टिप्पणी मंगलबार, असोज १४, २०७६

नेपाली पहिचानकाे सामर्थ्य

हिमालखबर

शासकको  दैवी सर्वोच्चता प्रधान मानिने प्राचीन अवधारणाबाट प्रशिक्षित नेपाल अहिले नागरिक नै स्थायी शक्ति भएको युगमा छ र सामाजिक अन्तरघुलन यहाँको मूल प्रवृत्तिा एवं विशेषता बनेको छ।

‘राज्य’ र ‘राष्ट्र’ लाई समानार्थीका रूपमा प्रयोग गरिने प्रचलन भए पनि राजनीतिशास्त्रीय वा समाजशास्त्रीय चिन्तनमा यी दुई शब्दले फरक अर्थ दिन्छन् । राज्यका रूपमा नेपाललाई बुझ्दा यसले वर्तमान समयको अन्तर्राष्ट्रिय भौतिक सिमाना, जनसंख्या, सरकारको अस्तित्व, सुरक्षा र सार्वभौमिकतातर्फ लैजान्छ । राज्य एउटा विहङ्गम अवधारणाका रूपमा उभिन आइपुग्छ । राज्यको यो अर्थ राजनीतिक हो ।

टीका ढकाल

राष्ट्रका रूपमा नेपाललाई अथ्र्याउँदा भौगोलिक सीमाभित्र बस्ने नागरिक बीचको जातीय, भाषिक, सांस्कृतिक विविधताको उपस्थिति बुझ्न्छि । यो चाहिं सामाजिक राज्य हो । अर्थात्,  राज्य समष्टि हो भने राष्ट्र व्यष्टि ।

राष्ट्रहरूको ‘अंश’ जोडिएर राज्यको ‘पूर्ण’ निर्माण हुन्छ वा राज्यको पूर्णताभित्र स–साना पहिचानका अंश भेट्न सकिन्छ, जसको विनिर्माण मार्फत नागरिकको व्यक्तिगत अस्तित्वसम्म पुग्न सकिन्छ । राज्य र राष्ट्र दुवैको न्यूनतम इकाई भने व्यक्ति नै हो । त्यसैले आधुनिक लोकतन्त्रमा व्यक्ति नै सर्वोपरि हुन्छ ।

राज्यको अवधारणाले पहिचानका थुम्कालाई आलिङ्गनमा बाँधेर सिंगार्छ, हरेक अंशलाई पूर्णतातिर यात्रा गर्न प्रेरित गर्छ । राष्ट्रले चाहिं हरेक फरक चिनारीको आलोकमा पृथक् समष्टिको खोजी गर्छ । त्यसैले, संसारका अधिकतर राज्यको जस्तै नेपाली राष्ट्रियताको परिभाषा पनि ‘समग्र र विविध’ वा ‘पूर्ण र अंश’ बीचको यस्तै अन्तरसम्बन्धबाट जागृत हुन्छ ।

राज्य र समाजको अन्तरसम्बन्ध

राजनीतिको आवश्यकताले राज्य वा राष्ट्रको परिभाषालाई निर्देशित गर्दछ । अझ स्पष्टसँग भन्ने हो भने शासकहरूले आफूलाई निरन्तर शक्तिको केन्द्रमा राख्न राष्ट्रिय ‘सत्य’ हरूको निर्माण र तिनको सामाजिकीकरण गर्छन् । नेपालमा मात्र होइन, हरेक युगमा संसारभरिका शासकले यही गरिआएका छन् ।

समाजलाई राज्यमा परिणत गरिने प्रक्रियाको राजनीतिशास्त्रीय व्याख्या गर्न तीन खालका सिद्धान्त प्रयोग हुन्छन् । मनु, कौटिल्य, भर्तृहरि, प्लेटो, माकियाभेली, मन्टेस्क्यु लगायतका पौरस्त्य वा पाश्चात्य प्राचीन र मध्यकालीन विद्वानहरूले राज्यशक्तिको निरङ्कुश प्रयोगबाट भूगोलभित्रका सामाजिक ‘अंश’ लाई जोडेर केन्द्रीकृत सत्ता निर्माण गर्दै ‘पूर्ण’ राज्य बन्ने सिद्धान्त अघि सारे । नागरिकको सुरक्षा गर्न सक्ने दैवी चिह्न भएको बलशाली व्यक्तिको नेतृत्व मानेर ऊसँग जनताले गर्ने सामाजिक करारलाई राज्य निर्माणको आधार मान्नुपर्ने उनीहरूको मत थियो ।

