क्यानमा प्यानल सहित चतुरबहादुर चन्दको शानदार जित (मत सहित)
नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा चतुरबहादुर चन्दको प्यानल नै विजयी भएको छ ।
५९ मतदाता मध्ये अध्यक्षमा चन्दले ४४ मत पाउदा विनयराज पाण्डेले १५ मत मात्रै पाए । यसअघि पनि चन्द क्यानमा विजयी भएका थिए । तर, राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिई रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो । यसैकारण क्यानलाई आईसीसीले निलम्बन गरेको थियो ।
तिनै चन्द फेरि प्यानल सहित विजयी भएका छन् । उपाध्यक्षमा चन्द प्यानलकै मिङ्मा शेर्पा ४१ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्वन्द्वी राजबाबु श्रेष्ठले १७ मत मात्रै पाए ।
सचिवमा अशोक प्याकुरेलले ४३ मत पाउँदा विनोद मैनालीले १५ मत मात्रै पाए । कोषाध्यक्षमा रोशन सिंहले ४५ र उपेन्द्र भट्टराईले १२ मत पाए । सदस्यहरुकाे भने प्यानल बनेकाे थिएन ।
प्रदेश एकबाट कैशाल बिष्ट ३७ मत ल्याएर विजयी भए । प्रदेश ३ बाट ३९ मत सहित अमितविर पाण्डे विजयी भए ।
खुल्ला सदस्यहरुमा ४२ मतसहित दुर्गाराज पाठक, ३६ मत सहित बीरेन्द्रबहादुर चन्द्र, ३५ मत सहित माधवकुमार कर्माचार्य, ३४ मत सहित सञ्जय सिंह र ३० मत सहित मलहोत्रा क्षत्री विजयी भए ।
प्रदेश दुई, गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर पाँचबाट भने निर्विरोध निर्वाचित भएका थिए भने महिला सदस्य जानकी भट्ट पनि निर्विरोध भएकी थिइन् ।