आत्महत्या गर्छु भनेर धम्की दिदैमा काेही भ्रष्टाचारी छुट्दैनः मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य शुरु भएको बताएका छन् ।
विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पण्डितले भने, “आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कोही कसैले छुट पाउदैन ।” मन्त्री पण्डितले कुल बजेटको २५ प्रतिशत सडक निर्माणमा खर्च भइरहेकाले गुणस्तरीय काम नगर्नेलाई कार्बाही गरिने बताए ।
मन्त्री पण्डितले नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको जानकारी दिए । उक्त सडक सञ्जाल जोड्न आठ खर्ब खर्च लाग्ने भए पनि हाललाई उक्त कार्यका लागि काम अगाडि बढाउन शुरु गरिएको बताए ।
मन्त्री पण्डितले अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत पुर्याउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धि आउने बताए ।
अहिले जनताले जहाँ खोजे त्यहीँ सरकार रहेको चर्चा गर्दै तीन तहको सरकारको सहकार्यमा मुलुकको विकास अघि बढ्ने विश्वास व्यक्त गरे ।