रिपोर्टसोमबार, १३ आश्विन , २०७६

यी हुन् नयाँ पुस्ताका लाखे

शुष्मा बराली

विविध पेशा–व्यवसायमा रहेका युवाहरू जीउ फालेर खाली खुट्टा नाच्नुपर्ने भएकाले लाखे नाच देख्दा जस्तो सजिलो नरहेको बताउँछन्।

उत्तमरत्न शाक्य मूर्तिकार हुन् । आफ्नो संस्कृतिप्रति औधी मोह छ– उनलाई । यही मोहले ‘कार्तिक नाच’ को नर्तक बन्न प्रेरित गर्‍यो ।

२०३९ सालमा कार्तिक नाच नाच्न थाल्दा उनी १६ वर्षका मात्र थिए । शाक्य अहिले ‘कार्तिक नाच’ सँगै ‘लाखे नाच’ मा समेत नृत्य गर्छन् । यसबेला उनी यो मौलिक परम्परा नयाँ पुस्तालाई सिकाउन व्यस्त छन् ।

पाटनको ऐतिहासिक लाखे नाच लोप भएपछि, संस्कृति जगेर्ना हेतु २०७५ सालमा ‘यल लायकु मिप्वा लाखे पुचः (नाच)’ संस्था स्थापना गरे । “व्यावसायिक हिसाबले म कालिगड हुँ, मूर्ति बनाउँछु तर संस्कृति बचाउनकै निम्ति स्थापना गरिएको यस संस्थामा नै अधिकांश समय बिताउँछु”, उनले हाँस्दै भने ।

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वका अवसरमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । जामा, चोलो र कम्मरमा लगाइने घँगला र हातमा लामो रुमालसँगै टाउकोमा मुखुन्डो लाखेको पहिरन हो । विविध पेशा–व्यवसाय अँगालेर दैनिकी चलाइरहे पनि लाखे नाचमा नृत्य गर्दै आएका युवाहरू जीउ फालेर खाली खुट्टा नाच्नुपर्ने भएकाले लाखे नाच देख्दा जस्तो सजिलो नरहेको बताउँछन् ।

संस्कृतिविद् विनोदराज शर्माका अनुसार भैरवको दायाँ–बायाँ बसेर दानवलाई तर्साउने, कुटपिटबाट जोगाउने लगायतका काममा सहयोग गर्न लाखेको प्रयोग गरिएको हो । किंवदन्ती अनुसार जयस्थिति मल्लका छोरा जयधर्म मल्लको विवाहका अवसरमा नाटक देखाउने क्रममा पहिलो पटक लाखे नाच देखाइएको थियो ।

पविन रञ्जितकार ।

राजिव रञ्जितकार (३७) सुनचाँदी व्यवसायी हुन् । १६ वर्षको भएदेखि लाखे नाच्न शुरू गरेका रञ्जितकार अहिले नयाँ पुस्तालाई लाखे नाच अभ्यास गराउने काम गर्छन् । ‘मजिपात लाखेननी टोल सुधार समिति’ का नाइके समेत रहेका रञ्जितकार भन्छन्, “लाखे नाच संरक्षण गर्न पुर्खादेखि नै सक्रिय छौं । संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।”

राजेश प्रजापति (३०) माटोका भाँडा बनाउने काम गर्छन् । बिहानै उठेर अघिल्लै दिन तयार गरेर राखिएका माटो चक्रमा राखेर विभिन्न भाँडाकुँडा बनाउनु उनको दैनिकी हो । ‘भैरव नाच’ नाच्न पारङ्गत प्रजापति साउन अन्तिमदेखि नेवार समुदायका विभिन्न पर्व, जात्राहरूमा नाच्न व्यस्त हुन्छन् ।

“हाम्रो संस्कृति अनुसारका हरेक नृत्यहरू नाचे पनि पोहोर सालबाट ‘लाखे नाच’ समेत नाच्न शुरू गरेको छु”, उनले भने । विभिन्न देवी–देवताको अवतार बनेर नाच्दा फरक अनुभव हुने गरेको बताउने प्रजापति भैरव नाच र लाखे नाचमा निकै भिन्नता देख्छन् । उनी भन्छन्, “भैरव नाचमा गरिने ‘स्टेप’, हात–खुट्टाको चाल सुस्त हुन्छ; लाखे नाचमा शरीर निकै हल्लाउनुपर्ने भएकाले निकै ऊर्जा चाहिन्छ ।” आफ्नो संस्कृति जोगाइराख्नुपर्छ भन्ने महसूस भएपछि लाखे नाचप्रति आकर्षित भएको उनले बताए ।

