टिप्पणी सोमबार, असोज १३, २०७६

कहिल्यै जनै नलगाएको बाहुन

हिमालखबर

विवाह गरेर दुई बच्चा ठूला भइसक्दा पनि ‘बर्तमन गर्नुपर्छ’ भन्ने आग्रह आउन अहिलेसम्म बन्द भएको छैन, खासगरी ससुरालीतर्फबाट।

विवाह हुँदा केटी पक्षलाई हिन्दू धर्म अनुसार छोरा मान्छेले विवाहअघि अनिवार्य गर्नुपर्ने यो कर्म मबाट नभएको थाहा भएन । विवाह भएको धेरैपछि कुनै प्रसङ्गमा मबाटै यो कुरा खुल्यो । अनि, विवाह अघि गर्नुपर्ने कर्म अब कसरी गर्न सकिन्छ र धेरै झञ्झट नमोली कसरी सम्भव हुनसक्छ भन्ने जुक्ति सोच्न थालियो ।

बर्तमन (व्रतबन्ध) गर्नै हुँदैन, कुनै हालतमा गर्दिनँ भन्ने मेरो विचार पनि छैन । गर्दा सबैको चित्त बुझ्छ भन्ने गरिदिउँला भन्ने लागेको छ । तर, अहिलेसम्म साइत जुरेको छैन ।

सिन्धुली भिमानमा रहेको घरमा जन्मेको ११ दिनमा अरू केटाहरूको जसरी नै मेरो पनि न्वारान भयो । बुबा–आमाको उपस्थितिमा बाहुनले जन्म समय लगायत सबै विचार गरेर ‘ण’ बाट मेरो नाम शुरू हुने ठहर गरे । यस हिसाबले हिन्दू धर्म अनुसार गरिने मेरो पहिलो कर्म पूरा भयो ।

पञ्चायत विरुद्ध राजनीतिमा लाग्नुभएको मेरो बुबा ऋषिराज देवकोटा ‘आजाद’ म जन्मेको केहीपछि नै जेल पर्नुभयो । छुटेपछि भूमिगत हुनुभयो । त्यसको केहीपछि सरकारले हात्ती लगाएर हाम्रो घर भत्काइदियो, बाली नष्ट गरिदियो । त्यसपछि हाम्रो परिवार कहिले बुबा संलग्न कम्युनिष्ट पार्टीका कार्यकर्ताको घरमा शरणार्थी भयो त कहिले भारत निर्वासनमा गयो ।

त्यो दौडादौडमा न बुबाआमालाई मेरो बर्तमनबारे सोच्ने फुर्सद भयो, न त्यसको आवश्यकता नै महसूस भयो । अहिले मैले बुझदा, त्यो वेला कम्युनिष्ट हुनु सम्पूर्ण परम्परा विरुद्ध अविश्वास र विद्रोह गर्नु थियो ।

त्यसैले, बर्तमनको अनिवार्यता प्रति मेरा अभिभावकमा विश्वास हुने कुरै भएन । तर, न्वारान गराउनुभएकाले संस्कारहरूप्रति उहाँहरू नकारात्मक नरहेको पनि देखाउँछ, भलै सामाजिक स्वीकार्यताका लागि नै त्यो गरिएको किन नहोस् ।

बुबालाई पञ्चायती सरकारले हत्या गरेपछि हाम्रो परिवार तत्कालीन नेकपा (माले) को आश्रयमा पुग्यो, जतिबेला म ९ वर्ष पनि पुगेको थिइनँ ।

सुवास देवकाेटा

मालेका आश्रयस्थलहरू कम्युनिष्टमय थिए । आमा र भाइबहिनीबाट अलग्याएर मलाई विभिन्न आश्रयस्थल लगियो । तिनै आश्रयस्थलमा बसेर स्कूल शिक्षा पूरा गरें । कतिपय आश्रयदाताका घरमा हिन्दू संस्कारका कर्म हुन्थे ।

