मिडिया काउन्सिल विधेयक संशोधन हुन्छः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् ।
संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेकाले निश्चिन्त रहन आग्रह गरे । “प्रेसलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै पनि कानून बनाउँदैन” अध्यक्ष दाहालले भने, “हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । प्रेसलाई नियन्त्रण गर्ने कानून टिक्दैन, हामी नियन्त्रण गर्ने पक्षमा छैनौँ ।”
संघीय संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक परिमार्जित हुने दाहालले बताए । अध्यक्ष दाहालले मिडिया काउन्सिल विधेयकलाई संविधानको भावना अनुकूल बनाउने दृढता व्यक्त गरे । स्वतन्त्रताको अर्थ अराजकता होइन भन्दै उहाँले पत्रकारिता जगत्ले नै छलफल गरेर स्वयं आफैँले स्वनियमन गर्नुपर्ने बताए ।
“अहिले सामाजिक केही अनलाइन तथा सामाजिक सञ्जालमा हेर्नै नसक्ने र सुन्नै नसक्ने सामग्रीको प्रस्तुति भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ” अध्यक्ष दाहालले भने, “सञ्चार जगतले राष्ट्रिय एकतालाई बलियो बनाउने, बिखण्डन होइन, एकढिक्का बनाउने सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने काम गर्नुपर्छ ।”