दुई वर्षभित्र मुख्यमन्त्रीहरुलाई राजधानीमै आवास, झण्डै एक अर्ब खर्च गरिने
दुई वर्षभित्र ललितपुरको सैंबु आवास क्षेत्र, भैंसेपाटीमा मुख्यमन्त्रीहरुका लागि आवास निर्माण हुने भएको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय निवासको निर्माण कार्य शुरु भएको छ । ९७ करोड एघार लाख लागतको भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिल्यान्यास गरेका छन् ।
कूल २७ रोपनी १२ आना क्षेत्रफलमा बन्ने आवास निर्माणको ठेक्का ‘केसी समान्तर जेबी कम्पनी’ले पाएको छ ।
सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीन तले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बनाइने भएको छ ।
भ्वनको शिल्यान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए ।
लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पु¥याउने पनि प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीको भनाइ थियो, “हामी देखिने गरी सामाजिक रूपान्तरण र परिवर्तनको दिशामा छौँ । अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला ।”
“हरेक दिन नेपाल एक कदम अगाडिको नारा मैले दिएको छु । ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ । गैरमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ”, प्रधानमन्त्री ओलीले भने ।