तर, बर्तमन पारिवारिक कार्य भएकाले अरूबाट त्यस्तो कार्य हुने कुरै भएन । यता, म कस्तो कम्युनिष्ट परम्परामा हुर्किएको थिएँ भने तीन वर्षपछि भेटेकी आमालाई खुट्टा ढोगेर होइन, लालसलाम गरेर अभिवादन गरेको थिएँ ।

यी विवरण दिएर मैले भन्न खोजेको– संस्कार, विश्वास, चालचलन आफू हुर्किएको परिवेशबाट निसृत हुँदोरहेछ । व्यक्तिको परिवेश वरिपरिको समाजभन्दा एकदमै भिन्न पनि हुनसक्ने रहेछ ।

त्यही समाजमा बाँचेका अधिकांश मान्छेभन्दा कुनै मान्छे भिन्न चेतना र विश्वास सहित टिकेको हुनसक्ने रहेछ । यस्तै, कुनै बेला निर्मित चेतना एवं मान्यता समय र नयाँ सामाजिक परिवेशले परिवर्तन पनि गर्दा रहेछ । जस्तै, तीन वर्षपछि भेट्दा आमालाई लालसलाम गरेको सम्झँदा अहिले मलाई आफूप्रति हाँसो उठ्छ ।

चेतना र विश्वासको कुरा गर्दा व्यक्तिको परिवेश परिवारकै अरूभन्दा फरक पनि हुनसक्दो रहेछ । जस्तो, मेरो ठूलो बहिनी कल्पना लामो समय पार्टीको एउटा समर्थकको घरमा बसेर पढिन् । त्यो घरको परिवेश आम नेपाली समाज जस्तै थियो । त्यही भएर उनी परिवेश अनुसारकै धर्म/कर्ममा विश्वासी भइन् । लामो समय कम्युनिष्ट राजनीतिमा भूमिगत जीवन बिताएकी मेरी आमा गोमा र मेरो बीचमा समेत यी विषयमा सोच र विश्वास मिल्दैनन् ।

उहाँको युवा उमेर कम्युनिष्ट भएर बिते पनि बाल्यकाल पहाडी गाउँको निकै परम्परागत पारिवारिक र सामाजिक वातावरणमा बित्यो । त्यसैले, कतिपय वेला उहाँमा संस्कारगत कुरा आइहाल्छ । चाडपर्व मान्ने, तिनलाई पुर्खाहरूले सिकाए अनुसार पूरा गर्ने, परम्परा अनुसार बोलाउनुपर्नेलाई बोलाउने जस्ता विषयमा उहाँ मसिनोसँग ध्यान दिएर कार्यान्वयन गर्नुहुन्छ ।

बाँचेको परिवेशको कारण हुनुपर्छ, म बाँचेकै समाजमा रहेका अनेक संस्कार र विश्वासले मलाई छोएन । पञ्चायतकालको बन्द समाज धेरै परम्परागत थियो । तर, त्यस्तो समय र समाजमा अरूसँगै हुर्केको म धेरैलाई अचम्म लाग्ने गरी भिन्न भएँ । मन्दिर गए पनि कुनै देवतालाई अहिलेसम्म ढोगेको छैन । जनै लगाएकै छैन ।

त्यसैले जनैपूर्णिमा जस्ता अनेक हिन्दू चाडको महत्व र सम्झ्ना हुने कुरै भएन । राति जङ्गल वा एकान्तमा हिंड्दा बिल्कुलै डर लाग्दैन भनेर फूर्ति लगाउँदिन । त्यस्तो वेला कुनै अज्ञात वस्तुको डर लागे पनि भूतप्रेत आउला भनेर मन र दिमागले कहिल्यै भनेन ।

दशैं र तिहारमा टीका लगाउँछु, तर त्यसलाई हिन्दू धार्मिक चाड मानेर होइन । ठूलो भएर आफ्नो गाउँ पुगेपछि थाहा भयो, देवकोटाहरूले अष्टमी र नवमीमा पूजा गर्ने चलन रहेनछ । आमाले रीतपूर्वक दशैंको जमरा राख्नुहुन्छ, रातो टीका निधारमा ढल्काएरै लगाइन्छ । छोराछोरी र आफूभन्दा सानालाई रीतपूर्वक नै टीका लगाइदिने गरेको छु ।