यस विपरीत आधुनिक फ्रान्सेली दार्शनिक मिशेल फुकोले चाहिं शक्तिको वैन्यासिक अस्तित्व हुने सिद्धान्तको व्याख्या गर्दै हरेक व्यक्तिभित्र शक्तिको केन्द्र रहने विचार प्रकाशमा ल्याए । फुकोको मत अनुसार शक्ति सर्वत्र उपस्थित हुन्छ । महात्मा गान्धीले व्यक्तिको सत्य सम्बन्धी सार्वभौम चेतनालाई निश्चित उद्देश्यमा केन्द्रित गरेर समाज र बाहिरी जगतलाई प्रभावित गर्न सकिने विचार एवं प्रयोग दिए ।

प्राचीन मतले राज्यको दैवी अवधारणासँगै शासकको दैविक अधिकारको वकालत गर्‍यो, जसलाई आधुनिक समाजले मूलतः अस्वीकार गरिसकेको छ । सारमा अराजकतावादी जस्तो देखिने फुकोको विचारले विकेन्द्रित शक्तिको उपस्थितिलाई मान्दछ ।

गान्धीको विचारले अनुशासित व्यक्तिको सर्वोच्च चेतनाद्वारा परिवर्तनको बाटो निर्माण हुनुपर्ने विचार अँगाल्छ । दुवैको निष्कर्ष राज्यको अन्तिम इकाई समाज नभएर व्यक्ति हो, व्यक्तिभित्र नै शक्तिको अन्तिम स्रोत हुन्छ भन्ने नै हो । फरक भने त्यो शक्ति अभिव्यक्त हुने तरिकामा हो ।

फुकोको विचारले अमेरिकी स्वाधीनता संग्राम, फ्रान्सेली क्रान्ति, बेलायतको गौरवमय क्रान्तिदेखि पूर्वी युरोपमा लोकतान्त्रिक परिवर्तनसम्मको व्यक्ति–राज्य शक्ति सम्बन्ध व्याख्या गर्न सकिन्छ । गान्धीको विचारबाट भारतीय स्वाधीनता संग्रामको एउटा पक्ष (अर्को पक्ष हिंसात्मक पनि थियो), मार्टिन लुथर किङ जुनियरको नेतृत्वमा सञ्चालित अमेरिकी नागरिक अधिकार आन्दोलन, दक्षिण अफ्रिकाको रङ्गभेद विरोधी क्रान्तिदेखि लोकतन्त्र र मानवअधिकारका अनेक शान्तिपूर्ण आन्दोलनको विश्लेषण गर्न सकिन्छ । नेपालले विगत सत्तरी वर्षमा यी दुवैखाले प्रयोग देखेको र भोगेको छ । 

नागरिक स्वतन्त्रताका लागि आजपर्यन्त भएका क्रान्तिले व्यक्तिको शक्तिलाई एकत्र गरेर अजेय ठानिएका सत्ता ढालिदिएका छन् । फुको र गान्धी दुवैको सिद्धान्तले व्यक्तिभित्र रहेको यो ‘एजेन्सी’ लाई चिन्यो र परिभाषित गर्‍यो । एक्लो व्यक्तिसँग सत्ताको विपक्षमा विद्रोह गर्ने सामथ्र्यको स्रोत यही ‘एजेन्सी’ हो ।

