कला/साहित्यआइतबार, १९ आश्विन , २०७६

दुई मासको झ्यालखान बास (वसन्त थापाकाे संस्मरण)

हिमालखबर

–वसन्त थापा

धरानबाट हामी ५०–५५ जना विद्यार्थीलाई बोकेर गएका दुईवटा बस विराटनगर मधुमारास्थित जेलको प्राङ्गणमा रोकिंदा रात निकै छिप्पिसकेको थियो ।

वसन्त थापा

अगाडि फलामको ठूलो गेट थियो जसको मान्छे मात्र छिर्न मिल्ने सानो ढोकाबाट हामीलाई एक–एक गर्दै भित्र छिराइयो । त्यो एउटा प्रवेशकक्ष जस्तो थियो जसको बायाँपट्टि अर्को उत्तिकै ठूलो फलामे गेट थियो । त्यसको पनि सानो ढोकाबाट भित्र छिरेपछि हामी निकै ठूलो हातामा पुग्यौं । ह्वास्स सडान्ध हाम्रो नाकमा पर्‍यो ।

बिजुलीको मधुरो उज्यालोमा हामीले सामुन्ने देख्यौं बाहिरपट्टि भ‍र्‍याङ भएको दुईतले मुन्डा घर । त्यही भ‍र्‍याङबाट माथि उक्लियौं, गाइड गर्ने दुई जना जेल कर्मचारीलाई पछ्याउँदै । अनि फाँटिलो ठूलो हल टाइपको आयताकार कोठामा छिर्‍यौं ।

कोठा स्पष्टतः भर्खर हतार–हतार बढारिएको थियो । धूलोको रहलपहल कुनाकाप्चामा र माकुराको जालोका अवशेषहरू दलिन र भित्ताका कुनामा देख्न सकिन्थ्यो । भित्ताका लिउन उप्केर ईंटा बाहिर देखिएका थिए । घर पुरानो र धेरै समय बेस्याहार अवस्थामा रहेको प्रष्ट थियो । 

भुईंमाथि सतरञ्जा र त्यसमाथि विना खोलका डसना लस्करै बिछ्याइएका थिए, त्यसमाथि थुपारिएका थिए धुस्साहरू । ऊनीको कम्बल र कपासको सिरक नहुनेहरूको जनतामार्का ओढ्ने थियो, धुस्सा । न्यानो त हुन्थ्यो, तर त्यसको झुस ओढ्नेको जीउमा सथ्र्यो । भर्खरै कुनै मारवाडीको दोकानबाट थोकमा उठाएर ल्याइएका देखिन्थे ती । कपास र नयाँ कपडाको हरक आइरहेको थियो तिनबाट ।

झ्यालखानबाबारे सुनेका, पढेका थियौं, बाहिरबाट देखेका पनि थियौं । आज भने आफैं झ्यालखानभित्र परेका थियौं । हाम्रो जेल बसाइ कति लामो हुनेवाला थियो त्यो कसैलाई थाहा थिएन । तर यो निकै लामो हुने पक्का देखिन्थ्यो ।

जे होस्, तत्काललाई त्यस आयताकार कोठामा सबै जना आ–आफ्नो सुत्ने ठाउँ रोज्नेतिर लाग्यौं । म र मेरो खुबै मिल्ने साथी इन्द्र डङ्गोलले हलको पछिल्लो भागको दाहिने कुना रोज्यौं, हाम्रा नेता नन्दकुमार प्रसाईंको एकदमै साथ साथ । नन्दकुमार (छोटकरीमा एनके) नै थिए हाम्रा (माक्र्स, लेनिन, माओ, हो चि मिन्ह) सबथोक । उनकै अगुवाइमा हामी चल्थ्यौं ।

