एयर इन्डियाद्वारा नमस्कार सेवा शुरु
भारतको राष्ट्रिय ध्वजावाहक हवाई सेवा कम्पनी एयर इन्डियाले आफ्नो सेवालाई प्रभावकारी बनाउन नमस्कार सेवा शुरु गरेको छ ।
नयाँ दिल्ली विमानस्थलमा यात्रुहरुका लागि नमस्कार सेवा शुरु गरेको अधिकारीहरुले जनाएका छन् ।
नमस्कार सेवा अन्तर्गत विमान कम्पनीका कर्मचारीहरुले विमानस्थलमा भेटिएका आफ्ना ग्राहकहरुलाई भेट्ने, नमस्ते गर्ने, राम्रो व्यवहार गर्ने लगायत रहेको छ ।
कर्मचारीहरुले विमानस्थलमा प्रवेश गरेदेखि जहाज नचढेसम्म उनीहरुलाई उच्च सम्मान गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी यात्रुहरुलाई फाराम भर्न, सामान लैजान, बाेर्डिङ पास उपलब्ध गराउन लगायत अन्य आवश्यक सम्पूर्ण कार्यहरु कर्मचारीहरुले नै गरिदिने भएका छन् । नमस्कार सेवा अन्तर्गतका यी सेवाहरु प्रदान गरे वापत कम्पनीले न्यूनतम शुल्क पनि तोकेको जनाइएको छ ।