राष्ट्रसंघ महासभामा मन्त्री ज्ञवालीले भने- सार्कलाई नवजीवन दिने प्रयास हुँदैछ
नेपालले राष्ट्र संघका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहोर्याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवद्र्धनमा राष्ट्रसंघको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा शुक्रबार साँझ सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इतिहासको दोबाटोबाट हेर्दा शान्ति, सुरक्षा र विश्व व्यवस्थाको सुनिश्चितताका लागि बहुपक्षीयतावादको विकल्प नरहेको बताए ।
मतभेदहरूको निरुपण, चुनौतीको समाधानका निम्ति राष्ट्रसङ्घलाई साझेदारी र संवादको सबल मञ्च बनाउनु सदस्य राष्ट्रहरूका लागि अनिवार्य भएको बताउँदै मन्त्री ज्ञवालीले वर्तमानको वास्तविकतालाई प्रतिबिम्वित गर्ने सशक्त र सुधारिएको राष्ट्रसङ्घले ती महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने अभिमत प्रकट गरे ।
नेपालको परराष्ट्र नीति शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्त, असंलग्नता, राष्ट्रसङ्घीय बडापत्र, अन्तर्रा्ष्ट्रिय कानून र विश्व शान्तिका मानकबाट निर्दे्शित रहेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले ‘सबैसँग मैत्री तथा कसैसँग पनि शत्रुता नगर्ने’ कार्यसञ्चालनको आदर्श वाक्य भएको बताए ।
“क्षेत्रीय प्रक्रियाले शान्ति, सुरक्षा र आर्थिक विकासका विश्व प्रयासमा सहायकको भूमिका निर्वाह गर्छ भन्ने नेपालको मान्यता छ, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) र एशियन कोअपरेशन डाइलग (एसिडी)अन्तर्गत हामी क्षेत्रीय आर्थिक सहयोग बढाउन प्रयासरत छौँ । सार्कको वर्तमान अध्यक्षका नाताले अवरुद्ध सार्क प्रक्रियालाई नवजीवन प्रदान गर्ने सत्प्रयास भइरहेको छ”, क्षेत्रीय सङ्गठनको औचित्य र महत्व दर्शाउँदै मन्त्री ज्ञवालीले भने ।
राष्ट्रिय नेतृत्व र स्वामित्वका कारण अद्वितीय रुपमा सफल नेपालको लोकतान्त्रिक रुपान्तरण एवं शान्तिप्रक्रियाका अनुभव द्वन्द्वमा रहेका देशका निम्ति उपयोगी हुनसक्ने बताउँदै मन्त्री ज्ञवालीले त्यो अनुभव आदानप्रदान गर्न पाउनु हाम्रा लागि हर्षको विषय हुने मन्त्री ज्ञवालीले बताए ।
ऐतिहासिक राजनीतिक रुपान्तरणलाई टेकेर नेपाल सरकारले अहिले उक्त राजनीतिक उपलब्धिलाई दिगोपना प्रदान गर्दै आर्थिक विकासको कार्यसूचीमा आफूलाई केन्द्रित गरेको जानकारी उनले बताए । भने, “समृद्ध नेपाल, सुखी नेपालीको अति महत्वपूर्ण राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा छौँ ।”