‘स्नेही काख’लाई पुनर्वास भूटानीको सहयोग
ललितपुर, कुसुन्तीस्थित एउटा परोपकारी संस्था ‘स्नेही काख’लाई अमेरिकामा पुनर्वास भएका भूटानीहरुले रु. १३ लाख ५० हजार सहयोग गरेका छन्।
उक्त आश्रममा सडकमा भेटिएका मानसिक रुपमा अस्वस्थ र तिनले जन्माएका नानीहरु समेत ७५ जना आश्रय लिएर बसेका छन् ।
उक्त आश्रमलाई पुनर्वास भएका २५१ जना भूटानीहरुले संकलन गरेको सहयोग रकम १५ असोजमा हस्तान्तरण गरिएको अमेरिकाको एटलान्टामा रहेका पुनर्वास भूटानीहरूको संस्था ओबीसीएका अध्यक्ष दिलीप दाहालले बताएका छन् ।
उक्त सहयोग रकम आश्रितहरूका लागि ललितपुरको धापाखेलमा बासस्थान बनाउन उपयोग गरिने आश्रमकी सञ्चालक श्रीनेहा पोखरेलले बताएकी छिन् ।
२०६७ सालमा स्थापित स्नेही काखको मासिक सञ्चालन खर्च करीब रु ४ लाख रहेको आश्रमले जनाएको छ ।
आश्रम जन्म र विवाहोत्सव, दिवंगत आफन्तको श्राद्ध तिथि आदिमा खुवाउन आउने र केही नियमित दाताहरूले उपलव्ध गराउने अन्न र आर्थिक सहयोगबाट चलिरहेको सञ्चालक पोखरेलले बताएकी छिन् ।