व्यक्तिको सामथ्र्य चिनेपछि उसलाई व्यष्टिको अन्तिम इकाईका रूपमा व्यवहार गरेर राज्यको समष्टिमा सामेल गर्ने प्रयत्न सम्भव हुन्छ । राजनीतिक इकाईको रूपमा राज्य सार्वभौमिक छ र सार्वकालिक । राज्यको अस्तित्व जस्तै सार्वभौम चीज चाहिं सामाजिक र राजनीतिक परिवर्तन हो । व्यक्तिबाहेक राज्यभित्र स्थायी केही पनि छैन, हुँदैन । ‘सामाजिक’ पनि ‘व्यक्तिगत’ भन्दा छिटो परिवर्तन हुन्छ । व्यक्तिका स्वभाव र आचरण समय अनुसार प्रभावित हुन्छन् भन्ने गरिए पनि वास्तवमा समयलाई व्यक्तिले नै परिवर्तन गराउँछ ।

यही परिवर्तनको निरन्तरताले नेपाल राज्यको सामाजिकतालाई प्रभावित गरेको छ । पृथक् सामाजिक–सांस्कृतिक सम्बन्धबाट प्रशिक्षित मानिसहरू आफूभित्रको शक्ति जोड्न सङ्गठनमा आबद्ध हुन्छन्, जुलूस निकाल्छन्, माग राख्छन् । यसले एकातिर परिवर्तनको प्रक्रियालाई बढावा दिन्छ भने अर्कोतिर व्यक्तिको अन्तरक्रियात्मक सामाजिकीकरणलाई प्रोत्साहित गर्छ । राजनीतिक राज्य निर्माण सकिएपछि राज्यभित्रको समाज अर्थात् सामाजिक राज्य विस्तारै गतिशील हुन थाल्छ ।

प्राचीन इतिहासदेखि नै नेपालको सामाजिकता व्यक्तिगत, जातीय सांस्कृतिक सम्बन्धहरूको अन्तरघुलनमा आधारित छ । इतिहासको परिशीलनबाट नेपाल राज्यभित्रको साझ सामाजिक तत्वको यस्तो शृंखला नियाल्न सकिन्छ ।

नेपाल हेर्ने आँखा

यतिबेला नेपाल राजनीतिक राज्यबाट राष्ट्र–राज्य बन्ने प्रक्रियामा हिंडिरहेको छ । यो यात्रामा देशी–विदेशी लेखक, साहित्यकार, दार्शनिक, नागरिकले विभिन्न स्वरूप र आकृतिमा नेपालको परिकल्पना गरिरहेका छन् । ती सबैलाई एकैसाथ हेर्न सम्भव नभए पनि मूल प्रवृत्ति समातेर नेपाल र नेपालीपनका तत्व समात्न सकिन्छ ।

राष्ट्रसँग गाँसिएर आउने विम्ब वा प्रतीकहरूले यसै पनि उदात्त परिकल्पना जगाउँछन् । तिनको उपादेयता नै त्यही भावनाका लागि हो । त्यस्तो परिकल्पनाभित्र पसेपछि मात्र एउटा राष्ट्रले बाँचेको सुख र दुःखको वास्तविकता देख्न सकिन्छ । राष्ट्रको जीवन भन्नु नै नागरिकले बाँचेको जीवन हो । नेपाल र नेपालीलाई हेर्ने र परख गर्ने मापदण्ड पनि यही नागरिक जीवनस्तर नै हो ।

गौतम बुद्धको प्रभाव बोकेका शाक्य राज्यहरु, कर्णाली केन्द्र भएको माध्यमिककालीन सिंजा साम्राज्य, नेपालमण्डल वा काठमाडौं उपत्यकासँग पूर्वको किरात सभ्यताको अन्तरघुलन र प्राचीन मिथिलाबाट विस्तारित जबर्जस्त सांस्कृतिक प्रभावबाट वर्तमान नेपालको समवेत सामाजिक चिनारी बनेको देखिन्छ ।

