सभामुख महरालाई राजीनामा गराउने तयारी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गराउने तयारी गरेको छ ।
एक महिला कर्मचारीले सभामुख महरालाई बलात्कारको प्रयास गरेको गम्भीर आरोप लगाएपछि नेकपाले छलफललाई तीव्र बनाएको छ । सभामुख महरासँग अध्यक्ष पुष्पकमल दाहालले यसबारे बिहानै कुराकानी गरिसकेका छन् ।
सभामुख महराले सहयोग गर्न तयार छु भनेपछि अध्यक्ष दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभामुख महरालाई राजीनामा गराउनेबारे छलफल भएको छ ।
अध्यक्षद्वयको छलफल लगत्तै नेकपाको सचिवालय बैठक बोलाइएको छ । नेकपा उच्च स्रोतका अनुसार, सभामुख महरालाई आजै राजीनामा गराउनेगरी छलफल भइरहेको छ ।
संसद सचिवालयका एक महिला कर्मचारीले सभामुख महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी छन् ।सभामुख महराको सचिवालयले भने फसाउन गरिएको प्रयास भनी खण्डन गरेको छ ।