ब्लग शुक्रबार, असोज १७, २०७६

खोजी, नेपाली दर्शनको

हिमालखबर

–विष्णु प्रभात

दिक्, काल र परिस्थितिबारे सदैव नवीन विकल्प सोच्नु र त्यस अनुरूपको परिवर्तन स्थापित गर्न जनतामा जानु नेपाली दर्शनको अहम् चरित्र बनेको छ। हाम्रा पछिल्ला राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनले पनि यसैको सङ्केत गर्छन्।

विष्णु प्रभात

सामान्य अर्थमा ‘दर्शन’ शब्दले विचारपूर्वक हेर्नु, दृष्टि दिनु अथवा ज्ञानार्जन गर्नु भन्ने बुझाउँछ । संस्कृत भाषाको ‘दृश्’ धातुबाट निर्मित यो शब्दको विशिष्ट अर्थले भने जीवन र जगतका प्रत्येक काम–कुरा, घटना–प्रक्रिया र नियमसँगै दृष्टिकोण, पद्धति र परिणामको एकत्व बुझाउँछ । अंग्रेजी ‘फिलोसफी’ को तात्पर्य पनि ‘बुद्धिप्रेम’ अथवा ‘ज्ञानप्रतिको अनुराग’ भनिएको छ । प्रकृतिको तत्वपक्ष र समाजको ज्ञानपक्षको एकतामा दर्शन निर्माण हुन्छ र यो समग्र ज्ञानको विज्ञान हो ।

नेपाली जीवनको नानात्व एकत्वहीन दृष्टिकोणका रूप देखा पर्नु स्वाभाविक भए पनि ‘कुवापिच्छे पानी, मान्छेपिच्छे बानी’ भने झैं नितान्त व्यक्तिवादी दर्शन भने हामीकहाँ कमै छन् । जीवनजगत बारे आ–आफ्नै ढङ्गले सोच्नु, नित्य नयाँ–नयाँ विकल्प ठम्याउँदै त्यसलाई जनमानसमा स्थापित गर्नुको अर्थमा पनि हाम्रो ‘नेपाली दर्शन’ देखापरेको छ । जातीय तथा क्षेत्रीय बान्कीमा पनि यो देखिन्छ । सारमा, दृष्टिकोण विनाको मानिस पाउन सकिंदैन । सारमा दर्शन, त्यही समग्र दृष्टिकोणको नाम हो ।

स्केच : भानु भट्टराई

विषयगत विशिष्टताले राजनीतिक दर्शन, सामाजिक दर्शन, धार्मिक दर्शन, लोक–दर्शन, नैतिक दर्शन, सृष्टि दर्शन वा तत्व दर्शन, सांस्कृतिक दर्शन जस्ता रूपगत विकल्प देखा पर्दछन् । देशगत विविधतामा नेपाली दर्शन, भारतीय दर्शन र चिनियाँ दर्शन जस्ता विविधता पनि छँदै छन् । लोकजीवनले संरक्षण गरी ल्याएको लोकायत दर्शनको धारा पनि परापूर्वकालदेखि नै अवैदिक दर्शनको रूपमा समुदायबीच रहिआएको छ, जुन तत्कालीन वैदिक दृष्टिकोणको विकल्प थियो ।

एउटै चिन्तनधारामा पनि केही वैकल्पिक चिन्तन थपेर पूर्वीय दार्शनिकहरूले प्रत्ययवाद र पदार्थवादको द्वन्द्वात्मकतामा अनेक विकल्प अघि सारेका छन् । त्यसैले आध्यात्मिक प्रत्ययवाद र द्वन्द्वात्मक भौतिकवाद नै सबैभन्दा व्यापक, प्रतिस्पर्धी बहुविकल्पयुक्त दार्शनिक चिन्तनधारा बन्न पुगेको छ ।

वैदिक दर्शन

वैदिक दर्शन वेदमा आधारित छ । ऋग्वेद सबैभन्दा पुरानो तर निर्वैयक्तिक रचना हो । दार्शनिक चिन्तनको भण्डार उपनिषद् हुन् भने तान्त्रिक मतलाई अथर्ववेदले समेट्छ ।

वैदिक दर्शनको तात्पर्य समग्र संस्कृत वाङ्मयको वेद, उपनिषद् र पुराणमा व्यक्त वैचारिक नानात्वको समष्टि हो, जसले प्राकृतिक भौतिकवाददेखि आध्यात्मिक प्रत्ययवादसम्मका बोधलाई बुझाउँछ ।