सगरमाथाको देश, बुद्ध जन्मेको देश, हिमाल–पहाड–तराईको सङ्गम देश, १२३ जातजाति भएको विविधतापूर्ण देश, १०० भन्दा बढी भाषाभाषी भएको देश, प्राकृतिक सम्पदायुक्त देश आदि विशेषणले नेपालको महŒव जनाउँछ । तर, यहाँका नागरिकले भोगेको दुःख, पूर्वाधारको अविकास, गरीबी, सामाजिक पछौटेपन लगायतले लघुताभास पनि उत्तिकै महसूस गराउँछ । यो यथार्थमा २००७ सालपछि निरन्तरजसो चलिरहेको राजनीतिक संक्रमणले नेपाली हुनुको पीडा बरोबर बल्झउँछ ।

वर्तमानको सुख–दुःखसँग इतिहासलाई घोलेर हेरे मात्र नेपाल हेर्ने दृष्टि निर्माण गर्न सकिन्छ । हरेक राष्ट्रले आ–आफ्नै प्रकारको सजिलो वा अप्ठ्यारो भोगिरहेको हुन्छ । आत्मसम्मान र आत्मविश्वासका लागि नेपालको गौरवपूर्ण इतिहास छ । समृद्ध भविष्यका लागि जातीय, भाषिक, प्राकृतिक विविधता छ । यी सबैको मेलबाट विश्वमा नेपालको अलग अर्थ–राजनीतिक एवम् सांस्कृतिक पहिचान पनि बनिसकेको छ । 

 पाँच सभ्यता, एक संस्कृति 

वर्तमान स्वरूपको नेपाल हुँदा होस् वा फरक स्वरूपको नेपालमा; राष्ट्र निर्माणका अनेक प्रयास भएका छन् । यी मान्यताका आधारमा आधुनिक नेपाललाई पाँच वटा मुख्य सभ्यता र बोन संस्कृतिको आपसी मिश्रणबाट बनेको राज्य भन्न सकिन्छ ।

गौतम बुद्धको प्रभाव बोकेका शाक्य राज्यहरू, कर्णाली केन्द्र भएको माध्यमिककालीन सिंजा साम्राज्य, नेपालमण्डल वा काठमाडौं उपत्यका, पूर्वको किरात सभ्यताको अन्तरघुलन र प्राचीन मिथिलाबाट विस्तारित जबर्जस्त सांस्कृतिक प्रभावबाट वर्तमान नेपालको समवेत सामाजिक चिनारी बनेको देखिन्छ । यी सबैमा नेपालभित्रै विकसित बोन परम्पराको सामाजिक प्रभाव त्यत्तिकै छ । मुलुकभित्रका जातीय विविधताहरू यिनै पाँच सभ्यता र एक संस्कृतिसँग कुनै न कुनै रूपले सम्बन्धित छन् ।

पश्चिममा हालको जुम्ला केन्द्र भएर विस्तारित सिंजा राज्यका धेरै खस मल्ल अभिलेखहरू ‘ॐ मणिपद्मे हुम्’ र ‘ॐ स्वस्ति’ बाट एकसाथ शुरू हुन्छन् । यिनैमध्येका पुण्य मल्लको शक संवत् १२५९ वैशाख शुक्ल त्रयोदशीमा जारी बिर्ता कनकपत्रमा ‘बुद्ध धर्म संघ’ लाई साक्षीका रूपमा उल्लेख गरिएको छ ।

नेपालसँग केही खास क्षेत्रलाई ‘सफ्ट पावर’ मा बदल्ने अवसर छ । पूर्वी एशियाली देशसँगको सम्बन्धमा बौद्ध धर्म र दर्शनमाथि गरिने अध्ययन, अनुसन्धान र पर्यटनको थलो नेपाल हुन सक्छ । बुद्ध जन्मस्थल हुनु स्वयंमा ‘सफ्ट पावर’ होइन, त्यो ख्यातिलाई बौद्ध ज्ञानको परिशीलन, विकास र प्रसारमा बदलेर बाँकी दुनियाँलाई प्रभावित गर्न सक्नु चाहिं साँचो अर्थमा ‘सफ्ट पावर’ हो ।