आठराईबाट कलेज पढ्न धरान झरेका एनके चौथो वर्षका छात्र थिए, धरानको महेन्द्र कलेजमा । उमेरले पाका र वाचाल । कुराले मानिसलाई लठ्याउन सक्ने उनको खुबी थियो । त्यही खुबीले गर्दा उनी एकपटक धरानबजारमा ‘गोबर’ समूहको फन्दाबाट जोगिएका थिए । उनका ठाउँमा अरू भए चटनी बन्ने थिए ।

हामी दुई अर्थात् इन्द्र डङ्गोल र म एनकेले दाउने एक जोडी बहर जस्ता थियौं । एनके कोठा लिएर बसेका थिए इन्द्रकै घरमा, जो हाम्रो घरदेखि ६ घर पर्तिर थियो । हामी एनकेकै सान्निध्यमा रहन चाहन्थ्यौं जेलमा पनि । उनको पल्लापट्टि आडमा चाहिं चक्र प्रसाईंले ओछ्यान हाले ।

पढाइमा हामीभन्दा एक खुड्किलो पछाडि भए पनि चक्र हामीभन्दा जेठा थिए र उनलाई हामी दाइ भन्थ्यौं । निकै बलिया बाङ्गा र लाम्घारे चक्र हाम्रा टोल्याहा थिए र रक्षाकवच पनि । केही परे मारमुङ्ग्रीका लागि सदैव तयार । नाताले काकाभतिजा थिए, एनके र चक्र ।

धरान एस.पी. अफिसको खुला चौरमा दिनभरिको टक्साइपछि र डेढ–दुई घन्टाको बस यात्रा अनि बसमा उरालिएको नारापछि सबै थाकेका थिए । त्यसैले भोलि के होला कसो होला भन्ने संशय मनमा रहँदारहँदै पनि ढिलो चाँडो सबै आ–आफ्नो धुस्साभित्र गुट्मुटिए ।

हामीले पनि झ्यालको फलामे डण्डी समाएर सकेसम्म माथि उक्लँदै उनीहरूलाई हात हल्लायौं । दिउँसो हात हल्लाएको साँझ केही रुमानी भावनाले हाम्रो मुटुलाई पनि हल्लाएको थियो, कम से कम मेरो मुटुलाई, खासगरी त्यस हूलमा देखिएको एउटा अनुहारका कारणले ।

भोलिपल्ट बिहान देख्यौं हामी सुतेको जेलघर दुईतले थियो, यस्तै बीस–पच्चीस फिट अग्लो, जसलाई उत्तिकै अग्लो पर्खालको गिर्दाले चारैतिरबाट घेरेको थियो । पर्खालमाथि थिए बिजुलीका नाङ्गा तार ।

जेलघर र पर्खालबीच चारैतिर खुला ठाउँ थियो, विशेषगरी पश्चिमतर्फको भाग निकै फराकिलो थियो । त्यसै दिशामा थियो फलामको अग्लो मूलगेट । सिमेन्टको भर्‍याङ पनि त्यसैतर्फ थियो बाहिरपट्टि । दक्षिण–पूर्वी कुनामा थियो चर्पी र त्यसको छेउमा पानीको ट्यूबवेल । जेलघर प्रवेश गर्दा हिजो राति त्यही चर्पीको सडान्ध आएको रहेछ ।

त्यत्तिकैमा आँगनमा देख्छौं एक जना बालक सहित केही महिला । तिनलाई देखेर हामी तिनछक्क ! पछि थाहा भयो, ती महिला कैदी रहेछन् र हामीलाई राखिएको ठाउँ वास्तवमा जनाना जेल रहेछ । हाम्रो डफ्फा ठूलो भएकाले उत्तरको पर्खाल उतापट्टि रहेको मर्दाना जेलमा ठाउँ नभएर हामीलाई यतापट्टि राख्ने बन्दोबस्त गरिएको रहेछ । 

जेलघरका इन्चार्जले बिहानै हामीले पाउने रसदपानीको व्यवस्था सुनाए जस अनुसार हामी प्रत्येकले चामल र दालको निश्चित सिदा अनि तरकारी भुटुनका लागि केही पैसा पाउने भएका थियौं ।

