मधेशबाट हराउँदै
–सञ्जय मित्र, रौतहट
दशैंको अवसरमा सबै उमेरका महिलाको साझा लोक सांस्कृतिक झिझिया समाजबाटै हराएको छ । नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया गाउँघरमा समेत खेल्न बन्द भएको छ । एक दशक पहिलेसम्म मनाइने गरेको महिलाहरूको स्वाभाविक सामूहिक उत्सव साना बालिकाहरूमा सीमित हुँदै लगभग लोप हुने अवस्थामा पुगिसकेको छ ।
प्वालै प्वाल पारिएको घैंटामा दियो राखेर टाउको राखी महिलाहरू झिझियाका गीत गाउँदै नाच्ने परम्परा थियो । दशैंको घटस्थापनादेखि महानवमीसम्म राति सामूहिक रूपमा महिलाहरूले मौलिक शैलीमा गाउँदै तथा नाच्दै गाउँ डुलेको परम्परा नै लोप भइसकेको छ ।
दशैं आउनासाथ मुख्य गरी गाउँका छोरीचेलीहरूमा झिझियाको उत्साह हुन्थ्यो तर आजभोलि सबैले यस संस्कृतिको नाम नै बिर्सिन थालेका गरुडाका ८४ वर्षीय वंशीराम जयसवाल बताउँछन् । आधुनिक शिक्षा र सञ्चारको माध्यमले गर्दा झिझिया र भगतईजस्ता धार्मिक–सांस्कृतिक मनोरञ्जनात्मक सम्पदाहरू लोप भएको जयसवाल बताउँछन् ।
“झिझिया गीतमा बोक्सी, जादूटुनाजस्ता अन्धविश्वासात्मक भावको प्राधान्य थियो तर त्यसलाई जीवनसित जोड्न सकेको भए हुन्थ्यो” पोठियाहीका ७५ वर्षीय जादोलाल साहको भनाइ छ । झिझियाकै स्वरमा चेतनाको भाव भर्न ढिला गर्दा महान सांस्कृतिक परम्परा हेर्दाहेर्दै लोप भएकोमा साह चिन्ता व्यक्त गर्दछन् ।
झिझियालाई कतैबाट संरक्षणको प्रयास नगरिएको र आफ्नो घरका छोरी–बुहारीलाई झिझियामा जानबाट रोकिएको तथा झिझियाकर्मीलाई प्रोत्साहन नदिएको कारणले पनि झिझिया लोप भएको हो । संस्कृतिप्रति संवेदनशील व्यक्तिहरूले झिझियालाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्न थालेका छन् ।
झिझियामा रहेको स्वर, झिझिया नृत्यको शैलीलाई संरक्षण गर्न मञ्चहरूमा प्रोत्साहन गर्न थालिएको छ । प्रोत्साहनका लागि झिझिया नृत्य गराउँदा डिजे बजाउनु पर्ने र स्कुले बालिकाहरूलाई मात्र सहभागिता गराउन सकिने हुन्छ । सडकमा स्वच्छन्द गाउँदै–नाच्दै एक टोलबाट अर्को टोलसम्म पुग्ने झिझिया सांस्कृतिक नृत्य अब स्मरणमा सीमित भएको बूढापाकाको दुःखेसो छ ।
झिझियालाई बचाउन सचेत प्रयास गराउनको आवश्यक देखेर गौरका युवा पत्रकार चञ्चलकुमार झाले बालिकालाई प्रोत्साहन दिइरहेका छन् । आफैले झिझियाको घैंटा किनेर बालिकाहरूलाई उपहार पनि दिँदै गाउँमा झिझिया खेलाउने प्रयास गरेका छन् ।
बिक्री हुनै छाड्यो झिझियाको घैंटो
झिझिया भनेरै चिनिने घैंटोको बिक्री हुन छाडेको छ । केही वर्षदेखि झिझियाको घैंटो बिक्री हुन छाडेको भए पनि विभिन्न कार्यक्रमहरूमा सांस्कृतिक प्रदर्शनको रूपमा यसलाई देखाउन थालिएकाले बिक्री हुने अनुमानमा अलिकति झिझिया बनाएको गोनाही बजारमा झिझिया बेचिरहेका भजिन्द्र पंडित बताउँछन् ।
झिझिया किन्न त के सोध्न आउने मानिसको पनि अभाव देखिएको पंडितको भनाइ छ । साना बालिकाहरूले भने घैंटोभित्र दियो बालेर घरमा खेल्नका लागि किन्ने गरेको उनी थप्छन् ।