पारसको विश्व कीर्तिमानी शतक, जसले विश्व स्टारहरुलाई पछि पारे
त्रिकोणात्मक सिरिज खेलिरहेको नेपालले शनिबार आयोजक सिंगापुरसँग खेल्यो । टस जितेर ब्याटिङ गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य पाएको नेपालले २४ बल बाँकी रहँदै नौ विकेटको शानदार जित निकाल्यो ।
टी–२० विश्वकप छनोट खेलमा केही महीना अगाडि बेहोरेको पराजयको बदला मात्रै नेपालले लिएन, कप्तान पारस खड्काले थुप्रै नयाँ रेकर्ड समेत बनाए । कप्तान खड्काले बनाएको विश्व कीर्तिमानी शतकको आईसीसीदेखि ठूला मिडियाहरुले खुलेर प्रशंसा गरेका छन् ।
अन्तर्राष्ट्रिय मिडियाहरुले कप्तान खड्कालाई विश्वका स्टार खेलाडीहरुसँग तुलना गरेका छन् । हुन पनि कप्तान खड्का टी–२० मा रन चेजका क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका छन् ।
कप्तान खड्काले ५२ बलमा अविजित रहँदै १०६ रन बनाएका थिए । ओपनिङ ब्याट्सम्यानका रुपमा मैदान छिरेका कप्तान खड्काले ९ छक्का र ७ चौका प्रहार गरेका थिए ।
खड्का ४९ बलमै शतक प्रहार गरेका थिए । यो शतकमा पारसले सवैभन्दा छिटो शतक बनाउने एसियाका चौंथो ब्याट्सम्यानको कीर्तिमान बनाए ।
लक्ष्य पक्ष्याउने क्रममा सतक प्रहार गर्ने पारस पहिलो कप्तान पनि बनेका छन ।
टी–२० ट्वान्टीमा कप्तानका रुपमा उच्च स्कोर बनाउनेमा यसअघि नेदरल्याण्डका पिटर सिलार थिए । उनले ९६ रन बनाएका थिए भने इंल्याण्डका स्मिथ स्टेभेनले ९० रन बनाएका थिए । वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले ८८ रन बनाएका थिए । भारतका कप्तान विराट कोहलीले रन चेज गर्दा ८२ रन बनाएका छन् ।
नेपालका लागि भने पारसले एकपछि अर्को रेकर्ड बनाएका छन् । टी–२० मा शतक गर्ने पारस पहिलो ब्याट्सम्यान हुन् ।
कप्तानबाटै बिस्तारै विदाई हुने बातावरण बनाउँदै गएका पारसले पछिल्ला खेलहरुमा झन् नयाँ रेकर्ड बनाउन थालेका छन् ।
एक दिवसीय तर्फ समेत शतक गर्ने खेलाडी बनेका पारसले टी–२० तर्फ नेपालका लागि उच्च स्कोर बनाउनेमा तेस्रो स्थानसम्म आफैंलाई राखेका छन् ।
१३ जुनमा मलेसिया विरुद्ध ८६ रन बनाएका पारसले २७ जुनमा सिंगापुर विरुद्ध नै ६८ रन बनाएका थिए । जुन नेपाली टीमका लागि दोस्रो र तेस्रो उच्च स्कोर हो ।