सबभन्दा पहिले चर्पी र आँगनको सरसफाइलाई हामीले प्राथमिकता दियौं । खरेटो र बाल्टी मगायौं, सफाइको काममा लाग्यौं । हाम्रो जोशबाट जेलघरको हाता अपेक्षाकृत सफा भयो अनि चर्पीको गन्ध धेरै मत्थर ।

ठूला–ठूला डेक्ची र कराहीहरू मगाइए । आँगनमै दाउरा बाल्नलाई इँटाको चूलो बन्यो । हाम्रा लागि भनेर तीन जना पुरुष कैदी पल्लापट्टिबाट झिकाएइएका थिए । तिनको काम हाम्रो खाना बनाउनु र भाँडाकुँडा माझ्नु थियो । मूलगेट र भर्‍याङ बीचको फराकिलो आँगन हाम्रो भान्सा र भेलास्थल बन्यो ।

निकै अलमल भयो, हाम्रो पहिलो दिन जो थियो । बन्दोबस्त गर्नु थियो धेरै कुराको । लगाएको एकसरो लुगा र कलेज जानलाई बोकेको कापीकलम बाहेक हामीसित केही थिएन । सबैथोक जुटाउनुपर्ने (दाँत माझ्ने मञ्जन, बुरुस, साबुन, तौलिया इत्यादि) ।

यस्तै अलमलले खाना ढिलो तयार भयो । खानाको स्वाद पनि मिलेन, भात पनि राम्रो थिएन । एक–दुई दिन यस्तै रीतले चल्यो । रूखो–सुखो खाइरहने म जस्तालाई साह्रै फरक परेन, तर हामीमध्ये धेरै त कामतबाट आउने मसिनो चामलको भात खाएर हुर्केका थिए ।

हाम्रा लागि भनेर खटाइएका तीनै जना कैदी भुटाहा, इनरुवातिरका थिए । उनीहरू आपस्तमा देहाती भाषामा कुरा गर्थे । तिनको नाइकेचाहिं पछि हामीसित खूब घुलमिल भयो । उसले सुनाएका किस्साहरू कुशवाहा कान्तका कहानी जस्ता रोचक लाग्थे । कसरी तीन घोगा मकै चोरेको कसूरमा मानिसहरू अनिश्चित कालको जेल सजाय भोगिरहेछन् भनी ऊ सुनाउँथ्यो ।

आफैं पनि अत्याचारी साहुकारको षडयन्त्रको शिकार भएर जेलमा सडिरहेको बताउँथ्यो । विशेषगरी उसका प्रणय र रागात्मक प्रसङ्गहरू हामी स्वाद मानी–मानी सुन्थ्यौं । उसका कुरा सुन्दा ऊ जबर्जस्ती करणीको कसूरमा पो जेलमा जाकिएको हो कि भन्ने शंका पनि लाग्थ्यो । सत्य के हो उसैलाई थाहा थियो कि उसको खुदालाई ।  

तिनै भान्से कैदीहरूले सल्लाह दिए मसिना चामल माग्नोस् भनेर । जेल इञ्चार्जले आफूले केही गर्न नसक्ने बतायो । हामीले जानेको र गर्न सक्ने काम नारा लगाउनु थियो र हामीले त्यही गर्‍यौं । दिनभर बगेडा चामल खाँदैनौ भनेर नारा लगायौं । अनशन बस्ने धम्की दियौं । हाम्रो यो भाते आन्दोलन आखिर सफलीभूत भयो । हामीले मसिना चामल पाउने भयौं । 

