नेपाल र युएईबीच हवाई सेवा सम्झौता
नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ ।
क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो ।
महासभामा नेपालका तर्फबाट सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन् । मन्त्री भट्टराईले लेखेका छन्, “दुबै देशले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै सहयोगको आदनप्रदान गर्न मद्दत पुग्नेछ ।”
“यो सम्झौता पत्रको तयारीमा लाग्नुभएका दुबै देशका सम्बद्ध अधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु”, मन्त्री भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन् ।
हवाई सम्झौताले एक अर्को देशलाई सहयोग गर्ने वातावरण निर्माण हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।