ग्राहक बनेर आउनेबाटै केसीको हत्या
नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले ३१ भदौ राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुङ्गाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्की र रौतहटका सविना तामाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नशालु पदार्थ सेवन गराएर सुनको गहना लुटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको बताए ।
“सुनकै गहना लुट्नका लागि हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने । मृतक कार्कीले विगत केही वर्षदेखि खाजा, किराना पसलसँगै रक्सी पसल सञ्चालन गरेको र हत्यामा संलग्न भएका व्यक्तिहरु ग्राहक बनेर उक्त पसलमा आउने गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न व्यक्तिहरुले मृतक कार्कीको चार वटा सुनको औँठी र रु ४५ हजार नगद लुटेका थिए । हत्यामा संलग्न राजकुमार थापामगर भने अझै फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।