बस दुर्घटनामा २१ घाइते, सात जनाको अवस्था गम्भीर
बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड घाइते भएका छन् ।
गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।
गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर ‘रेफर’को तयारी भएको उनले बताए ।
अन्य घाइतेको अवस्था सामान्य छ । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो । बसका चालक फरार रहेका छन् ।