नेपालको वर्तमान सरहदभित्र उदाएका इतिहासका अनेक राज्यमध्ये सिंजाको खस मल्ल राज्य मात्र साम्राज्य भन्न सकिने स्तरमा विकसित थियो भनी इतिहासविद् डा.महेशराज पन्तले लेखेका छन् । आफ्नो उत्कर्ष कालमा सिंजा राज्यको सिमाना पूर्वमा त्रिशूली, पश्चिममा गढवाल, दक्षिणमा लुम्बिनी र उत्तरमा मानसरोवरसम्म फैलिएको थियो भन्ने प्रमाण पनि पन्तले पेश गरेका छन् । वास्तवमा हिन्दू र बौद्ध धर्मको मिश्रण नेपाली समाजमा यहींबाट व्यापक हुन थालेको हो ।  

इतिहासकार इमानसिंह चेम्जोङले पूर्वको किरात परम्परा सम्बन्धी अनेक अभिलेख प्रकाशमा ल्याए । उनले नेपालीमा अनुवाद गरेको अठारौं शताब्दीका लिम्बू लिपिका आविष्कारक सन्त सिरिजंगाको उपदेशमा परेका वाक्यहरूले हिन्दू र बौद्ध परम्पराका धेरै प्रणाली आत्मसात् गरेका छन् । 

लिम्बू जातिलाई सम्बोधन गर्दै उनी भन्छन्– ‘याक्थुङ साहाँ खेप्सेम्मे ओ । श्री मुबोक्वामा । लामा गुरु लोक्ता मुन्धुम पिरुङ्सिङ्लो’ (सबै याक्थुङ्हरूले सुन । श्री ईश्वरले लामा गुरुले (मलाई) दिएको शास्त्र दिंदैछु ।)

उपदेशका कतिपय स्थानमा उनी लामा गुरुलाई नमस्कार गरिरहेका पाइन्छन् । कतै दार्शनिक देखिन्छन् त कतै गाउँको सफाइमा ध्यान देऊ भनेर सिकाइरहेका भेटिन्छन् । ‘ॐ’ शब्दको प्रयोग व्यापक छ । त्यसो त किरात शब्द आफैंमा प्राचीन हो । नेपालभित्र लिच्छवि शासनअघि किरात राज्य रहेको मानिन्छ भने पौरस्त्य साहित्यमा किरात शब्दका प्रयोग अनगिन्ती छन् ।

सिरिजंगाको समयसम्म आइपुग्दाचाहिं स्थानिक परम्परासँग हिन्दू र बौद्ध प्रभाव मिसिएर नयाँ किरात परम्परा विकास भएको पाइन्छ, जसको उपस्थिति नेपालको पूर्वी भाग, दार्जीलिङ, सिक्किम हुँदै म्यान्मारसम्म विस्तारित छ । तीन वर्षअघि भारतको सिक्किममा ‘महात्मा सिरिजंगा तेओङ्सी’ को विशाल सालिक निर्माण गरिएको थियो । सिक्किममा उनलाई किरात लिपिको विकास गर्ने ज्ञानी एवम् समाज सुधारक सन्त मानिन्छ ।

पूर्वमा सिरिजंगाको समय वरिपरि काठमाडौं उपत्यकाभित्रका मल्ल राजाहरू हिन्दू र बौद्ध परम्पराका रक्षक थिए । यही समयमा काठमाडौंमा तिरहुत तथा मैथिली संस्कृतिको प्रभाव सघन भयो । नेवारी भाषा र संस्कृतिलाई यस क्षेत्रका अन्य विविधतासँग परिचित गराएर उनीहरूले सामाजिक अन्तरघुलनको बाटो एकसाथ खोलिदिए । मल्ल राजाहरूले मैथिली रचनाहरू मात्र गरेनन्, विविधतापूर्ण कला र संस्कृतिको प्रवद्र्घन पनि गरे, जसले कालान्तरमा फरक सामाजिक अस्तित्वप्रति सहिष्णुता र सम्मानको भावना बढायो । यी ऐतिहासिक प्रवृत्तिले नेपाली समाजका अनेक मानवीय अवयव बीचको पारस्परिक सहसम्बन्ध बुझ्न सजिलो बनाउँछ ।

