यथार्थ बुझेर मात्रै समाचार लेख्न पत्रकारलाई मन्त्री बाँस्कोटाको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासँघ बनेपाको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले समाचार सनसनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गरे ।
मन्त्री बाँस्कोटाले भने, “समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पु-याउनुहोला ।”
आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको मन्त्री बाँस्कोटाले बताए । मन्त्री बाँस्कोटाले केही समयअघि रुपन्देहीबाट अर्घा खाँची जाँदै गर्दा उपप्रमुखको गाडीमा आएर मयुर ठोक्किएको प्रसङ्ग निकाल्दै त्यस विषयलाई सनसनीपूर्ण बनाउन ‘भ्रामक’ समाचार सम्प्रेषण गरिएको उल्लेख गरे ।
“भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पु-याउनुहोला”, मन्त्री बाँस्कोटाले भने । गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई मन्त्री बाँस्कोटाले सुझाव दिए ।