पाँचथरमा एक व्यक्ति मृत फेला
पाँचथरमा शुक्रबार बिहान एक व्यक्तिको शव फेला परेको छ । याङ्बर गाउँपालिका–२ सिलसिलेका इन्द्रबहादुर कार्की (४०) को शव मृत अवस्थामा प्रहरीले फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार, गए रातिबाट घर नआएका कार्कीलाई खोजी गर्ने क्रममा मध्यपहाडी राजमार्ग नजिकै उनको शव फेला परेको हो ।
टाउको फुटेर रगत बगेको अवस्थामा फेला परेकाले कार्कीको हत्या भएको हुन सक्ने प्रहरीको बुझाइ छ।
कार्कीलाई कुटेर तथा भारी बस्तुले टाउकोमा हिर्काएर मारेको हुनसक्ने प्रहरीले बताएको छ । घटना कसरी र कोबाट भयो भन्ने बारे अनुसन्धान भइरहेको न्यौपानेले बताए ।
सदरमुकाम फिदिमबाट ३ घण्टा गाडीको दूरीमा रहेको घटनास्थलमा अनुसन्धानका लागि न्यौपाने सहितको प्रहरी टोली पुगेको छ ।