अनिल महर्जन ।

रिजन महर्जन (२२) डिजे हुन्, लाखे नाच्ने समय शुरू भएपछि उनी दुई महीना बिदा लिएर ‘लाखे नृत्य’ को अभ्यास गर्छन् । १४ वर्षको उमेरदेखि लाखे नाच्न थालेका महर्जनले यसपालि पनि लाखे नाचको तयारी गरिरहेका छन् । उनी संस्कृतिको जगेर्ना गर्नकै लागि नाच्न थालेको बताउँछन् । पहिलो पटक लाखे नाच नाच्दा निकै डर लागेको अनुभव उनी सुनाउँछन् ।

उनी भन्छन्, “नाचका स्टेपहरू सिके पनि आफूमा आत्मविश्वास हुँदैनथ्यो । पहिले मनमा एक प्रकारको डर हुन्थ्यो, अहिले त धेरै वर्ष भयो सामान्य नै लाग्छ ।” लाखे नाच्दा मदिरा पिउँछन् भन्ने भनाइ गलत रहेको उनी बताउँछन् । “सगुनको रूपमा एक घुट्की देवताको प्रसादको रूपमा खाने कुरा अर्कै हो, तर मद्यपान गरेर भने नाच्दैनौं”, उनले भने ।

काेशिस ताम्राकार ।

कोशिश ताम्राकार (२०) ललितपुरस्थित ‘ट्रेडिशनल स्वाथा’ रेस्टुरेन्टका ‘सेफ’ हुन् । उनको दैनिकी भनेको खानाका विभिन्न परिकार बनाएर ग्राहकको स्वाद र सन्तुष्टि पूरा गर्नु हो । कोशिश लाखे नाच्न थालेको चार वर्ष भइसक्यो ।

उनी लाखे र कार्तिक दुवै नाचमा नृत्य गर्छन् । सानै उमेरदेखि सम्पदा, संस्कृति मनपर्ने भएकाले उनी संस्कृतिको अभिन्न अङ्ग बनेका यस्ता नृत्यप्रति आकर्षित भएको बताउँछन् । उनले हाँस्दै भने, “लाखे नाच्न खाना पकाउन जस्तो सजिलो कहाँ छ र ?”

रिजन महर्जन ।

लाखे नाचको अभ्यासका लागि एक महीना पूरा लाग्ने उनी बताउँछन् । “मुखुन्डोले अनुहार छोपेकाले पसिनैपसिना मात्र होइन टाउको भारी पनि हुन्छ; छेउछाउकाले जिस्क्याउँदा पनि सहेर बस्नुपर्छ अन्यथा नाचप्रतिको एकाग्रता भङ्ग हुनसक्छ”, उनले भने । लाखे नाच्नुभन्दा अगाडि मानसिक र शारीरिक रूपले तयार हुनुपर्ने भएकाले अघिल्लो दिनदेखि नै कुखुराको मासु र अन्डा खान छोड्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, “हाम्रो देउताले कुखुरा र अन्डा चोखो मान्दैनन् ।”

पविन रञ्जितकार (२५), लाखेननीमा बस्छन् । ‘क्लाउड फ्याक्ट्री’ मा कार्यरत रञ्जितकारले १६ वर्षको उमेरदेखि नै लाखे नाच्न शुरू गरेका हुन् ।

उनी लाखे नाच्दा आफूभित्र अदृश्य शक्ति आएको महसूस हुने अनुभव सुनाउँछन् । अन्य ठाउँ भन्दा काठमाडौंको लाखे नाच फरक हुने बताउँदै उनी भन्छन्, “लाखे नाच्नेले ४५ केजी तौलको पोशाक लगाएर स्फूर्ति साथ नाच्न निकै मिहिनेत गर्नुपर्छ ।”

एक दिनको लाखे नाचका लागि सबै लाखेहरूले पालैपालो नाच्ने गरेको उनी बताउँछन् ।

रञ्जितकार भन्छन्, “एक जना मात्र लाखे नाच्न गाह्रो हुन्छ, गह्रौं पोशाक पहिरिएर उफ्रिंदै नाच्दा शरीर थाक्ने भएकाले दुईदेखि तीन घन्टासम्म पालैपालो नाच्ने गरिन्छ ।”

अनिल महर्जन (२३), लाखे नाच्न थालेको दुई वर्ष भयो । ‘ह्याण्डिक्र्याफ्ट’ व्यवसाय गरिरहेका महर्जन हरेक वर्ष दुई महीना लाखे नाचको तयारीका लागि छुट्याउँछन् ।

उनले लाखे नाच्दा छुट्टै खालको उत्साह पैदा हुने गरेको अनुभव गरेका छन् । भोलिको पुस्तालाई जानकारी दिन र संस्कृति संरक्षण गर्न पनि लाखे नाच नाच्नुपर्छ । उनी भन्छन्, “लाखे नाच्नु भनेको एउटा उत्साह हो र ठूलो जिम्मेवारी पनि ।”

प्रतिकृया दिनुहोस