एनकेकै निर्देशनमा म मेसको इन्चार्ज बनाइएँ । दैनिक सिदासँगै प्राप्त गर्ने नगद पैसाबाट सब्जी (तरकारी), तेल (भुटुन) खरीद गर्ने र त्यसको हिसाबकिताब राख्ने जिम्मा मेरो भयो । त्यो जिम्मेवारी एक महीनाजति बोकें । दैनिक खरिददारीबाट जोगाएको पैसाले एक–दुईपटक मासु पनि खायौं । ब्वायलरको प्रादुर्भाव भइसकेको थिएन, सक्कली लोकल चिकेन खायौं । मटन खाने सोख पनि पूरा गर्‍यौं ।

पाँच जना कैदी महिलामध्ये एउटी केही पाको उमेरकी थिइन् । अरूचाहिं बैंसको भञ्ज्याङ पार गर्न लागेका थिए । के अपराधमा तिनीहरू जेल परेका थिए त्यो थाहा पाउने कुरा भएन । एउटी चाहिं भ्रूणहत्याको अपराधमा परेको सुनेको थिएँ । जे भए पनि उनीहरू त्यहाँ एकदम परितुष्ट देखिन्थे, मानौं अन्तिम मुकाम त्यही थियो जिन्दगीको । जेलबाट मुक्त हुने कुनै हतारो वा उत्कण्ठा नभए झैं लाग्दथ्यो उनीहरूमा ।

हाम्रो दैनिकी एकप्रकारको लिकमा चल्न थालेको थियो । बिहान मोहम्मदको टोलीले पकाएको चियापछि भात खान्थ्यौं । पढाइ गर्नु पर्दैन थियो, न पाठ नै बुझाउनुपथ्र्यो । मोटा फलामे डण्डीको झ्याललाई छिचोल्दै पसेको घामले न्यानो पारेको जेलकोठामा धुस्सामा घुस्रिएर सुत्थ्यौं । अपराह्नको चिया पिउँथ्यौं, अनि साँझ पर्दा नपर्दा बेलुकाको खाना । जाडो महीना, दिन त मिलिक्कै बिते जस्तो लाग्थ्यो ।

अपराह्नको चिया र बेलुकाको खानाबीचको समयमा हामीले एउटा अभ्यास शुरू गरेका थियौं । जेलघरको भर्‍याङको खुड्किलामा तलदेखि माथिसम्म लस्करै उभिएर “यो युग हो, विश्वको संघर्ष गीतको, नौलो जिन्दगीको जीतको” भन्ने गीत सामूहिक रूपमा गाउने ।

त्यो हाम्रो राष्ट्रगान झैं बनेको थियो । ‘राष्ट्रगान’ पछि अर्को महत्वको काम थियो नारा लगाउने, विशेषगरी त्यसबेलाका सहायक अञ्चलाधीश मोहनबहादुर कटुवाल विरूद्ध । अञ्चलाधीश थिए बद्रीविक्रम थापा तर हामीलाई जाक्ने तारतम्य कटुवालले गरेका हुन् भन्ने मान्यता थियो हाम्रो ।

हाम्रो जेलखाना उत्तरतर्फ रहेको कटुवालको सरकारी निवासको दूरी धेरै थिएन । फेरि उसबेला बीचमा त्यस्ता कुनै ठूला संरचना नभएकाले हाम्रो समवेत स्वरको गुञ्जन सोझै उनको निवासमा ठोक्किन्थ्यो र संभवतः उनका कानमा पनि ।

जुन दिनदेखि हाम्रो बास जेलघरमा भयो त्यसै दिनदेखि भुइँतलामा रहेका पाँचवटी महिला बन्दी र बच्चा बिहानको खाना हतार–हतार खाएर जेल बाहिर निस्कन्थे । अनि साँझ झमक्क परेपछि मात्र भित्रिन्थे । उनीहरूको हामीसित कुनै प्रकारको उठबस या कुराकानी नहोस् भनेर जेल प्रशासनले यस्तो प्रबन्ध गरेको थियो शायद । तर पहिल्यैदेखि यही दस्तुर चलिरहेको पनि हुन सक्थ्यो, के थाहा ?