इतिहासको एक चरणमा नेपाललाई असली ‘हिन्दुस्थान’ बनाउन जातीय तहलाई रेखाङ्कित गरेर दलित र गैरदलितबीच विभेदको पर्खाल खडा गरियो । शताब्दियौं लामो विभेदको त्यो शृंखला २०२० सालको मुलुकी ऐनसँगै गैरकानूनी बन्यो । तर, कानूनले वर्जित र दण्डनीय बनाए पनि सामाजिक अभ्यास र व्यक्तिगत आचरणमा रूपान्तरण हुन अझै केही पुस्ता पर्खिनुपर्ने देखिन्छ । राज्य वा कानून व्यक्तिगत सम्बन्धमा सजिलै छिर्न सक्दैन । देशमा जातीय विभेद छ, तर घट्दो छ ।

आजको नेपाली समाजको मूल प्रवृत्ति चाहिं सामाजिक अन्तरघुलन नै हो । विभेदको उदाहरण मात्र देखाएर मूल प्रवृत्तिलाई अस्वीकार गर्न सकिने परिस्थिति अब बाँकी छैन ।

‘सफ्ट पावर’

नेपाल कुनै आर्थिक वा सामरिक शक्तिराष्ट्र होइन । आकार वा जनसंख्याले पनि मध्यमस्तरको देश मात्र हो । पहिचानका लागि संघर्षरत राष्ट्रले आफ्नो क्षमता चिन्नुपर्छ । त्यसो भए नेपालको सौम्य शक्ति अर्थात् ‘सफ्ट पावर’ के हो ? नेपालको चिनारी निर्माण गर्न चाहने चेतनशील समाज, थिङ्क ट्याङ्क र सरकारहरूले निरन्तर गर्नै पर्ने काम यही हो ।

नेपालसँग केही खास क्षेत्रलाई ‘सफ्ट पावर’ मा बदल्ने अवसर छ । पूर्वी एशियाली देशसँगको सम्बन्धमा बौद्ध धर्म र दर्शनमाथि गरिने अध्ययन, अनुसन्धान र पर्यटनको थलो नेपाल हुन सक्छ । बुद्ध जन्मस्थल हुनु स्वयंमा ‘सफ्ट पावर’ होइन, त्यो ख्यातिलाई बौद्ध ज्ञानको परिशीलन, विकास र प्रसारमा बदलेर बाँकी दुनियाँलाई प्रभावित गर्न सक्नु चाहिं साँचो अर्थमा ‘सफ्ट पावर’ हो ।

नेपाल संसारको तेस्रो ध्रुव मानिने हिमालय क्षेत्रको प्रमुख राष्ट्र हो । सगरमाथा सहित विश्वका सर्वोच्च शिखरहरू रहेको यो क्षेत्र जलवायु परिवर्तनका कारण जोखिममा छ । नेपालले यस सम्बन्धी वकालत, जोखिम सामना गर्ने प्रविधि र पर्वतीय अनुसन्धानमा नेतृत्व लिएर आफ्नो भौगोलिक अवस्थितिलाई शक्तिमा बदल्न सक्छ ।

भूराजनीतिक अनुसन्धान पनि नेपालका लागि अर्को ‘सफ्ट पावर’ विकासको क्षेत्र हुनसक्छ । स्क्यान्डिनेभियन मुलुकहरूले विश्व शान्ति, द्वन्द्व व्यवस्थापन र मानव विकासलाई आफ्नो ‘सफ्ट पावर’ बनाएका छन् ।

स्वाधीन, गौरवशाली इतिहास, सामाजिक र जैविक विविधता पनि हाम्रो सफ्ट पावर हो । यिनै शक्तिको पहिचान गर्दै त्यसबाट ज्ञान उत्पादन गर्ने कौशलले मात्र नेपाल विश्व समुदायमाझ् सम्मानित बन्न सक्छ । राज्यको अस्तित्व, सामाजिक अन्तरघुलन र भौगोलिक अवस्थितिबाट आफ्नो पहिचान कायम राख्दै अगाडिको बाटो खोल्न सक्छ ।

प्रतिकृया दिनुहोस