परिवारका सबै सन्तान मुटुरोगी भएपछि...
मुटुरोगले रौतहटमा एउटा वंश नै विनाशको संघारमा पुगेको छ । रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका सफि महम्मद मन्सुरीको वंश नै मुटुरोगले गर्दा विनाशको संघारमा पुगेको हो ।
मन्सुरीकी पत्नी सहिदा खातुन आँखाबाट बरर्र आँसु चुहाउँदै भन्छिन्, “६ वर्षकी छोरी सहजादी खातुनलाई बचाउन सकिनँ । ६ महीना पहिले सहजादी मुटुरोगकै कारण मरिन् ।”
अहिले ५ वर्षकी छोरी कस्मिरा खातुन र साढे दुई वर्षको छोरो साहेब मन्सुरीलाई मुटुरोगले च्यापेको छ ।
उनीहरूलाई काठमाडौंस्थित शहीद गंगालाल हृदय रोग अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका छन् तर रोगको निदान हुन नसक्दा परिवार चिन्तित छ ।
आफ्नो घरघडेरी केही पनि नभएको र अर्काको जग्गामा छाप्रो बनाएर बस्दै आएको मन्सुरी परिवारका छोराछोरीलाई गंगालाल हृदय रोग अस्पतालले भारतको दिल्लीस्थित एम्स अस्पतालमा रेफर गरिदिएको छ ।
गाउँमा चन्दा उठाएर, भीख मागेर र ऋण काढेर मन्सुरीले तीस हजार रुपैयाँ जम्मा पारी डाक्टरले दिएको अन्तिम समयमा मन्सुरी छोराछोरीलाई लिएर दिल्ली प्रस्थान गरेका छन् ।
“यति थोरै पैसामा केही होला भन्ने आशा कम छ तर छोरा र छोरीको ज्यान बचाउन यो भन्दा बढी मैले कसैगरी पनि जम्मा पार्न सकिनँ”, गहभरि आँसु भरेर मन्सुरी दुःखेसो पोख्छन्, “कतैबाट खासै सहयोग पुग्न सकेको छैन ।”
मन्सुरीका बुबा ६० वर्षका नजिर मन्सुरी ओछ्यानमा सुतेको वर्षौं भइसक्यो । बुबा मन्सुरीलाई पारालाइसिसले गर्दा उठबस र हिँडडुल गर्न मिल्दैन ।
मन्सुरी र सहिदा आफू पनि समय समयमा बिरामी परिरहन्छन् । परिवारको स्वास्थ्य उच्च जोखिममा रहेकोले उनी सहयोगका लागि जसकसैलाई पनि गुहार लगाउँछन् तर नगरपालिकाले समेत खासै सहयोग गर्न नसकेको मन्सुरीको भनाइ छ ।
स्थानीय समाजसेवी दीपेन्द्र श्रेष्ठले भने थोरबहुत सहयोग गर्दै आएको मन्सुरीको भनाइ छ ।
“कसैले कतैबाट सहयोग गरिदिए आफ्नो परिवार जोगिन्छ कि ?” आशाको नजरले मन्सुरी छोरातिर हेर्दै भन्छन् । गला अवरुद्ध पार्दै मन्सुरी थप्छन्, “मेरो वंश नै विनाश हुने हो कि भन्ने डर छ ।”
–सञ्जय मित्र, रौतहट