विगत थाहा हुनेमध्ये पनि मेरो यस्तो मनस्थिति र विश्वासबारे थोरैले मात्र अनुमान गर्न सक्छन् । पौडीपोखरी वा खोलामा नुहाउँदा शरीरमा जनै नदेखेर कैयौं साथी चकित भएको देखेको छु, अझ बर्तमन नै नगरेको थाहा पाउँदा उनीहरूको आश्चर्य अरू बढेको पाएको छु । “बाहुनको छोराले पनि बर्तमन नगर्ने र जनै नलगाउने हुन्छ ?” उनीहरूको प्रश्न हुन्छ ।

थाहा नहुने कैयौंले भने धर्म र परम्पराप्रति मेरो वैराग्यलाई शङ्काको दृष्टिले हेर्ने गरेको पनि पाएको छु । अर्कै नयाँ धर्म अँगालेकाले आफ्नो धर्म र संस्कृतिमा विश्वास नभएको होला भन्ने उनीहरूको बुझाइ हुन्छ ।

अहिले कैयौं कम्युनिष्ट नेताहरूलाई पाश्चात्य धर्म अपनाएको आरोप लगाइन्छ । जबकि, मैले बुझेसम्म भौतिकवादी कम्युनिष्ट विचारले सबै धर्मलाई अन्धविश्वास मान्छ । यो मान्यता भइसकेपछि एउटा धर्म छाडेर अर्को धर्म मान्ने सवाल नै उठ्दैन ।

अहिले कैयौं कम्युनिष्ट नेताहरूलाई पाश्चात्य धर्म अपनाएको आरोप लगाइन्छ । जबकि, मैले बुझेसम्म भौतिकवादी कम्युनिष्ट विचारले सबै धर्मलाई अन्धविश्वास मान्छ । यो मान्यता भइसकेपछि एउटा धर्म छाडेर अर्को धर्म मान्ने सवाल नै उठ्दैन ।

भारतमा हिन्दू अतिवादी राजनीतिक दल सत्तासीन भएपछि नेपालमा पनि त्यसका प्रभाव देखिन थालेका छन् । हिन्दूवादको झ्ण्डा उचालेर त्यसप्रति अलिकति नरम हुने वा म जस्तो नास्तिक माथि पाश्चात्य धर्म अँगालेको आरोप सोझै लगाउन थालिएको छ । यस्ता सोच र क्रियाकलाप नेपाली समाजलाई धार्मिक अतिवादतर्फ लैजाने प्रयास हो ।

तर, नेपाली हिन्दू त्यसमा पनि पहाडे हिन्दू विश्वास र परम्परा भारतको भन्दा निकै भिन्न छ । यसकारण पनि नेपाली समाज त्यो रूपमा कट्टर हिन्दू बन्ला भन्ने डर र विश्वास मलाई छैन ।

भारतमा हिन्दू इतरका धर्म मान्नेलाई घृणाको हद पार गरेर हेर्न र व्यवहार गर्न थालिएको छ । त्यहाँ हिन्दूपछि धेरै मानिसले मान्ने मुस्लिम धर्म मान्नेहरूको संख्या १४ प्रतिशत मात्र छ । यसैले पनि सत्तारुढ भारतीय जनता पार्टीले फुक्काफाल भएर आफ्नो अतिवादी नीति अघि बढाउन सकेको हुनसक्छ ।

तर, नेपालमा झण्डै एक तिहाइ जनसंख्या रहेको जनजाति समुदायको ठूलो हिस्सा बौद्ध, किराँत र आफ्नै खालको विश्वास र संस्कारमा बाँचेको छ । त्यसैले नेपालमा ‘जय श्रीराम’ को नारा लगाउँदै सडकमा अर्को धर्मका विश्वासीलाई आक्रमण गर्न भारतमा जस्तो सम्भव हुनेछैन ।