पाँच जना कैदी महिलामध्ये एउटी केही पाको उमेरकी थिइन् । अरूचाहिं बैंसको भञ्ज्याङ पार गर्न लागेका थिए । के अपराधमा तिनीहरू जेल परेका थिए त्यो थाहा पाउने कुरा भएन । एउटी चाहिं भ्रूणहत्याको अपराधमा परेको सुनेको थिएँ । जे भए पनि उनीहरू त्यहाँ एकदम परितुष्ट देखिन्थे, मानौं अन्तिम मुकाम त्यही थियो जिन्दगीको । जेलबाट मुक्त हुने कुनै हतारो वा उत्कण्ठा नभए झैं लाग्दथ्यो उनीहरूमा ।

हुन पनि एकप्रकारले मुक्त जीवन बिताइरहेका थिए उनीहरू त्यहाँ । दिनभरि जेलको गिर्दा बाहिरको खुला ठाउँमा बदाम खाँदै घाम ताप्थे, मानिसहरूसित कुरा जोत्थे, रिक्सामा बुधहाट पुग्थे, भ्याएमा सिनेमा पनि हेर्न जान्थे, जलजला सिनेमा हल वा हिमालय टाकिजमा ।

एक पटक त उनीहरू खरिददारीका लागि जोगबनी पनि गएका थिए । उनीहरूको यस्तो दिवा भ्रमणमा जेलको एक जना पाले पनि सँगै जाने गर्थ्याे भन्थे ।

जेलमै उनीहरूले सत्यनारायणको पूजा गरे, जसको प्रसाद र अपुङ्गो हामीमाझ पनि बाँड्न पठाइएको थियो । स्वस्थानी व्रत पनि बसे, माघेसंक्रान्ति पनि मनाए, तरुल र सेल खाएर । 

हामी बन्दी बनाइएको दुई–तीन हप्तासम्म त सबै जना एकगठ भएर रह्यौं । तत्पश्चात् एक–दुई गर्दै विद्यार्थी छुट्न थाले । अभिभावकहरू आउँथे अञ्चलाधीश कार्यालयमा रुन, कराउन र कागज गर्दै आफ्ना छोरालाई हकार्दै घर लिएर जान्थे । पञ्चायत सरकार र राजाविरोधी कार्यमा लागेर आफ्ना सन्तति दागी बनेको हेर्न चाहँदैनथे उनीहरू ।

कागज गर्नु भनेको ‘मैले बिराएँ, अब यस्तो गर्ने छैन’ भन्ने बेहोराको लिखतमा सही गर्नु थियो । त्यो छेरुवा काम मानिन्थ्यो हाम्रो क्रान्तिकारी नजरमा । कागज गरेर किमार्थ नछुट्ने भन्ने थियो हाम्रो सामूहिक प्रतिबद्धता । तर अभिभावक छुटाउन आउँदा उनै क्रान्तिकारी लुरुक्क परेर घर जान्थे ।

हाम्रो सामूहिक गिरफ्तारी धरानमा ठूलै समाचार बनेको थियो । एकपटक धरानबाट कलेज र हाईस्कूलका एक हूल केटीहरू हामीलाई हौस्याउन आएका थिए । उनीहरू जेलको गेटमा त आएनन् तर पश्चिमतिरको सडक पारी अनुहार चिन्न सकिने दूरीमा रहेको अस्पतालको छतबाट कराउँदै हामीलाई हात हल्लाए ।

हामीले पनि झ्यालको फलामे डण्डी समाएर सकेसम्म माथि उक्लँदै उनीहरूलाई हात हल्लायौं । दिउँसो हात हल्लाएको साँझ केही रुमानी भावनाले हाम्रो मुटुलाई पनि हल्लाएको थियो, कम से कम मेरो मुटुलाई, खासगरी त्यस हूलमा देखिएको एउटा अनुहारका कारणले ।

