले पाइडल मार्न सकेन । उत्रिएर घिस्याउन थाल्यो । यतिवेलासम्म उसको ढाड पसिनाले छ्याप्पै भिजिसकेको थियो ।

त्यो हालतमा रिक्सामा बसिरहन मन मानेन । झरें ।

“बस्नुस् हजुर । झर्नुपर्ने कोइ बात छैन ।” उसले जोड गर्‍यो । म मानिनँ ।

ऊ रिक्सा घिस्याउन थाल्यो । घिस्याउनुको धपेडी त छँदै थियो, म रिक्साबाट झरेर हिंडेकाले पनि होला, उसले मुख अँध्यारो पार्‍यो ।

मैले प्रसङ्ग मोडें, “छोराछोरी कति छन् ?”

झटपट जवाफ आयो, “धेरै छैनन् । तीन छोरा, दुई छोरी । धेरै जन्मायो भने कसरी पाल्नु हजुर ?”

पाँच सन्तान लालनपालनको बोझ सानै देख्ने ७२ वर्षे रिक्साचालक अनुभवले पाकेको थियो । कठिनाइमा पेलिंदा पेलिंदै जम्मै असहजता स्वीकार गरिसकेको । उसको अनुहारको वृद्धपन मैले बल्ल देखें, ठ्याक्कै मेरो हजुरबाको जस्तो । उसको नाम पनि सोधिसकेकी थिएँ, इद्रिस आलम । आफ्नै हजुरबाको झल्काे देखेपछि उसप्रतिको चाख गहिरिंदै गयो ।

अप्ठेरो बाटो पार गरेर हामी चौबाटोमा आइसकेका थियौं । म रिक्सा चढें । खाल्डाखुल्डीमा पाङ्ग्राको उफ्राइ छँदै थियो । वृद्ध अनुहारमा हैरानीका रेखा देखिए, “भोट पाएपछि बाटो चारचक्केलाई बनायो, थोडी न रिक्सावालालाई बनायो ! बहुत दिक्कत छ बाटोमा ।”

तत्कालै उसले चित्त बुझाउने ठाउँ बनायो, “तर पनि ठीकै छ हजुर । हामी गरीब मान्छी बाटो सजिलो भए पनि बिग्रेको भए पनि रिक्सै चलाउने त हो ।”

“सजिलो बाटो भए रिक्सा चलाउन सजिलो हुन्थ्यो नि !” मैले ढाडस दिन खोजें ।

“बाटो म जस्तो आदमीले बनाउने होइन, उपरवाला नेताले बनाउँछ । त उपरवालाहरूले थोडी रिक्सा चलाउँछ ? रिक्सा नचलाएपछि उसले रिक्सा चलाउँदाको दिक्कत थोडी बुझ्छ ?’

“नेतालाई यहाँ ल्याएर दिनभरि रिक्सा कुदाउन लाउनुपर्ने !” मेरै पाराको आक्रोश पोखें ।

मुसुमुसु हाँस्दै भन्यो, “मजाक कर्नुहुन्छ हजुर ।”

“अनि घर छ कि छैन नि ?”

“अब यो उमेरमा घर किन चाहियो ?” दाहिने हात हावामा हल्लाउँदै भन्यो, “आजसम्म बन्दउन्द बाहेक भोकै छैन । मलाई भगवानको आशीर्वाद छ हजुर । मलाई दिक्कत छैन । भगवानले उसकै घरमा मेरो घर तयार गरिलिएको छ ।”

उसले मतिर फर्किएर हात उचाल्यो, “म तपाईंलाई आशीर्वाद दिन्छु ।”

“कस्तो आशीर्वाद ?”

“त तपाईं आज रिक्सामा आउनुभो । मेरो कमाइ भो । आशीर्वाद छ”, ऊभित्रको खुशी उसको स्वरमा झल्किन्थ्यो ।

एउटा रिक्सावाल जो आफ्नो पसिनाको बुँद चुहाएर पैसा कमाउँदै थियो, उही मलाई कमाइको जस दिएर आशीर्वाद दिंदै थियो । उसको तृप्त मन फेरि आवाज बनेर पोखियो, “मलाई कुनै दुःख छैन हजुर । रोजको ढाइ–तीन सौ कमाइहाल्छु न । कहिलेकाहीं त पाँच सौ हुन्छ । सबैथोक पुगिहाल्छ ।”

आफ्नो कमाइसँग सन्तुष्ट उसको हृदय गुञ्जिएको सुनें । त्यही सन्तुष्टिको भाकामा भन्यो, “रोज घरबाटै पकाएर ल्याएको सैनिक रोटी खान्छु ।” रिक्साको सिटमुनि देखाउँदै थप्यो, “अहिले पनि तीनटा सैनिक रोटी छ ।”

