बिजय गच्छेदारले कांग्रेसमा ११ केन्द्रीय सदस्य पाउने
नेपाली कांग्रेसमा समायोजन भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउने भएको छ ।
पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठकले निर्णय गरेको हो । २०७४ को निर्वाचन अगाडि नै बिजय गच्छेदार नेतृत्वको फोरम कांग्रेसमा समाहित भएको थियो ।
बैठकले लोकतान्त्रिक फोरमलाई एघार केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर/उपमहानगर/महानगर कार्यसमिति, भ्रातृ संघ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ ।
कांग्रेसले गत वर्ष २८ मंसीरदेखि ८ पुससम्म बसेको महासमिति बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार कांग्रेसको उपसभापति र २०० महासमिति सदस्य स्वीकार गरी अनुमोदन गरेको थियो ।
यसैगरी तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी साङ्गठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रस्ताव पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिको गठन गरिएको थियो ।