तराईमै पनि मुसलमानको उल्लेख्य संख्या छ भने प्राकृतिक धर्म मान्ने थारूहरू अतिवादी धार्मिक उन्मादमा सामेल हुने छैनन् । यसकारण, पछिल्लो खबर अनुसार, भारतका अतिहिन्दूवादी राष्ट्रिय स्वयंसेवक संघ, विश्व हिन्दू महासंघ र शिवसेनाले धार्मिक अतिवाद बढाउन शुरू गरेको प्रयास सफल हुने देखिंदैन ।

यो विषयमा यत्रो चर्चा गर्नुको कारण, मेरो नास्तिक विश्वासले नेपालमा ठूलो सङ्कट बेहोर्नुपर्ने छैन भनेर मन बुझाउन हो । जे जसरी निर्माण भएको होस्, मानिसलाई आफ्नै विश्वास प्यारो हुने रहेछ । किनभने, विश्वास जीवनशैली बन्ने अनि जीवनशैलीमा व्यवधान आउँदा स्वतन्त्रता गुमेको महसूस हुने रहेछ । स्वतन्त्रता गुम्नु भनेको मानिस लाचार हुनु हो ।

विश्वासलाई समयले परिमार्जन गरेको हाम्रो समाज र आसपासमा प्रशस्त देख्न पाइन्छ । मनमोहन अधिकारी प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गर्दा बोकाको बलि दिएको भनेर चर्चा भयो । भौतिकवादी विचारका प्रचारक मोदनाथ प्रश्रितले चरु होमेकोमा द्वैध चरित्र देखाएको भनेर आलोचना गरियो ।

तर, नेपालमा झण्डै एक तिहाइ जनसंख्या रहेको जनजाति समुदायको ठूलो हिस्सा बौद्ध, किराँत र आफ्नै खालको विश्वास र संस्कारमा बाँचेको छ । त्यसैले नेपालमा ‘जय श्रीराम’ को नारा लगाउँदै सडकमा अर्को धर्मका विश्वासीलाई आक्रमण गर्न भारतमा जस्तो सम्भव हुनेछैन ।

अहिले कम्युनिष्ट सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले जुनसुकै शुभकार्य हिन्दू परम्परा अनुसार नै गर्ने गरेका छन् । निरपेक्ष विरोध गर्नेहरूले यसलाई वैचारिक पतन पनि भन्न सक्लान् । तर यस्ता कार्य कतिपय अवस्थामा सामाजिक स्वीकार्यताका लागि गरिन्छ भने कतिपय अवस्थामा त्यसनिम्ति अर्काे मान्य विकल्प नहुँदा ।

शुभकार्य गर्दा पूजा गरिनुलाई हिन्दू धार्मिक परम्परा भन्न सकिएला र हो पनि । तर यो नेपालीकृत भइसकेको छ । यी परम्पराको विकल्प खोज्दा समाजले पचाउँदैन भनेर पनि राजनीतिकर्मीहरूले त्यस्तो खतरा मोल्न चाहँदैनन् । अर्को हिसाबले हेर्दा, अति धार्मिक विश्वास (अन्धविश्वास) नास्तिकका लागि अस्वीकार्य भए पनि कार्यहरूका प्रतीक बनेका कर्म बहिष्कार गर्नुपर्ने कारण बन्दैन ।

विवाहअघि बर्तमन नहुँदा मेरो विश्वासले ‘त्यो हुनै पथ्र्या, नभएर बिग्रियो’ भन्दैन । जसरी चलेको छ, ठीकै छ भन्ने मेरो विचार छ । तर, परिवार र समाजले आवश्यक ठान्दा त्यो गर्नै हुँदैन भन्ने मेरो अडान रहँदैन । त्यसैले, जुनसुकै बेला मेरो बर्तमन हुनसक्छ र जनैले मेरो शरीरमा ठाउँ पाउन सक्छ ।

प्रतिकृया दिनुहोस