चार दिनको फरकमा कांग्रेससँग सत्तारुढ नेकपाको दुई लज्जास्पद हार
शनिबार सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनबाट चतरबहादुर चन्द नेतृत्वको प्यानलले नै विजयी भएको छ । सदस्यहरूमा घोषित प्यानल नभए पनि पदाधिकारीमा भने प्यानल सहित उम्मेद्वारी परेको थियो ।
५९ मतदाता रहेको निर्वाचनमा चन्द प्यानलले प्रतिद्वन्द्वी विनयराज पाण्डेको प्यानललाई फराकिलो मतान्तरले पराजित गरेको छ ।
क्यानको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थितले छुट्टा–छुट्टै प्यानल बनाएका थिए ।
चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत मात्रै पाए । यो मतान्तर पदाधिकारीमा मात्रै नभएर सदस्यहरुमा पनि देखिएको छ । नेकपा समर्थितको प्यानलबाट एक जना पनि निर्वाचित हुन नसकेपछि क्यान प्रतिपक्षी दल कांग्रेस समर्थितहरुको कब्जामा पुगेको छ ।
क्यान निर्वाचनको चार दिन अगाडि मात्रै नेपाल वैदेशिक रोजगार संघमा यस्तै परिणाम आएको थियो । त्यहाँ पनि नेकपाका निकट उम्मेद्वारहरुको प्यानल नै पराजित भएको थियो । ७ असोजमा सम्पन्न २७औं साधरणसभाबाट संघमा पहिलो पटक एउटै दल निकट उम्मेद्वार मात्रै विजयी भएको हो ।
तत्कालीन नेकपा एमाले एक्लै हुँदा पनि रोहन गुरुङ अध्यक्ष निर्वाचित भएको संघमा नेकपाका सवै उम्मेद्वार पराजित भए । व्यवसायी र नेकपाका नेता–कार्यकर्ताहरुले यो पराजयको दोष संघका पूर्व अध्यक्ष गुरुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टमाथि लगाएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र छुट्टा–छुट्टै हुँदा समेत कांग्रेस पराजित भएका संस्थाहरुमा समेत यसपटक नेकपाले जित निकाल्न सकेको छैन ।
२०७४ को निर्वाचनपछि केन्द्रीय नेतृत्वमा सत्तारुढलाई प्रतिपक्षी दलले पराजित गर्ने क्रम नेपाल निर्माण व्यवसायी महासंघबाटै भएको हो । नेकपाका उम्मेद्वारलाई पराजित गर्दै लोकतान्त्रिक प्यानलबाट रबि सिंह अध्यक्ष निर्वाचित भएका थिए ।
नेपाल बार एसोसियनको निर्वाचनमा पनि नेकपाले सोंचेजस्तो मत ल्याउन सकेन । अध्यक्ष जिते पनि महासचिव कांग्रेस निकटले जिते ।
त्यस बाहेक जिल्ला स्तरको निर्वाचनमा भने नेकपाका उम्मेद्वार लगातार पराजित भइरहेका छन् । २२ भदौंमा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामै कांग्रेस उम्मेद्वार विजयी भएका थिए । उद्योग बाणिज्य संघका निर्वाचनमा नेकपा उम्मेद्वार पराजित गर्दै कांग्रेस उम्मेद्वार विजयी भएको थियो ।
यसको एक दिन अगाडि मात्रै पनि ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) को ४१औँ वार्षिक साधारणसभाबाट कांग्रेस उम्मेद्वार विजयी भए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै गृह जिल्ला चितवनमा पनि कांग्रेस उम्मेद्वारले नेकपालाई पराजित गरेको थियो । २६औं साधरणसभाबाट नेपाल निर्माण व्यवसायी महासंघमा कांग्रेस उम्मेद्वार निर्वाचित भएका थिए ।