“सैनिक रोटी ?” पहिलोचोटि सुनेको शब्दबारे प्रष्ट हुन खोजें ।

दुवै हात जोड्न झण्डै एकाध अंगुलको फरक राख्दै भन्यो, “यत्रोयत्रो मोटो हुन्छ न, त्यही हो सैनिक रोटी । खायो कि पेट भर्छ । बूढीले बनाएको । १० रुपैयाँको तरकारी किन्छु । एक कप चिया खान्छु, पन्ध्र रुपैयाँको । जम्मा खर्च पच्चीस भो । बाँकी पैसाले घर चल्छ ।”

उसले अझ चम्किलो अनुहार पार्दै सन्तानको प्रगति विवरण सुनायो, “छोराछोरीलाई पढाएको छु । रातिराति नाइटमा अंग्रेजी टिप्सन पनि पढ्छन् । सबै जान्दछन् ।”

कुरा सुनाउने ध्याउन्नमा अब ऊ रिक्सा चलाउने भन्दा बीचबीचमा रोक्ने बढी गरिरहेको छ । बडो उत्साहित हुँदै फेरि पनि रिक्सा रोकेर अंग्रेजी मिसिएको लबजमा भन्यो, “आज वनफिफ्टी कमाइ भइसक्यो । पन्ध्र रुप्पेको च्या खाइलिएँ, वन थर्टी फाइभ छ ।” छ्यासमिस भाषामा कुरा गर्नुको राज खोल्यो, “सरले टिप्सन पढाएको हेरेर अंग्रेजी सबै जानेको छु ।”

आफ्नो कुराको लहरा चुँडाउँदै ऊ मेरो विषयमा जान्न उत्सुक भयो । निधार खुम्च्याउँदै भन्यो, “त तपाईंको निधार जो छ र काखको बेटा छ बहुत भाग्यमानी छ । यति कि अरू पनि छ ?”

“अर्को पनि छ । स्कूल गयो ।”

“त ढुक्क हुनुस्, ऊ बाबु पनि बहुत भाग्यमानी छ ।”

भाग्यमा विश्वास लाग्दैन भन्थें । उसले मेरो छोरालाई भाग्यमानी भनिदिंदा भने खुशी भएँ । मान्छेलाई खुशी हुन सानै कुरा पनि काफी हुँदोरहेछ । रिक्सावाल हजुरबासँग खुशी भएँ । मसँग रिक्सावाल बोल्दै थियो, तर म हजुबाको आवाज सुन्दै थिएँ ।

“हामी गरीबलाई धेरै पैसा के काम ? धेरै पैसा त हजुरहरूलाई चाहिन्छ । हामीलाई त बस् दिनहुँ काम गर्न पाए भो । मलाई मेरो ज्याला मात्र दिनुस् ।”

उसको र मेरो जीवनको व्याकरण उही हो । सार उही हो । व्याख्या फरक छ ।

गन्तव्यमा पुगेपछि उसलाई भाडा दिएँ । उसले भन्यो, “पुरानो नोट होइन, नयाँ दिनुस् न ।”

सयको नोट दिंदै यी हजुरबाप्रति उदारता देखाएँ, “सत्तरी रुपैयाँ काट्नुस् ।”

“हामी गरीबलाई धेरै पैसा के काम ? धेरै पैसा त हजुरहरूलाई चाहिन्छ । हामीलाई त बस् दिनहुँ काम गर्न पाए भो । मलाई मेरो ज्याला मात्र दिनुस् ।”

नजानिंदो गरी मभित्र फैलिएको घमण्ड रिक्सावालले चकनाचूर पारिदियो । टुक्राटुक्रा भएँ ।

छानेर नयाँ नोट दिएँ । पैसा लिंदै उसले भन्यो, “जुन पकेट छ न, यसमा नयाँ नोट राख्दा बडो आनन्द आउँछ ।”

त्यो नयाँ नोट मेरो गोजीमा हुँदा मैले आनन्द लिन किन सकिनँ !

छुट्टिंदै गर्दा रिक्सावाल हजुरबाले दुवै हात उचालेर मलाई आशीर्वाद दिए । ठेला उमँरदै मर्दै गरेका हत्केला मतिर फर्किएका थिए । देब्रे हत्केलामा खैनी र चुनाको पहेंलो कस चन्द्रमा जस्तै टल्किएको थियो ।

मेरै हजुरबाका हत्केलामा जसरी जिन्दगी प्रज्ज्वलित भइरहेथ्यो ।

प्रतिकृया दिनुहोस