जिम्बाबे बिरुद्ध बदला लिने तयारीमा नेपाल
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल मंगलबार साँझ टेष्ट राष्ट्र जिम्बाबेसँग भिड्दैछ ।
साँझ ५ः१५ मा हुने खेलमा नेपाल जिम्बाबे सँग बद्ला लिनेगरी मैदानमा उत्रने तयारीमा छ । पहिलो खेलमा जिम्बाबे सँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।
तर, सिंगापुर सँग भने नेपालले २४ बल बाँकी रहदै नौ विकेटले जित निकालेको थियो । यो शानदार जितकै कारण नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।
तीन वटै देशले समान दुई खेलमा २/२ अंक जोडेपनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ । जिम्बाबे सिंगापुर सँग पराजित भएकाले नेपाल आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रदैछ । जिम्बाबे सँग जित निकाले नेपाल उपाधि नजिक पुग्नेछ ।
पूरा युवा खेलाडीको टीम तयार पारेको कप्तान पारस खड्काले भने सिंगापुर विरुद्धको खेलमा विश्व कीर्तिमानी नै रचिसकेका छन् ।
नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनुभवी ब्याट्सम्यान शरद भेषवाकर र बलर बसन्त रेग्मी नराखिएको नेपालले सिंगापुरको त्रिकोणात्मक लगत्तै ओमानमा पाँच राष्ट्र बीच हुने मैत्रीपूर्ण खेल खेल्नेछ ।