साङ्ख्य दर्शन

दर्शन शब्द सबैभन्दा पहिले महर्षि कणादले आफ्नो रचना ‘वैशेषिक सूत्र’ मा प्रयोग गरेका थिए । लोकको दृष्टिकोण, अभिव्यक्ति र पद्धतिलाई अँगाल्ने चिन्तन पद्धति लोक–दर्शन हो ।

नेपाली दर्शनको खोजी गर्दा गौतम रहुगण सबैभन्दा जेठा नेपाली दार्शनिक देखा पर्दछन् । त्यसपछि शतपथ ब्राह्मण ग्रन्थका स्रष्टा याज्ञवल्क्य र उनी सँगसँगै अष्टावक्र एवम् गार्गीको नाम आउँछ । बृहदारण्यक उपनिषद्, अष्टावक्र गीता जस्ता रचना हाम्रै हिमवत्खण्डको जनकपुर–मिथिला क्षेत्रमा रचिए ।

कपिलमुनि अर्का प्राचीन नेपाली दार्शनिक थिए । सिद्धार्थ गौतमभन्दा झण्डै २०० वर्षअघिका कपिलमुनि महान् व्यक्तित्व हुन् । तिनै विद्वानकाे नामबाट कपिलवस्ती भन्ने नाम रह्यो, जसलाई आज हामी कपिलवस्तु भन्छौं । कपिलको चिन्तन शुद्ध प्रकृतिवादी थियो । उनको विचारलाई ‘साङ्ख्य दर्शन’ भनेर चिनिन्छ । प्रकृति–तत्वको सङ्ख्या निर्धारण गर्ने काम सर्वप्रथम उनले नै गरे । गुणत्रयी अर्थात् सत्व, रज, तमको सन्तुलनमा प्रकृति पैदा हुन्छ र त्यसैबाट सृष्टि अघि बढ्छ भन्ने धारणा उनको थियो ।

अवैदिक धाराको साङ्ख्य दर्शनले सत्रौं सदीमा आइपुगेपछि विज्ञान भिक्षुले ‘साङ्ख्य सार’ लेखेपछि ईश्वरवादी धारणा अङ्गीकार गर्‍यो र ब्रह्मवादी बन्यो । उत्पत्तिको समयमा साङ्ख्य दर्शन अत्यन्तै साहसपूर्ण विचारको रूपमा देखापरेको थियो । यो दर्शनमा प्रतिपादित प्रकृति र पुरुष मान्ने द्वैतवादी अभिमतले दार्शनिक विचारधारामा तन्त्रवादी धारणाको जग हालेको थियो । यद्यपि सृष्टिको आदितत्व प्रकृतिलाई मान्ने सोच त्यसअघि नै थियो र त्यो अवैदिक चिन्तनका रूपमा लोकप्रिय थियो । 

‘भवतु सब्व मङ्गलम्’ भन्ने बौद्ध दर्शन होस् अथवा ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक दर्शन होस् अधिकांश दार्शनिकहरूले आफू र आफ्नो समयका मानिसको सुख–सुबिस्ता चाहेका छन् । तर ती अलौकिक वा पारलौकिक शक्तिसम्पन्न ज्ञानीका रूपमा प्रस्तुत हुने प्रयासमा रमे, पारलौकिक संस्कृति दिगो हुने आशामा रमाए ।

नेपाली समाजको प्राचीन विचारधारामा मात्र हैन, वर्तमानमा पनि अनेक प्रकृतिपूजक जाति, समाज र संस्कार छन् । यसको तात्पर्य के हो भने दर्शनको प्रारम्भिक आधार लोकजीवन थियो र छ । साङ्ख्य दर्शन पनि लोक–दर्शनकै रूपमा शुरू भएको थियो ।

नेपाली दर्शनशास्त्रको इतिहासमा प्राकृतिक भौतिकवादी धारा अर्थात् लोकायत नै सबैभन्दा पुरानो दर्शनको रूपमा रहिआएको छ । त्यसका अवधारणा साङ्ख्य दर्शनमा मात्र होइन, बौद्ध दर्शनमा पनि समाहित भएको पाइन्छ । साङ्ख्य दर्शनले परमात्मा र ब्रह्मको अस्तित्व मान्दैन, प्रकृतिलाई नै मूलतत्व अथवा अस्तित्व मान्दछ र विश्व ब्रह्माण्डलाई बोधगम्य ठान्दछ । त्यसैले साङ्ख्य दर्शनलाई अवैदिक लोक–दर्शन पनि भन्न सकिन्छ ।