मानिसहरू जेलमा बसेर खूब पढ्छन् लेख्छन् भन्थे । तर हाम्रो दिनचर्यामा पढ्नेभन्दा सुत्ने कामले प्राथमिकता पाएको थियो । दिउँसो खायो, सुत्यो । राति खायो, सुत्यो । त्यतिका दिन बस्दा मैले कुनै गतिलो ग्रन्थ पढेको याद छैन, सानातिना खुद्रे कुरा बाहेक । लेख्न नखोजेको होइन, तर के लेख्ने ? जेलको वर्णन या एकनासे दैनिकीको विवरण ? उल्लेखयोग्य केही नलेखी बिते ती दिन ।

हो, बिंडी चुरोट तान्न भने सिकें अम्मलीहरूबाट । खैनी खानेहरू पनि थिए हाम्रो त्यस हूलमा । तर धेरै अघि पहिलोपटक सुगन्धित बङ्गाली खैनी खाँदा बान्ता गरेको थिएँ र त्यसको गन्धले नै मेरो टाउको दुख्थ्यो । त्यसैले खैनीको अम्मलबाट चाहिं जोगिएँ । 

पुस लाग्दोमा पसेका थियौं जेलमा र अब माघ महीना पनि घर्किन लागेको थियो । तर हाम्रो छुट्ने छाँट देखिन्नथ्यो । मेरा पिता मलाई छुटाउन आउने कुरै थिएन, उहाँ आफैं पूर्वाञ्चलमै दरिएका कम्युनिष्ट । छोरा छुटाउन जाउँ भन्दै आउने अरूका आमाहरूलाई “मेरो छोरा ज्यानमारा होइन, आउँछ एक दिन, किन जाने ?” भनेर मेरी आमाले मुख बुझे लाएर पठाउनुभएको खबर पाएको थिएँ । तसर्थ त्यतापट्टिको संभावना मेरा हकमा शून्य थियो । 

बाबुआमाको जमानीमा छुट्ने संभावना नभएका म जस्तै अरू चार जना गरी आखिर हामी पाँच जना मात्र बाँकी रहन गएका थियौं– एनके, चक्र, इन्द्र, म र अर्को एक जना । हूलमूलमा त एक किसिमको रमाइलो नै हुन्थ्यो, अबको सिलिङ–मिलिङमा भने उच्चाट लाग्न थालेको थियो जेलको माहोल । हाम्रो हालत ग्याँस उडेको सोडाको बोतल जस्तो भएको थियो । कहाँको क्रान्तिकारी गाना, कहाँको चर्को नाराबाजी ! सबै उडेर गएका थिए । 

छुटकाराको झिनाे आशा लिएर पर्खनुबाहेक हामीसित विकल्प अर्को थिएन । बोझिलाे बन्दै गएको यस्तै बेलामा हामीलाई बोलावट आयो र लगियौं अञ्चलाधीश कार्यालयमा । उही कटुवाल बसेका थिए हाम्रा अघिल्तिर । एनकेले “सरलाई हामी सधैं सम्झन्छौं भन्दा “थाहा छ, दिनहुँ सुन्दै आएको छु मेरो नाम” भने उनले ।

स्मित मुस्कान आउने यस्तो वक्रोक्तिपूर्ण प्राक्कथनपछि “तपाईंहरू छुट्ने हुनुभयो, छुटें भनेर कागतमा सही गर्नोस्” भने उनले । कागतको नाम लिनासाथ सही गर्दिनँ भनेर बिच्कीहाले एनके ।

“यति दिन जेलमा बसें र आजका मितिमा छुटें भनेर पनि लेख्न नहुने ? कार्यालयको हिसाब राख्नका लागि निस्सा पनि त चाहिन्छ”, कटुवालले भने ।

