चीनसँग 'सपिङ लिष्ट' बनाएर कुरा हुँदैनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानीको हिसाबकिताब नहुने बताएका छन् ।
सरकारी समाचार एजेन्सी रासससँग प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिङफिङ सँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार–सरकार र जनता–जनताबीचको सम्बन्ध बहुआयामिक बनाउने प्रयास हुने बताए ।
“उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ”, प्रधानमन्त्री ओलीले भने ।
“दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ”, प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने बताए । “महामहिम राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमण सफल हुन्छ”, प्रधानमन्त्री भने ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास भएको बताए ।
बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताए ।
“हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु सङ्कीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो ।
भारतीय स्वतन्त्रता सङ्ग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसङ्ग उल्लेख गर्दैै प्रधानमन्त्रीले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गरिने स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तरराष्ट्रिय उत्तरदायित्वका साथ अन्तरराष्ट्रिय सम्बन्धमा ध्यान दिएको बताए । नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्चाएर र चाउ¥याएर आफैँ प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गरे ।
“नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्र रुपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ । हामी कतै झुक्दैनौँ । कतै ढल्कँदैनौँ । नेपाललाई भूपरिवेष्टितबाट भूडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौं”, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले नेपालले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तरराष्ट्रिय सम्बन्ध पनि माथि उठेको उल्लेख गरे ।
“नेपाल अन्तरराष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो”, प्रधानमनत्रीले भने ।