लोकायत दर्शन

लोकायत दार्शनिक बृहस्पति, ब्रह्मवादी दार्शनिक याज्ञवल्क्य तथा अष्टावक्र, साङ्ख्य दार्शनिक कपिल, न्याय दर्शनका अक्षपाद गौतम, वैशेषिकका कणाद, योगका पतञ्जलि र बौद्ध दर्शनका सिद्धार्थ गौतमलाई आ–आफ्ना दर्शनको प्रवर्तक ऋषि एवम् दार्शनिक मानिएको छ । संसारभरिकै दार्शनिक चिन्तनहरू मानव संस्कृतिका विशिष्ट चेतना हुन् र ती सबैले कम–बेसी मात्रामा भौतिक जीवनका पीडाबाट कसरी मुक्त हुन सकिन्छ ? कसरी दुनियाँको कल्याण हुन सक्दछ ? भन्ने विषयवस्तुलाई उठाउँदै आएका छन् । यस अर्थमा ती लौकिक हुन् ।

‘भवतु सब्व मङ्गलम्’ भन्ने बौद्ध दर्शन होस् अथवा ‘सर्वे भवन्तु सुखिनः’ भन्ने वैदिक दर्शन होस् अधिकांश दार्शनिकहरूले आफू र आफ्नो समयका मानिसको सुख–सुबिस्ता चाहेका छन् । तर ती अलौकिक वा पारलौकिक शक्तिसम्पन्न ज्ञानीका रूपमा प्रस्तुत हुने प्रयासमा रमे, पारलौकिक संस्कृति दिगो हुने आशामा रमाए । दार्शनिकले आफूलाई लौकिक जीवनसँग जोडेर पनि परब्रह्मको छायाँ या मायाका कुरा गरे । ‘ईश्वरको दूत वा पुत’ भनी चिनारी दिने प्रयत्न गरे । देह–विदेह, आत्मा–परमात्माका कुरा गरे ।

त्यति हुँदाहुँदै पनि ती सबैले जीवनका पीडाबाट मुक्ति पाउने आशा बाँडे । वरत्र–परत्र सपार्ने कथा रचेका छन् । ‘यो वा त्यो’, ‘हो वा हैन’, ‘छ वा छैन’, ‘हुन सक्छ’ र ‘नहुन पनि सक्छ’ भन्दै विचारका रहस्यमय आवर्तमा डुबाउँदै अलौकिक आदर्श अघि सारेका छन् ।

‘गीता’ ले कपिलमुनिको प्रशंसा गर्दै साङ्ख्य दर्शनलाई बारम्बार उल्लेख गरेको छ, तर सँगसँगै त्यसको लोक विश्वासलाई अलौकिकतातर्फ मोडेको छ । आध्यात्मिक प्रत्ययवादलाई अँगाल्दै आत्माको अमरता, अविनाशी र सर्वकालिक अस्तित्व स्थापना गर्ने प्रयत्न गरेको छ । अक्षपाद गौतम भने सिद्धार्थभन्दा पछिका लाग्दछन् । किनभने उनको न्याय दर्शनमा सिद्धार्थ गौतमका कतिपय कुराहरू पाइन्छन् ।

वैदिक–अवैदिक दर्शनको मेल

वैदिक दर्शनको परिधिभित्र वेद, ब्राह्मण ग्रन्थ तथा उपनिषद् सबै राखिएको पाइन्छ । महाभारत र रामायणलाई समेत त्यही दार्शनिक धारामा राखिन्छ । तर, वैदिक चिन्तनमा सत् र असतकाे भाव एकसाथ प्रवाहित छ । सत्य स्वयम् विकल्पयुक्त छ । हिजोको, आजको र भोलिको सत्यमा बहस छ । वैयक्तिक सत्य, जातीय सत्य र मानवीय सत्यका विकल्प हामी स्वयम् भोग्दैछौं । सापेक्ष सत्य र निरपेक्ष सत्यका चर्चा पनि गरिरहेकै छौं ।

राष्ट्रिय सङ्कीर्णता र अर्कोतर्फ अन्तर्राष्ट्रिय विस्तीर्णता हामी आफैं भोग्दैछौं । नित्य नवीनताको माग ‘नियमित आकस्मिकता’ होइन बरु गुणात्मक फड्को हो । दृष्टि विकल्पमय छ । दिक्, काल, नवीनता विकल्पमय छ । त्यसैले हाम्रा निष्कर्ष पनि विकल्पमय हुन्छन् । स्थान, समय र समाजको सापेक्षतामा मात्र होइन औचित्य र सन्दर्भका अर्थमा पनि विकल्पहरू हुन्छन् ।

