'द हण्ड्रेड'को ड्राफ्टमा परे सन्दीप लामिछाने, एक करोड ३९ लाख पारिश्रमिक
इंग्ल्याण्ड र वेल्समा आगामी वर्ष हुने नयाँ ढाँचाको फ्रेन्चाइजी द हन्ड्रेडको ड्राफ्टमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने परेका छन् ।
प्रतियोगितामा छनोट भएमा सन्दीपले एक करोड ३९ लाख पारिश्रमिक पाउनेछन् । खेलाडी आफैंले आफ्नो मूल्य तोक्न पाउने व्यवस्थाअनुसार, सन्दीपले एक लाख पाउण्ड डलर दावी गरेका थिए ।
प्रतियोगिता एक लाख २५ हजार, एक लाख, ७५ हजार, ६० हजार, पचास हजार र ४० हजार पाउण्डको क्याटागोरी निर्धारण गरिएको थियो । मूल्य नतोकले भने न्यूनतम ३० हजार पाउण्ड पाउनेछन् ।
पहिलो ड्राफ्टअनुसार, आठ खेलाडीको मूल्य एक लाख २५ हजार पाउण्ड तोकिएको छ । जसमा क्रिस गेल, डेभिड वार्नर, स्टिभन स्मिथ, मिचेल स्टार्क, लसिथ मलिन्गा, क्विन्टन डी कोक, लुन्गी एन्गिदी र कगिसो रावडा छन् ।
एक लाख पाउण्डमा भने नेपाल, बांग्लादेश, अफगानिस्तान, आयरल्याण्ड लगायत एघार देशका १७ खेलाडी छन् ।
सन्दीप लामिछाने, शाहीद अफ्रिदी, हरभजन सिंह, शेन वाट्सन, ड्वाएने ब्राभो, फाफ डु प्लेसिस, आरोन फिञ्च, शकिब अल हसन, किरोन पोलार्ड, रसेल, सुनिल नारिन, ग्लेन म्याक्सवेल, तमिम इकबाल, ट्रेन्ट बोल्ट, केन विलियम्सन, क्रिस लिन, राशीद खानको मूल्य एक लाख पाउण्ड तोकिएको छ ।
प्रतियोगितामा रोहित शर्मा, जसप्रित बुमराह, विराट कोहली लगायत भारतीय खेलाडी भने छनोटमा परेका छैनन् । भारतीय क्रिकेट बोर्डले अनुमति नदिएपछि भारतीय खेलाडीले प्रतियोगितामा भाग नलिएका हुन् ।