मेरो तर्कशक्तिले त्यसलाई उचित ठह‍र्‍यायो । त्यो कुनै कबुलियतनामा वा प्रतिज्ञापत्र वा क्षमायाचना थिएन । स्याहा स्रेस्ताका लागि त्यति त चाहिने कुरा हो भन्ने लाग्यो । धन्न महाप्रसाद सरले कुनै मुद्दा हालेका रहेनछन् हाम्रा विरुद्ध हूलहुज्जत र हातपातको ।

नत्र यति सजिलै छुटकारा के मिल्थ्यो ! हाम्रो गिरफ्तारी राजनीति प्रकृतिको जरूर थियो, तर तात्कालिक कारण हामीले प्रिन्सिपलको कोठामा गरेको बिजाइँ नै थियो । इन्द्र डङ्गोल, म र अर्का साथी एकमत भयौं ।

मानिसहरू जेलमा बसेर खूब पढ्छन् लेख्छन् भन्थे । तर हाम्रो दिनचर्यामा पढ्नेभन्दा सुत्ने कामले प्राथमिकता पाएको थियो । दिउँसो खायो, सुत्यो । राति खायो, सुत्यो । त्यतिका दिन बस्दा मैले कुनै गतिलो ग्रन्थ पढेको याद छैन, सानातिना खुद्रे कुरा बाहेक । लेख्न नखोजेको होइन, तर के लेख्ने ? जेलको वर्णन या एकनासे दैनिकीको विवरण ? उल्लेखयोग्य केही नलेखी बिते ती दिन ।

चक्र पनि विचारले हाम्रो साथमा थियो, तर काकालाई एक्लै छाडेर ऊ निस्कन सक्दैनथ्यो । हामी जसरी गएका थियौं, त्यसरी नै जेल कर्मचारीको रोहबरमा रिक्सा चढेर जेल फर्क्यै। तर हामी तीन जना छुट्ने गरी, दुईजना फेरि भित्रै पस्ने गरी । 

सबै एकसाथ निस्कन नपाएकोमा खल्लो मन लिएर छुट्टिनुअघि सानोतिनो पोकोपुन्तुर लिन अन्तिमपटक जेलघरमा प्रवेश गर्‍यौं । हामी सुत्ने ठाउँको छेवैमा उबारेर राखेको मसिनो चामलको एक मनको एउटा टन्न बोरा र अलिकति चलाएको अर्को एक मनको बोरा थियो ।

त्यसलाई कुनै बेला बिक्री गर्ने हाम्रो इरादा थियो । तर अहिले परिस्थिति अप्रत्यासित तवरले फेरिएको थियो । चामलका ती बोरा र काका–भतिजालाई भारी मनले त्यहीं छाडेर हामी तीन जना बाहिरियौं र रिक्सामा लाग्यौं महेन्द्रचोकतर्फ ।

खाजा–नास्ता खाने र साथीभाइ भेट्ने क्रममा समय बितेको पत्तै भएन । धरानको बस समात्न ढिला हुन लागिसकेको थियो । उसबेला बस स्ट्यान्ड महेन्द्र चोकमै थियो । त्यसैबेला हामी देख्छौ पर्तिरबाट एनके र चक्र एउटा रिक्सामा आइरहेका ।

हामी दङ्ग र स्तब्ध । हामी छुटेको दुई घन्टापछि उनीहरू छुटेका थिए । त्यस दुई घन्टाको अन्तरालमा के भयो र दुई बोरा मसिनो चामल कसरी तह लगाइयो त्यो कुरा उनीहरूले बताएनन्, हामीले पनि सोधेनौं ।

मनमा उठेको खुल्दुलीलाई जेलमुक्त भएको खुशीको उफानले दबाइदिएको थियो । काकाभतिजा विराटनगरमै होटलमा बस्ने भए, बाँकी हामी तीनभाइ धरान जाने बसमा चढ्यौं । यसप्रकार भएको थियो करीब दुई मासको मेरो पहिलो र एक मात्र झ्यालखानबा बासको पटाक्षेप ।

प्रतिकृया दिनुहोस