मानिसका आवश्यकता पूर्ति र पीडाबाट मुक्तिको कामनामा लौकिक समस्याहरू जोडिएका छन् । वेदमा प्राकृतिक विपत्तिबाट मुक्ति पाउन गरिएका प्रार्थना लौकिक नै छन् । पुरुषार्थ बढाउन इन्द्रको पुकारा गर्दा होस् वा धनधान्य प्राप्त गर्न र पोषिला खाद्यान्न हासिल गर्न गरिएका प्रार्थनामा होस् त्यहाँ पनि भौतिक जीवनकै यथार्थ बोलिएको पाइन्छ ।

मनोभाव, आकाङ्क्षा र अक्किल अङ्कन गरिएका मन्त्र वा ऋचा, वर्णन वा प्रश्न र संवेदना या चेतनाका रूपहरूलाई वैदिक–अवैदिक दुवै दर्शनले समेटेका छन् । आनन्द, फाइदा र मान प्राप्तिको लागि गरिएका यज्ञकर्म पनि प्रशस्तै छन् । आधुनिक मनोविज्ञानका नजरले ती दृष्टिकोणलाई हेर्दा वस्तुगत जगतकै प्रतिबिम्ब देखापर्दछ । लोकजीवनकै छवि–छायाँ देखा पर्दछ । एकत्व र नानात्व भाव पनि मानव समाज र प्रकृतिकै प्रतिबिम्ब स्वरूप व्यक्त भएको झलक पाइन्छ ।

दिक्, काल र परिवेशको अनेकतामा भूमिपुत्र भई जन्मेका मानव जाति पनि पुनः अनेकबाट एकतर्फ अग्रसर भइरहेको तथ्य पनि हाम्रै सामु छ । एकातर्फ राष्ट्रिय सङ्कीर्णता र अर्कोतर्फ अन्तर्राष्ट्रिय विस्तीर्णता हामी आफैं भोग्दैछौं । नित्य नवीनताको माग ‘नियमित आकस्मिकता’ होइन बरु गुणात्मक फड्को हो । दृष्टि विकल्पमय छ । दिक्, काल, नवीनता विकल्पमय छ । त्यसैले हाम्रा निष्कर्ष पनि विकल्पमय हुन्छन् । स्थान, समय र समाजको सापेक्षतामा मात्र होइन औचित्य र सन्दर्भका अर्थमा पनि विकल्पहरू हुन्छन् ।

हाम्रा दार्शनिक प्रश्नहरू

आज हामी नयाँ चिन्तनको खोजीमा छौं । नेपालको आफ्नो मौलिक दर्शन के हो ? अथवा कुन कुन हुन् ? दक्षिण एशियाली दर्शनका कुनकुन धाराले हाम्रो जनजीवन प्रभावित छ ? हिमाली क्षेत्रका जीवनदर्शन र मध्यपहाडी जीवनका लोकबोध, सोचाइ र दृष्टिकोण कस्ता छन् ? जातीय विश्वाससँग जोडिएका दार्शनिक सोच र धार्मिक विश्वाससँग जोडिएका दार्शनिक सोचमा के कस्ता समानता, पृथकता र अन्तर–प्रभाव छन् ? परस्परमा के कति सम्मिलन, समन्वय र सहजीवन अँगाल्दै रमाएका छन् ? प्रश्न यत्तिमा सकिंदैन ।

हाम्रा साहित्य, सङ्गीत र कलाका क्षेत्रमा अभिव्यक्त नेपाली दार्शनिक चिन्तनको स्थिति के कस्तो छ ? राजनीतिक दर्शनको स्वरूप र सार के कस्ता छन् र त्यसका चिन्तनहरूको अन्तर्राष्ट्रिय सम्बन्ध कुन कुन दर्शनसँग सम्बन्धित छन् ? समाज दर्शनमा जातीय चिन्तनका तहहरू के कस्ता अवस्थामा छन् ? यस्ता अनेक प्रश्नमा अनेक कोणबाट दर्शनशास्त्रीय अध्ययन अघि बढाउनुपर्ने आवश्यकता छ ।

क्रमबद्ध, तथ्यपरक र गतिशील नियम अँगाल्दै अंशबाट पूर्णतिर पाइला चाल्नु, अज्ञानको अँध्यारो फाल्नु र धरतीमा उभिएर ब्रह्माण्ड नियाल्नु नै दर्शनको कार्यभार हो । यही यात्रामा नै हामीले टोलेमीको चेप्टो पृथ्वीलाई मात्र हैन नेपाली लोकजीवनमा कहिंदै आएको दूध–घिउका समुद्रको कथा पनि झूटा रहेछन् भनी ठम्यायौं । त्यसैले वाद, प्रतिवाद र संवादको निरन्तरतालाई तत्वबोध र सत्यखोजको विधि बनाऊँ । र, नेपाली दर्शनको खोजी गरौं ।

(प्रभात नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभागका सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस