हिमालय एयरलाइन्सले बेइजिङ लगायत शहरमा उडान भर्ने
नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ ।
चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो ।
चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने जनाइएको छ ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी १० कात्तिकदेखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ । आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिक रूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ ।
बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन । चिनियाँ प्राविधिक टोलीले निगमको ‘अडिट’ गरेपछि मात्र अनुमति पाउने बताइएको छ ।
चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।
हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेशियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ । यो गन्तव्यमा प्रवेशाज्ञा प्रक्रियाको झन्झटले एक वर्ष अघिदेखि उडान रोकिएको थियो ।
लगानीकर्ता फेरिएः लोगो परिवर्तन
हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ । जम्मा ४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्स हिमालयबाट बाहिरिएको जनाइएको छ । उक्त कम्पनीको ठाउँमा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो । कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वल्र्ड कम्पनीको नाममा रहेको छ ।
हिमालयले नयाँ लगानीकर्ता भित्रिएसँगै रणनीतिक योजनाका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । कम्पनीले हिमालयको चुचुरोमा उड्दै गरेको चीललाई अङ्कित गर्दै बनाएको नयाँ लोगो कम्पनीका अध्यक्ष झो र उपाध्यक्ष श्रेष्ठले सार्वजनिक गरे ।
उपाध्यक्ष श्रेष्ठले भने, “पाँच वर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निमार्ण गरेका छौँ । यसलाई नयाँपन दिन संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै उपयुक्त रणनीतिअन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय लियौँ । संस्थाको प्रमुख आधारलाई नयाँ लोगोमा प्रतिविम्बित गर्नका साथै आगामी दिनमा पनि निरन्तर अगाडि बढ्ने अठोट व्यक्त गर्न चाहन्छु ।”
अध्यक्ष झोले हिमालयको नयाँपनले संस्थागत विस्तार र नयाँ उचाइ हासिल गर्ने रणनीतिक बाटोलाई पहिल्याएको र आगामी दिनमा कम्पनीलाई नेपाल मात्र नभई एशियामै नेतृत्व गर्ने एयरलाइन्सको रूपमा स्थापित गराउन निरन्तर प्रयास गरिने उल्लेख गरे ।