समाचारमंगलबार, १४ आश्विन , २०७६

राष्ट्रिय मानव अधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

रासस

राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वतन्त्रता अपहरण नगर्न तथा सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने अभिव्यक्ति स्वतन्त्रताको वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य सांसद डा मीनेन्द्र रिजाललाई तनहुँमा गरिएको अवरोध एवं नेपालका लागि नेपाली अभियानका अभियानकर्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा सो घटनाको प्रभावकारी र निष्पक्ष छानबिनमार्फत दोषीहरू पहिचान गरी कानूनबमोजिम कारबाही गर्न तथा शाहीको सम्पूर्ण उपचार खर्चको व्यवस्था गर्नसमेत आयोगले सरकारसँग आग्रह गरेको छ ।

“आफ्ना सभा, सम्मेलन तथा गतिविधि गर्दा कुनै पनि व्यक्तिको मर्यादामा आँच आउने गरी अभिव्यक्ति दिन र कुनै व्यक्ति वा निकायले कानूनविपरीत कार्य गरे कानूनी बाटो अवलम्बन गर्न आयोग सम्बन्धित पक्षलाई समेत आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

नागरिकलाई देशका कुनै पनि भागमा गई बिना हातहतियार सभा–सम्मेलन गर्ने, मर्यादित ढङ्गले विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्ने स्वतन्त्रताको प्रत्याभूति गरिएको छ ।

तनहुँ तथा चितवनका यी घटनाहरूबाट व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता एवं बिना अवरोध भयरहित वातावरणमा आवतजावत गर्न पाउने अधिकारको उल्लङ्घन भएको आयोगको ठम्याइ छ ।

प्रतिकृया दिनुहोस