अस्पतालमा किटको अभाव हुँदा डेंगी संक्रमितको मृत्यु
डेंगीबाट इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो आएर इलाम अस्पतालमा भर्ना भएका ताम्लिङको कलेजो र मिर्गौलामा समस्या भएको भन्दै ४ असोजमा नोबेल अस्पतालमा पठाइएको थियो ।
जिल्ला अस्पताल इलाममा डेंगीको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकाले मृत्यु भएको परिवारको भनाइ रहेको छ ।
अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेंगीको किट माग गरे पनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाइएको छ ।
इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये पाँच जनालाई डेङ्गु देखिएपछि बिरामीको सोहीअनुसार उपचार भइरहेको छ ।
इलाममा डेङ्गु फेला परेको यो नै पहिलो पटक हो । जिल्लामा भरपर्दो उपचार गर्ने ठाउँ नहुँदा सामान्य बिरामी पनि उपचार गराउन झापा र भारतका विभिन्न स्थानमा जाने गरेकाले पनि डेङ्गु फेला परेको थिएन ।